दुबईमा खुल्याे ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’
दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा साे कलेज रहेको छ । द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुबई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमेष्टर अनुसार ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा नयाँ पहल रहेकाे जनाएकाे छ । दुबईमा कलेज स्थापना गर्नु टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण भएकाे र यसले नेपाली विद्यार्थीहरु लाभान्वित हुने कलेजका सिइओ राजन कडेँलले बताए । द ब्रिटिस एजुकेशन ग्रुप सन् २००३ देखि सञ्चालनमा रहेको छ । काठमाडौंको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यालयहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिएकाे सिइओ कडेँलले बताए ।
सिल्भर माउण्टेन स्कुलले सुरु गर्यो स्नातकमा बिआइसिएको पढाई
काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा स्नातक कार्यक्रम सुरु गरेको छ । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सो कार्यक्रमलाई शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेकाे छ । लामो समयको अनुसन्धान र गृहकार्य पछि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपाल पहिलो र विशेष कार्यक्रमको कार्यक्रम सुरु गरेको जनाएको छ । ‘युवाहरूलाई करियर उन्मुख डिग्री हासिल गर्ने मात्र होइन, प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने खाली ठाउँ पनि पूरा गर्नकै लागि नया कार्यक्रम ल्याएका हौ,’ सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टका अध्यक्ष समिर थापाले भने । होटेल उद्योगमा विशेष खण्डहरूमा आफ्ना विद्यार्थीलाई व्यावसायिक र शैक्षिक रूपमा विकास गर्नु कलेजकाे लक्ष्य रहेको उनी बताउँछन् । यो चार–वर्षे कार्यक्रम विशेष गरी खाद्य उत्पादनमा विशेषज्ञता हासिल गर्न चाहाने विद्यार्थीहरूका लागि डिजाइन गरिएको उनले बताए । ‘यो पाठ्यक्रम अत्यन्त सफल पाठ्यक्रमहरू मध्ये एक हो । यसले पाक कलाको संसारमा उत्कृष्ट शेफ पाक विशेषज्ञ र उद्यमीहरू उत्पादन गरेको छ । खाना पकाउने पक्षहरूमा विशेषज्ञताको साथसाथै यो डिग्रीले अनुसन्धान, स्थिरता, उद्यमशीलता, नेतृत्व र उत्पादन , प्रमुख आतिथ्यता लगायत कम्पोनेन्ट पनि समावेश गर्दछ,’ उनले भने ।
सरकारले २३ सय विद्यालयमा आईसिटी ल्याब बनाउने
काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए । ‘२३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ । सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।