लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने 

काठमाडाैं । लाेकसेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । लाेकसेवाले प्रकाशन गरेकाे विज्ञापनमा उसकाे वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिने भएकाे हाे । अनलाइनमार्फत पहिलाे पटक आवेदन गर्न लाेकसेवाकाे वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ । पुरानाे उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् । कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ? ‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

काठमाडाैं । दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए । गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनीयरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इञ्जिनीयरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो । अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी वडा नं २६ सामाखुशीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेशन फाउन्डेशन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने निणय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।

हुम्लामा माघ १५ देखि पठनपाठन हुने

हुम्ला । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो । कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेदेखि पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । रासस