अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका प्राविधिक विषय खारेज
काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका प्राविधिक कार्यक्रम खारेज गरेको छ । आयोगको साउन ३० गते बसेकाे बैठकले यस वर्षदेखि स्वास्थ्य विषयका प्राविधिक कार्यक्रम खारेज गर्ने निर्णय गरेकाे हाे । आयोगले चकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको हाे । यो निर्णयसँगै सीटीईभीटीको प्रमाणपत्र तहमुनिका अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रममाका साथसाथै विश्वविद्यालय र प्रतिष्ठान अनि सोअन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गरेको प्रमाणपत्र तहका कार्यक्रममा पनि भर्ना लिन पाइने छैन ।
विदेश जाने विद्यार्थीकाे लागि बाटाे खुल्ला: ‘नो अब्जेक्सन लेटर’ पुन: वितरण गरिने
काठमाठाैं । काेभिड-१९ काे कारण सरकारले गत चैतदखि बन्द गरेकाे नाे अबजेकस्न लेटर फेरी खुला गर्ने निर्णय गरेकाे छ । उच्च शिक्षाकाे लागि विदेश पढ्न जाने विद्यार्थीकाे लागि महत्वपुर्ण रहेकाे नाे अब्जेकस्न लेटर मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेकाे शिक्षा मन्त्रालय अन्तर्गतकाे उच्च शिक्षा महाशाखाका एक कर्मचारीले बताए । शिक्षा मन्त्रालयले क्याबिनेटमा नाे अब्जेकस्न लेटर खुला गर्ने प्रस्ताव लगेकाे उनले बताए । भदाै १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो। याेसँगै विदेश पढ्न जानलाई राेकिएकाे प्रकृया फेरी सुरु हुनेभएकाे छ ।
शिक्षकले तलब माग्दा जागिरबाटै निकालिनु पर्ने ?
हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौं । आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ । त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ । जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्याउने गुरूको पूजासमेत गरिन्छ । शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन् । अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन् । जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान् ? हो, विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना महामारीले सबै क्षेत्र समस्याग्रस्त छ । त्यसमा शिक्षा क्षेत्र झन यसको चपेटामा परेको छ । एकातिर विद्यार्थी चैतदेखि विद्यालय जान पाएका छैनन् भने अर्काेतिर तलब नपाएर शिक्षकहरू समस्यामा छन् । यतिमात्र कहाँ हो र, महामारीको कारण देखाउँदै निजी विद्यालयले शिक्षकहरू निकालिरहेका छन् । निजी मात्र नभएर केही सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षक कर्मचारी पनि यसको शिकार बनेका छन् । यसको ज्वलन्त उदाहरण म आफै छु । मेरो घर विराटनगर महानगरपालिका १२ बर्कीमा हो । भक्तपुर सूर्यविनायक बाराहीस्थानको महेन्द्र मास्के संचालक रहेको महेन्द्र विद्या आश्रम नामको एक निजी विद्यालयमा म अध्यापन गराउँदै आएको थिएँ । माध्यमिक तहमा गणित विषय पढाउँदै आएको मलाई महामारीका कारण तलब दिन नसक्ने भन्दै स्कुलले निकालिदियो । महामारीका कारण सबैमा मानसिक तनाव परिरहेको बेला जागिर गुमेको अर्काे समस्यामा म परेँ । सरकारी स्कुलका शिक्षक घरमै बसेर पनि तलब भत्ता खाइरहेका छन् । म अनलाइन कक्षा पढाइरहेका छु । तर, एकाएक असार अन्तिमतिर भोलिबाट तपाईं काममा नआउनुहोला भनिदियो । विद्यार्थीले पनि मैले पढाएको राम्रैसँग बुझिरहेका थिए । उनीहरूबाट एकदम राम्रो प्रतिक्रिया आइरहेको थियो । जसले गर्दा म निकै उत्साहित बनेको थिएँ । महामारीका