अब जनकपुरमा ‘ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी’ काे पढाइ हुने

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात गरेको छ । जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा विश्वविद्यालयले उक्त कार्यक्रम सुरु गरेको हो । जनकपुरधाममा यसको औपचारिक घोषणा गर्दै प्रमुख अतिथी मुख्यमंत्री लालबाबु राउतले बीटेक। एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने बताए । उनले यस कार्यक्रममार्फत सुचना प्रविधी जस्तो अपार संभावना रहेको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठूलो टेवा पुग्ने बताए । जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था हो । बीटेक. एडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधीको क्षेत्रमा प्राविधीक शिक्षक तयार गर्नु रहेको कलेजका अध्यक्ष पंकज जलानले बताए । चार वर्षे बीटेक. एडआईटीको कार्यक्रमलाई आठ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ । यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपकोलागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनको लागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाको आधारमा गरिने छ । कलेजका अध्यक्ष जलानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ । ४ वर्षे पढाइ पुरा गरे पश्चात मधेश प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकोले ’ब्रेन ड्रेन’ को समस्याबाट विस्तारै पुरै देशलाई नै बचाउन असम्भव नभएकाे उनले बताए ।  

इसेवाबाट स्कुलको फि भुक्तानी गर्दा नि:शुल्क इन्टरनेटदेखि अन्य धेरै अफर

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्नुको साथै मेरो स्कुलको ३ महिनाको र किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको नि:शुल्क सब्क्रिब्सन पाउन सकिनेछ । इसेवा मार्फत देशभरबाट ४ हजारभन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिन्छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् ।  

छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फी पोइन्ट’

काठमाडाैं । काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मेरो स्कूलको ‘सेल्फी पोइन्ट’ स्थापना भएको छ । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमका बीच सो पोइन्ट स्थापना गरिएको हो । सो सेल्फी पोइन्टको उद्घाटन अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले आजको समयमा मेरो स्कूल जस्तो डिजिटल इ– लर्निङ्ग प्लाटफर्मको धेरै महत्व रहेको बताइन् । साथै, ग्रामीण क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँच भएकोले मेरो स्कूल एप विद्यार्थीहरुका लागि निकै लाभदायक हुने जानकारी दिइन । के हो मेरोस्कुल ? मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले नेपाल सरकारको पाठ्यक्रममा आधारित २० हजारभन्दा धेरै भिडियोहरु प्राप्त गर्न सक्नेछन् । यसका साथै यहाँ पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि हेर्न सक्नेछन् । यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स, शेयर तालिम लगायतका कोर्सहरू पनि हेर्न सकिनेछ । यस एपमा प्रयोगकर्ताहरुले १ महिनाको लागि केबल २२ रुपैयाँमा कक्षा एक देखि १२ सम्मका भिडियोहरु हेर्न सक्नेछन् । यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।