विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन
सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन् । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ । ‘साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ’, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन् । रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म एक घण्टाको बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उनले बताइन् । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ । मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा छन् । घरबाट विद्यालय पदैल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियो । पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन् । ‘छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो’, सिंहले भने । मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गर्न भ्याए । मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ । मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपैयाँ दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन् । उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए । उनले भने, ‘गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पदैल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ । आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ ।’ आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताए । उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिने छ । छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उनको भनाइ छ । रासस
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए । अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौं आउनुपर्ने झन्झट नहुने भएको छ । उनका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ । परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटाैंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ । ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ । सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उनले बताए । यसैगरी, परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ । परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ । रासस
बिहे नगरी ‘बिए’ गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँ
कमलामाई । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप १ लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन् । विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । उनका अनुसार गाउँपालिकाकोे शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ । स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ । सोही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका ५ जना किशोरीलाई जनही १ लाख हस्तान्तरण गर्यो । मरिण–७ का ४ जना र वडा नं ६ की १ जना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो । अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट १ लाख बुझेकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताइन् । उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने बताउने उनी आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा थिइन् । ‘गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ । मैले परिवारको सहयोगमा स्नातक पास गरेँ, अब आफैँ कमाएर पढ्नु पर्ने, जागिर पाएकै छैन,’ उनले भनिन् । मरिण महेश्वरताकी मनमाया कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर तेस्रो सेमिस्टार पढ्दै छिन् । विसं २०७६ मा स्नातक तहको पढाइ मरिण बुहुमुखी क्याम्पसबाट पूरा गर्नुभएकी उनी र बहिनी चित्रकुमारी कँडेलले एकैसाथ गाउँपालिकाबाट एक÷एक लाख प्रोत्साहन रकम पाइन् । चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षामात्र पास गरेका छन् । भाइले १० कक्षा उत्तीर्ण गरेर पढाइ छोडेका छन् । बहिनी चित्रकुमारीको साथमै रहनुभएकी मनमायाले भनिन्, ‘दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ, गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ, पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन, यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।’ वि.सं २०७८ मा स्नातक उत्तीर्ण गरेकी मरिण–६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै छिन् । उनलाई मरिणको प्रोत्साहन कार्यक्रम राम्रो लाग्यो । जागिर नपाएर लोकसेवा पढ्न थालेको बताउने उनले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाइन् । एक लाख प्राप्त गरेकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता रहेको बताउँछिन् । सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनी बताउँछन् । यो कार्यक्रमको ठूलो महत्त्व रहेको र अरू पालिकाले पनि लागू गर्नु पर्ने उनको भनाइ छ । यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका÷हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उनको धारणा छ । ‘सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनुपर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनुपरेको छ, स्थानीय सरकारले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । मरिणका विद्यालय तथा क्याम्पसको तथ्याङ्कलाई आधार मान्दा जति जति कक्षा पढ्दै जान्छ, विभिन्न समस्याका कारण उतिउति पढाइ छोड्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ । मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालले भने, ‘स्नातक तहको पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए, चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन् ।’ गाउँमै रोजगारी भएका विद्यार्थी स्थानीय क्याम्पसमा पढ्ने र बेरोजगार भएकाहरू बीचैमा पढाइ छोडेर कमाउन सहर जाने गरेका उनको भनाइ छ । उनका अनुसार स्थानीय क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप एक लाख दिने मरिण सरकारको कार्यक्रम स्वागतयोग्य छ । यस कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँठाउँको विद्यालय पढ्न फर्कनेछन् । अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बालविवाह न्यूनीकरण हुनेछ । बीचैमा पढाइ छोडेकाले पढ्न सुरु गर्ने छन् । ‘यो सबैथोक हो तर, पूर्ण होइन, पूर्ण बनाउन यस कार्यक्रमको प्रचारप्रसारसहित अभिभावक शिक्षा दिन पनि आवश्यक छ, अन्य कार्यक्रमलाई पनि सँगैसँगै लैजानुपर्छ,’ उनले भने । रासस