बेला पनि विद्यार्थीलाई कसरी पढाईमा सहभागी गराइराख्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुन्थ्यो । गत चैतदेखि तलब नदिएपछि विद्यार्थीको भविष्यका लागि अनलाइन कक्षा पढाइरहेका थियौं । अनलाइन कक्षा लिइरहेको भएपनि मलाई आर्थिक समस्या थियो । काठमाडौंमा कोठा भाडामा बसेर सबै किनेरै खानुपर्ने, घरबेटीलाई भाडा तिर्नुपर्ने, पैसै नभएपछि चैतदेखि साउनसम्म कसरी व्यवस्थापन गरे हुँला ? विद्यालयले मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो । चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो । विद्यार्थीको नजरमा पनि लोकप्रिय शिक्षक बनेको थिए । आखिर जति जे गरेपछि पेटमा एक छाक हाल्न पनि त पैसा नै चाहिन्छ नै । तर, चैतदेखि नै पैसा पाएको थिइनँ । आज पाइन्छ, भोलि पाइन्छ भन्दै आशै आशमा एक होइन, दुई होइन, चार महीना बितिसक्यो । तलब दिनु त कता हो, मैले काम गरेको पारिश्रमिक पाउँ भन्दा उल्टै जागिरबाट हात धुनुपर्यो । आफ्नो मिहेनतको कमाई माग्दा जागिरबाटै निकालिनु पर्ने यो कहाँको न्याय हो ? यस्तो बेला विद्यालयले झन् थप सहयोग गर्नुपर्नेमा उल्टै भोलिबाट काममा नआउनुहोला भनिदियो । चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष विराटनगरबाट काठमाडौं आएको थिएँ । परीक्षा दिएर खाली बसेको बेलामा पढाउनका लागि अफर आयो । आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो । लामो समयदेखि तलब नपाउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छु । काठमाडौंमा जागिर नै गुमाएपछि त्यहाँ बस्नु आवश्यक नै भएन। त्यसैले अहिले आफ्नै घर फर्केको छु । विद्यालयले मलाई मात्रै होइन, मेरो पक्षमा लागेका अर्का अंग्रेजी विषय पढाउने शिक्षकलाई पनि त्यहीदिन जागिरबाट निकाल्यो । तलब दिनुभन्दा जागिर नै खाइदियो । निजी विद्यालयको यस्तो दादागिरी ? हामीलाई साह्रै अन्याय गरे । यदि यो देशमा साच्चै सरकार छ भने यस्तालाई कारवाही गरोस् । जागिरबाट निकालेपछि पनि सबै हिसाब ‘क्लियर’ गरेर पठाउनुपर्नेमा अहिलेसम्म केही भएको छैन । चैतदेखि असारसम्म १ लाख ४४ हजार रूपैयाँ पाउनुपर्नेछ । त्यो मध्ये २७ हजार मात्र दिइयो । जागिर नै गएपछि काठमाडौंमा बसेर के गर्ने भनेर घर आएँ । कमाउन गएको छोराले केही न केही ल्याएको होला भन्ने आशमा बसेका आमा बुवालाई के भनेर सम्बोधन गर्ने ? मसँग त्यसको उत्तर थिएन । करार सम्झौतामा जुनसुकै बेला पनि जागिरबाट निकाल्न सकिने कुरा उल्लेख छ । जागिरबाट निकालेकोमा मेरो गुनासो होइन । तर, यस्तो महामारीको बेला जागिर नै नभएपछि के खाने ? कसरी बाच्ने ? घरमा आमाबुवा र दुई भाइ गरी चार जनाको परिवार छ । काठमाडौंमा पैसा कमाउन गएको छोरा जागिर नै गुमाएर घर फर्किनु पर्दा कुन आमा बुवाको मन नरोला र ? साथीभाइ तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेको छु । लामो समयदेखि काम गरेको पैसा नपाउँदा मानसिक तनावमा छु । कुनै बेला त सुसाइड गरू कि जस्तो लाग्छ । फेरि मनमा आमा बुवा, भाइ तथा घर परिवारको याद आउँछ । त्यसैले त अहिलेसम्म आफ्नो र आफूजस्तै पीडित शिक्षकहरूको न्यायका लागि आवाज उठाइरहेको छु । आफ्नो मनमा अनेकन प्रश्न आउँछन् । पैसा कमाउन नसकिएको भए ठिकै छ भनेर चित्त बुझाउन सकिन्थ्यो होला । तर, यहाँ त काम गरेको पैसा पाइएन । एकातिर काम गरेको पैसा पाइएन, अर्काेतिर काम गरेको पैसा देऊभन्दा जागिरबाट नै निकालियो । शिक्षकलाई विद्यालयहरुले गरेको यो व्यवहार अहिलेको परिवेश र परिस्थिति तथा कानुन सुहाउँदो छ ?