शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खुल्ने, सीमा नाकामा थप कडाई गरियो

काठमाडाैं । सरकारले शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाहरु भदाै १६ गतेपछि मात्रै अवस्था हेरेर खाेल्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए । यस अघि सरकारले भदाै १ गतेदेखि शैक्षिक संस्थाहरुमा भर्ना लिन सक्ने निर्णय गरेकाे थियाे । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खाेल्ने निर्णय गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । साेही अनुसार नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै, सरकारले सीमा नाकामा थप कडाई गर्ने भएकाे छ । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

त्रिविद्धारा व्यवस्थापन संकायकाे सबै परीक्षा स्थगित (सुचनासहित)

काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फकाे सबै परीक्षा स्थगित गरेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतकाे व्यवस्थापन संकायले स्नातक र स्नातककाेत्तर तहकाे परीक्षा अर्काे सुचना जारी नभएसम्मकाे लागि स्थगित गरेकाे जनाएकाे हाे । विश्वविद्यालयले महामारी बढिरहेकाे र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकाेले व्यवस्थापन संकायकाे परीक्षा स्थगित गरेकाे विज्ञप्तीमा उल्लेख छ । यसअघि त्रिविले साउन ९ गते अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।   

त्रिविमा अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं ।  कोभिड-१९ को संक्रमण फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। त्रिविले आईतबार सुचना जारी गर्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने बताएकाे हाे । सुचनामा त्रिविले आफु अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएकाे छ । यस्तै आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने त्रिविले उक्त सुचना उल्लेख गरिएकाे छ । यद्यपी शिक्षक तथा कर्मचारीले हाजिर भने कार्यलयमं उपस्थित भएर गर्नुपर्ने र अनलाईन कक्षा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था गरिएकाे त्रिविले जनाएकाे छ ।