कलेज प्रवेशको अति कठिन परीक्षामा १ करोड चिनियाँ विद्यार्थी
एजेन्सी । विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि मानिन्छ । कारोनाका कारण नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र प्रवेश परीक्षाको तयारीका अनलाइन कक्षा सञ्चालन भएका थिए । ‘म विगत चार वर्षदेखि प्रवेश परीक्षाको तयारीमा जुटेकी छु, आइतबार बाहेक हरेक दिन बिहान ४ बजे उठे। पढेकी छु, मैले गर्न सक्ने सबै काम गरेको छु, तर म अझै अलि नर्भस नै छु’ शेन्जेनमा उच्च विद्यालयका १७ वर्षीय जेसी रावले परीक्षा उत्तीर्ण गर्ने आफ्नो एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै एएफपीलाई भनिन्। बेइजिङमा आफ्नो सन्तानको शैक्षिक भविष्यलाई लिएर चिन्तित आमाबाबुहरू परीक्षा केन्द्र वरिपरि भेला भएका थिए । भगवान्को प्रार्थना गर्न तत्पर भएझै उनीहरूका छोराछोरीले घुँडा टेकेका थिए परीक्षाकक्षमा प्रवे गर्नुअघि अनि आफ्नो भाग्य खुल्ने विश्वासमा टाउकोमा रातो वस्त्र चिह्न लगाएका थिए । एक विद्यार्थीकी चालीस वर्षकी आमा झाङ जिङले आफूलाई चिनियाँ लोककथाको पात्र बाई सुजेनसँग तुलना गरिन् । उनले आफ्नो छोराले यो परीक्षा पास नगरेसम्म उसकै अघिपछि आफू बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । ‘मेरो छोरो एकदम मनमौजी छ, ऊ भन्दा म आज धेरै नर्भस छु,’ छोरोको परीक्षाबाट पिरोलिएकी उनले भनिन् । उनले आफ्नो छोरालाई प्राथमिक विद्यालयदेखि हाईस्कूलको पहिलो वर्षसम्मको अध्ययन आफ्नै रेखदेख र निर्देशनमा भएको बताउँदै आजको परीक्षापछि पूर्ण रूपमा आराम गर्ने योजनाबारे जानकारी दिइन् । रासस
बेनीका विद्यालयमा पढाइसँगै सीप कार्यक्रम सञ्चालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। ‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचि अनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यकपर्ने काम गर्नसक्ने बनाउने लक्ष्य छ,’ उनले भने ‘यसपाली वडाको एकवटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम आगामी वर्ष सबै विद्यालयमा लागू गर्ने तयारीमा छौँ ।’ हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १० वटा वडाका लागि चालु आर्थिक वर्षमा एक-एक लाखका दरले दश लाख रुपैयाँ विनियोजन भएको छ । वडा नं ९ मा रहेको राष्ट्रिय र गलेश्वर माविका विद्यार्थीहलाई हाउस वाइरिङसम्बन्धी तालिम दिइएको छ । वडा नं १ रत्नेचौरको भानु र अर्जमको रामचन्द्र माविका विद्यार्थीका लागि पनि हाउस वायरिङ तालिम सञ्चालन भइरहेको नगरपालिकाका– शिक्षा अधिकृत कमलप्रसाद ढकालले बताए । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको हो । बिहानबेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । वडा नं ४ को धवलागिरि र सरस्वती माविले हाउस किपिङ अतिथि सत्कार०, वडा नं ७ को बेनी सामुदायिक र प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गर्ने तयारी गरेका छन् । वडा नं ६ अथुङ्गेको जामुनाखर्क मावि, वडा नं –१० पात्लेखेतको दीपक माविमा हाउस वायरिङ तालिम सञ्चालन गर्ने तयारी भएको छ । बेनी नगरपालिकाको १५ सामुदायिक विद्यालयका दुई हजार जना भन्दा बढी विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । अहिले प्रारम्भिक चरणको सीप सिकेका विद्यार्थीलाई आगामी वर्ष क्षमता विकास गरिने नगरपालिकाले जनाएको छ । दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख ज्योति लामिछानेले बताए। म्याग्दीमा पलम्बीङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ । रासस
पानी नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित
काठमाडौं । पिउने तथा प्रयोग गर्ने पानीको अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित भएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै पानीको अभाव भएको कारणले दन्त चिकित्सा दोस्रो वर्ष बाहेक सबै कक्षाहरु जेठ ३० गते सम्म स्थगित भएको जनाएको हो । प्रतिष्ठानका एकेडेमिक एसिस्टेन्ट डिन डा. भिम्मी सिंहका अनुसार पूर्व तालिकमा रहेका सबै कक्षाहरु स्थगित गरिएको छ । पानीको समस्या भएपछि केही दिन अगाडि देखि विद्यार्थीहरुले आवाज उठाउँदै आएका थिए, तर प्रतिष्ठानले पानीको आवश्यक आपूर्ति गर्न सकेन । दैनिक हजारौं लिटर पानी चाहिने प्रतिष्ठानमा पानीको अभावले उपचार समेत प्रभावित हुन सक्ने देखिएको छ ।