विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् । ‘बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने, बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिएको छ, हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने छ, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिनेछ’, उनले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्ते प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
ब्रिटिस कलेजका ५ जना विद्यार्थी इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने
काठमाडौं । द ब्रिटिस कलेजका ५ जना विद्यार्थीहरू आइएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नशिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीले विभिन्न अवसरहरूमा भाग लिन पाउनेछन् । आठदेखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफुलाई अब्बल साबित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएका हुन् । अनमोल कार्की (बीएससी आईटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चारजना विद्यार्थी जर्मनी जानेछन् । योगेश श्रेष्ठ (एमएस्सी आईटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स, र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन् । गरिमा ढकाल (बीएससी आईटी लेभल ६) कम्प्यूटर प्रोग्रामिङ इन्टर्नशिपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियलफोर्सचुङ अण्ड प्रुफङ (बीएएम) मा जानेछिन् । त्यस्तै प्रिया दङ्गल (बीबीए,लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन् । त्यस्तै अवंतिका नेपाल (बीएससी आईटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन्, जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन् । अबसर पाएकोप्रति उनले भनिन्, ‘आईएईएसटीई र टीबीसीसँगको यो अबसरको लागि धन्यवाद दिन चाहन्छु । मैले डाड (जर्मन सरकारी छात्रवृत्ति) पाउन सफल भए भने नेपालका लागि जर्मन राजदूतलाई भेट्ने अविश्वसनीय मौका पाएँ । यो मेरा लागि एक अद्भुत अनुभव थियो जसले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको महत्वको सम्झना दिलाउँछ । म नेपालकै उत्कृष्ट आईटी कलेजसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस गर्छु ।’