अन्योलबीच विद्यालय खुल्दै

काठमाडाैं । विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन् । ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै छन् । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उनका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्यले भने उनीहरू अन्योलमा छन् । उनले भनिन्, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।” काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताइन्। उनले भनिन्, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?” उनले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गरिन् । कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निणर्यले धेरै अभिभावक थप दोधारमा छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निणर्य बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ । स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारले भने, ‘सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन ।’ उनले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निणर्य लिनुपर्ने बताए । कोरोना संक्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ । राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ(आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरे । कोरोना त्रासकै बीच केही दिनअघि कैलालीका केही विद्यालय पुनःसञ्चालनमा आए पनि अहिले बन्द गर्न थालिएको उदाहरण दिँदै उनले अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने बताए । उनले भने, ‘कोरोना महामारीको त्रास कायमै छ, वडा दशैँ आइसक्यो, धेरै विद्यार्थी र अभिभावक दशैँपछि फर्किने योजनामा गाउँमै छन, स्वास्थ्य मन्त्रालयको भनाइलाई उल्लङ्घन गर्दै विद्यालय खोल्नु थप जोखिम निम्त्याउनु हो ।’ सरुवा रोग विशेषज्ञ डा। सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राखे । ‘उपत्यका बाहिरका ग्रामीण भेगका थोरै विद्यार्थी रहेका विद्यालय सञ्चालनमा ल्याए पनि घना बस्ती भएका सहरी क्षेत्रका विद्यालय पुनःसञ्चालनमा ल्याउने समय भएको छैन, त्यसका लागि कम्तीमा तिहारसम्म हेर्नुपर्छ’, उनले भने । काठमाडौँ उपत्यकाभित्रकै थिमि नगरपालिकाले मुख्य चाडवाड नजिक आइरहेको र त्रास पनि कायमै रहेकाले दशैँअघि विद्यालय नखोल्ने जनाएको छ । ललितपुर महानगरपालिकाले यही असोज १ गतेदेखि नै विद्यालय सञ्चालन गर्न अनुमति दिए पनि कोरोना त्रासका कारण पूणर्रूपमा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । सो महानगरपालिकाका उपप्रमुख गीता सत्यालले विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालय भौतिकरूपमा अझै पनि सञ्चालनमा आउन नसकेको बताइन् । ‘तुलनात्मक रूपमा ५० प्रतिशत विद्यालयमात्रै सञ्चालनमा आएका छन्, पूणर्रूपमा सञ्चालनका लागि कम्तीमा दशैँ तिहारसम्म कुर्नुपर्छ’ उनले भने । रासस

असोज १० गतेबाट विद्यालय सञ्चालन गर्न महानगरको अनुमति

काठमाडौं । काठमाडौं महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित सो निर्णय गरेको हो । अध्यक्ष शाक्यले सरकारले गरेका निर्णयको पुन पालना गर्दै कोभिड–१९ विरुद्धको खोप लगाएपछि विद्यालय सञ्चालन गर्न सकिने बताए । ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नुहुन्न । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोविड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ,’ उनले भने । उनले कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाएपछि मात्र विद्यालय सञ्चालन गर्न सकिने जनाए । बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकोले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने, छनाेट भएका प्रत्येक स्कुलले ७ लाख पाउने

काठमाडौं । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । परिषद्ले यसै आर्थिक वर्षदेखि शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइस्थलको रुपमा विकास गर्न र शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशीलताको विकास गरी शिक्षण रुपान्तरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो । परिषद्का उपाध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयबाट नै उद्यमशील बनाउन ‘एक एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको जानकारी दिए । उनले उक्त कार्यक्रमले आफू पढेलेखेको ठाउँबाट नै विद्यार्थी व्यवसायमा लाग्न सहयोग पुग्ने बताए । ‘विद्यालय तहबाट नै विद्यार्थीलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेको हाैं,’ उनले भने, ‘विद्यालयबाट बाहिर निस्केपछि पनि उनीहरु बेरोजगार बन्नुपर्दैन ।’ उनका अनुसार अभिभावक पनि महिनामा एक दिन विद्यालयमा आए आफ्ना विद्यार्थीले गरेको उद्यममा सहभागी हुनेछन् । ‘आफ्ना विद्यार्थीले विद्यालयमा नै उद्यम देखेर अभिभावक पनि आफ्नो खाली रहेको खेतबारीमा केही न केही खेती गर्न सक्नेछन्’, उनले भने, ‘यसले सिङ्गो समाजलाई उद्यमशील बनाउन सहयोग मिल्ने छ ।’ सञ्चालनका लागि परिषद्ले देशभरिका विद्यालयसँग प्रस्ताव माग गरेको छ । परिषद्ले कार्यक्रम सञ्चालन गर्न इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमूना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयले यही असोज २१ गतेभित्र व्यावसायिक परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विद्यालयले पेश गरेको प्रस्तावलाई परिषद्को छनोट समितिले छनोट गर्नेछ । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक एक र सङ्घबाट एक गरी आठ वटा विद्यालय छनोट गरिने परिषद्का उपसचिव कमला ज्ञवालीले जानकारी दिए । उनका अनुसार छनोट भएको विद्यालयले बीउ पुँजीको रूपमा परिषद्ले नै शुरुमा सात लाख रूपैयाँ अनुदान दिने छ । परिषद्ले उपलब्ध गराएको र क्लबले विभिन्न स्रोतबाट प्राप्त गरेको रकमबाट नै विद्यालयमा उद्यम कार्यक्रम सञ्चालन गरिने छ । सरकारले नमूना विकासका लागि छनोट गरिएका ४२२, प्राविधिक शिक्षा सञ्चालन गर्ने ४८४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट १८ महिनाको कक्षा सञ्चालन गरिरहेको विद्यालयले उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् । प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा लागू भएका नमूना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने छ । विद्यालयले कृषि तथा पशुपक्षी (माछापालन, बाख्रापालन, कुखरापालन) वन, पर्यटन प्रवद्र्धन, निर्माणमा आधारित उद्यम, कलामा आधारित उद्यमलगायत आठ प्रकारका उद्यममा कार्यक्रम सञ्चालन गर्न सक्ने छन् । विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि विद्यालयमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी र कक्षामा प्रथम हुने विद्यार्थी सम्मीलित १७ सदस्यीय विद्यार्थी उद्यमी क्लब गठन गरिने छ । उक्त क्लबमा रहेका विद्यार्थीले नै उद्यम कार्यक्रम सञ्चालन गर्ने छन् । उद्यम सञ्चालनका लागि विद्यालयमा उद्यम कोष स्थापना गरिने छ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष, उद्यमी क्लबका अध्यक्ष सदस्य र विद्यालयको लेखा हेर्ने कर्मचारी सदस्य सचिव रहनेछन् । कोषमा अभिभावकबाट उद्यम गर्न वार्षिक रुपमा सङ्कलिन रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान, उद्यमबाट प्राप्त आम्दानी, पूर्व विद्यार्थी मञ्चबाट उद्यम सञ्चालनार्थ स्वेच्छिक रुपमा प्राप्त रकम, स्थानीय तह र अन्य व्यक्ति, सङ्घसंस्थाको अनुदानबाट प्राप्त रकमले एक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए । परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा बाबुराम ढुङ्गानाले विद्यार्थी आफैले उद्यमबाट कमाएको पैसाले विद्यालयमा पढ्ने बताए ।