व्यवसायिक प्रतिष्ठानले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग गर्न आवश्यक: विनोद चौधरी

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले शिक्षा मानव जीवनका लागि बरदान भएकाले कुनै पनि बहानामा बालबालिका यसबाट वञ्चित हुन नहुने बताएका छन् । भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वर्लड एजुकेसन कन्फ्रेन्स–२०२१’मा प्रमुख अतिथिको रूपमा बोल्दै चौधरीले विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताए । ठूला व्यापारिक संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गुणस्तरीय शिक्षाका लागि सघाउने हो भने मानव विकासको फड्को मार्न सकिने उनको भनाइ छ । “व्यक्तिको मौलिक हकका रूपमा रहेको शिक्षाले संसार चिहाउने बाटो देखाउँछ,” उनले भने, “व्यक्तिगत र पेसागत जीवनमा आउने वैराग्यको अवस्थामा पनि उज्यालो किरण देखाउने काम शिक्षाले गर्छ । त्यसैले गुणस्तरीय शिक्षाको अर्को कुनै विकल्प छैन ।” ‘बिजनेस विथ पर्पस’को मन्त्र स्मरण गर्दै चौधरीले भारत र नेपालका युवाशक्तिको सन्दर्भ जोडे । “भारत र नेपालमा विश्वकै ठूलो युवा जनसंख्या छ । यो पुस्तालाई समय सुहाउँदो शिक्षामा डो¥याउन सके भोलिको संसार आफैं उज्यालो हुन्छ,” उनले थपे, “पेशा, व्यवसाय गर्नमात्र होइन, राम्रो शिक्षाले जीवनलाई सुन्दर बनाउँछ । जीवनप्रतिको दृष्टिकोण नै बदलिदिन्छ ।” सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी एजुकेसनले नेपाल, भारतलगायत एसिया र अन्य मुलुकमा गुणस्तरीय शिक्षाका लागि परोपकारी काम गर्दै आएको पनि चौधरीले सुनाए । चौधरी फाउण्डेसनले नेपालमा डिजिटल क्लास रूम कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाली बालबालिकालाई विश्वव्यापी आधुनिक शिक्षा प्रणालीमा आवद्ध गर्न, सूचना र शिक्षाको पहुँचमा पु¥याई उनीहरूलाई  विश्वव्यापी प्रधिस्पर्धी बन्न सक्ने बनाउन यो कार्यक्रम लागू गरिएको हो । “युवाशक्तिलाई शिक्षित, स्वावलम्बी, उदार र तार्किक बनाउन हामी केन्द्रित छौं,” उनले भने, “युवालाई केन्द्रमा राख्यौं भने मात्र मुलुकसँगै सिंगो विश्व समृद्ध हुन्छ ।” सम्मेलनअन्तर्गत ‘राष्ट्रिय शिक्षा नीति २०२०— शिक्षाको भविष्य र कार्यान्वयनको मार्गचित्र (एनईपी)’ नामक सत्रमा अध्यक्ष चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’सँगै उनको जीवनका आरोह–अवरोहका बारेमा चर्चा गरिएको थियो । उनको आत्मकथा विश्वभर ६ भाषामा अनुदित भएको छ ।  

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग

काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले वि.सं. २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । वि.सं. २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो । पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्वपदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् । बाहिर रहेका पुस्तक संकलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ । ‘पूर्वपदाधिकारीले लगेका पुस्तक घरघरमै गएर संकलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौं, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौं’, उनले भने । कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँमात्र पुस्तकालय खुलेको सुनाउँछन् । वि.सं. २०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उनले जानकारी दिए । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ । पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको संक्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन शुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ । हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा वि.सं. २०७६ देखि ११ कक्षा शुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउँछन् । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ शुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ । विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । वि.सं. २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासंघले विद्याश्रम सञ्चालन गरेको थियो । वि.सं. २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ । संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । वि.सं. २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिएका थिए । वि.सं. २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । वि.सं. २०६० मा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् । वि.सं. २०७६ देखि भने आवासीय विद्यार्थीको संख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको संख्या १०९ पुर्याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक समेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ । विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । वि.सं. २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउनेबित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । रासस

भाैतिक रुपमा खुले काठमाडौं महानगरका विद्यालय

काठमाडाैं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय भाैतिक रुपमा आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए । नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरीने प्रधानाध्यापक शर्माले बताए काठमाडाैंका केहि विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताउँछन् । कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।