सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए । उनले अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको औँल्याए । ‘शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्छ । तीन वटै तहका सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचे जस्तो सफलता प्राप्त हुन नसकेको हो,’ उनले भने । उपप्रमुख शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिए । रासस
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन र हिमालय’ शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गरे । प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उनको भनाइ थियो । प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिए । त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिए । उनले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे । अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिएका थिए। उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अङ्कित मायाको चिनो प्रदान गरेका थिए। प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गरेका थिए।रासस
काठमाडौं वर्ल्ड स्कुलमा ‘द प्रिन्सिपल वर्कसप’ सम्पन्न
काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलमा ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न वर्कसप स्कुलले सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको हो । वर्कसपमा प्रश्नपत्र छपाईमा हुने कमजोरी र त्यसको समाधानका बारेमा छलफल गरिएको थियो । सो अवसरमा सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराईले शिक्षा प्रणालीलाई सबल बनाउन सबैजना गम्भिर हुनुपर्ने, नेपाली शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनु पर्नेमा जोड दिएकी थिइन् । वर्कशपमा विभिन्न विद्यालयका प्रिन्सिपलहरुका साथै काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराई लगायत अन्य वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।