बूढानीलकण्ठ नगरपालिकामा भौतिकरुपमा पढाइ सुरु
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् । काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ । रासस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, २३ जिल्ला साक्षर हुन बाँकी
काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ । हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत ९निजी० र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ ।
तत्काल विद्यालय खोल्न हतार नगर्न आग्रह
काठमाडौं । कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो । विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिईन । उनले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट पारिन । हतार नगर्न अभिभावकको आग्रह राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।