त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ मा स्नातकोत्तर तह सञ्चालन
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ । दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रममा छ । यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताए । सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गरे । साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताए । एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८/१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराए ।
नेपालमा स्नातक तहमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने
काठमाडाैं । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट (होमिन)ले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो । होमिनका अध्यक्ष दुर्गादेवी खनालले स्वीट्जरल्याण्डको पाठ्यक्रममा नेपालमा पहिलोपटक स्नातक तहमा सो विषयमा अध्यापन गराउन तयारी सुरु गरिएकोे जानकारी दिए । होमिनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विशेष गरेर पर्यापर्यटन ‘इको टुरिजम’का विषय होमिनको नयाँ पाठ्यक्रम हुने बताए । तीनवर्षे स्नातक तहको अध्ययन सुरू गर्न शिक्षा मन्त्रालयसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको होमिनका उपाध्यक्ष गोकर्ण खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी सो तह अध्ययन गर्न योग्य हुने जनाइएको छ । उनले भने, “नेपाल, भारत र स्वीट्जरल्याण्डमा अध्यापनसँगै युरोपियन देशका होटलमा कामको अवसर विद्यार्थीले पाउनेछन् ।” भारतको चेन्नइमा रहेको अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट र स्वीट्जरल्याण्डको हस्पिटालिटी जुरिजसँग होमिनको सहकार्य रहेको उपाध्यक्ष खनालले बताए । उनका अनुसार पहिलो वर्षको अध्ययन नेपालमा हुनेछ भने दोस्रो वर्ष भारतको चेन्नइमा हुनेछ । तेस्रो तथा अन्तिम वर्ष स्वीट्जरल्याण्डमा अध्ययन गर्नुपर्ने छ । नेपाल र भारतमा अध्ययन गर्दा विद्यार्थीले पूरै शुल्क तिर्नु पर्नेछ । स्वीट्जरल्याण्डको अध्ययनसँगै हुने ‘इन्टर्नसिप’मा भने रकम पाइने जनाइएको छ । नौ सय घण्टा इन्टर्नसिप गर्दा ३० हजार ‘स्वीस फ्रयाङ्क’ कमाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘तीनवर्षे कोर्ष पूरा गरेपछि विदेशमा रोजगारीको अवसर विद्यार्थीले पाउनेछन्,’ खनालले भने । स्वदेशमा कामको अवसर नहुँदा लाखौँ नेपाली खाडी मुलुकमा पुग्नुपर्ने अवस्था विस्तारै अन्त्य गर्दै राम्रो आम्दानी हुने युरोपियन देशमा जाने वातावरण होमिनले बनाउन लागेको उनले दाबी गरे । रासस
बिहीबार प्रतितोला २०० ले घट्यो सुनको मूल्य
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला ८८ हजार ४५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस