सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ । तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमा कार्यक्रमसमेत सञ्चालित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सिटिइभिटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ । सिटिइभिटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धनप्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन् । माध्यमिक तह (९–१२) मा चार सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन् । त्यसैगरी, साढे पाँच सयभन्दा बढी माविमा सिटिइभिटीको डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ । शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको जानकारी दिए । पाठ्यक्रममा समायोजन, एकीकरण र अद्यावधिकीकरणका लागि प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई)का व्यवस्थापन बोर्डका अध्यक्ष प्रा.डा.राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सिटिइभिटीका सदस्यसचिव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सदस्य रहेको समिति बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको छलफलपछि समिति बनेको हो । समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिक माध्यमिकमा सञ्चालित प्राविधिक धार कक्षा ९–१२ र प्राविधिक तथा व्यावसायिक तालिमअन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि–डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको मागसमेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेश गर्ने जिम्मा दिएको छ । माध्यमिक तह ९—१२ मा कृषि, भेटेरिनरी, सिभिल, इलेक्ट्रोनिक्स, कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ । सिटिइभिटीमा धेरै कार्यक्रम छन् । शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति बनाएको छ । मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा शिक्षा तथा मानव स्रोेत विकास केन्द्रको उपमहानिर्देशक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को महाशाखा प्रमुख सदस्य रहने समिति बनाएको छ ।

जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा, यस्तो छ तालिका

काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले कक्षा १२ को साधारण, संस्कृति तथा प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित, ग्रेड बृद्धि एवं आशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा, नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी भौतिक उपस्थितिमै गर्ने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

काठमाडौं विश्वविद्यालयको बीटेक एडआईटी जनकपुरमा

जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु गरेको हो । कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपको लागि दोस्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनकोलागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । जनकपुरमा यसको औपचारिक घोषणा गर्दै प्रमुख अतिथि तथा मुख्यमन्त्री लालबाबु राउतले बीटेक. एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने विश्पास व्यक्त गरे । उनले काठमाडौं विश्वविद्यालयलाई धन्यवादसमेत दिए । उनले यस कार्यक्रमले सुचना प्रविधीको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठुलो टेवा पुग्ने बताए । कलेजका अध्यक्ष पंकज जालानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ ।यो प्रदेशका जेहेन्दार विद्याथीहरुले जनकपुरधाममा नै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सुचना प्रविधीसँग सम्बन्धित स्नातक स्तरको कार्यक्रममा पढ्न पाउने छन् । काठमाण्डौं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।