विद्यार्थीको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

  पोखरा । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन् । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहेकी छिन् । ‘खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो’, सावित्री नेपालीले भनिन्,’पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई  विद्यालय जान सहयोग गर्दै आउनुभएको छ ।’ चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटक–पटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उनलाई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उनको भनाइ छ । सावित्री नेपालीसँगै सीप सिक्दै आएका पोखरा– १५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रुपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाए । विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उनको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रुपमा व्यवसाय गर्ने सोच समेत बनाउने जानकारी दिए । नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन् । विद्यालयले बर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन् । बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ। विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो  । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा विद्यालयले सामग्री बिक्री गरे १८ हजार आम्दानी गर्न सफल भएको थियो । उनका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कैची जस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवम् होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, ट्स्यु पेपर बक्स, फोटो फ्रेमलगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन्। बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो । पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले  यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको आज एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताइन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदै अन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै  कास्की जिल्लामा प्राविधिक विषय अन्तर्गत पहिलो पटक वन विज्ञानको पढाइ सुरु गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तादिम परिषद् (सिटिइभिटी)को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उनले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रुपमा अध्ययापन गराउँदै आएका छन् । विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ । तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०/३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शंकर भण्डारीले जानकारी दिए । विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय  एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने  कार्यक्रम रहेको उनको भनाइ छ । विसं २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवम् सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिए । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उनको भनाइ छ ।

स्नातक तहलाई तीन वर्षमा झार्दा विद्यार्थी नेपालमै रोकिन्छन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीकाे संख्या निरन्तर घट्न थालेपछि शैक्षिक कार्यक्रमकाे अवधि नै घटाउने विषयमा छलफल भएको छ । अहिले चारवर्षे अवधिमा सञ्चालन भइरहेको स्नातक तहलाई तीन वर्षे बनाउँदा अध्ययन गर्न विदेश जाने विद्यार्थी रोकिने र संख्या बढ्नसक्ने अनुमान सहित विश्वविद्यालय प्राज्ञिक समितिको वैठकमा डिनहरुले सुझाव राखेका थिए । खासगरी नेपालमा विश्वविद्यालयको अध्ययन नगरी विद्यार्थीहरु विदेश जान थालेपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको हुनसक्ने सामान्य अनुमान गर्न सकिन्छ । तर, त्रिभुवन विश्वविद्यालयभित्र छलफल शुरु भएजस्तो स्नातक तहको अध्ययन अवधिलाई एक वर्ष घटाउँदा विद्यार्थीहरु नेपालमा नै बसेर अध्ययन गर्छन् ? शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने स्नातक तहलाई तीन वर्षेमा झार्दैमा विश्वविद्यालयमा विद्यार्थीको संख्या नबढ्ने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा अध्ययन वर्षभन्दा पनि क्रेडिट आवर महत्वपूर्ण हुने हुँदा अहिले भइरहेको बहस नै अनुपयुक्त भएको बताए । ‘सेमेस्टर प्रणालीमा कति वर्ष पढ्यो भन्ने विषय महत्वपूर्ण हुँदैन, कति क्रेडिट आवर पढ्यो भन्ने महत्वपूर्ण हुन्छ र त्यो क्रेडिट आवरमा के–के कुरा पढ्यो, कति पेपरहरु लेख्यो र ती पेपरहरु कति छापिए भन्ने महत्वपूर्ण हुन्छ’ डा.कोइराला भन्छन्, ‘कतिपय ठाउँमा चारवर्षे कोर्ष दुई वर्षमा पनि सक्न सकिन्छ, इङ्ल्यान्डमा एक वर्षमा एमए गर्न सकिन्छ, त्यसैले प्रश्न नै अनावश्यक प्रश्न बनाइयो ।’ प्रणालीमा विद्यार्थीलाई ल्याउनेभन्दा पनि विद्यार्थीले खोजेको प्रणालीमा जानुपर्ने उनको तर्क छ । जति विकसित हुँदै गयो विद्यार्थीको पछाडि प्रणाली लाग्ने अभ्यास हुँदै गएको उनको भनाइ छ । विद्यार्थीको माग र आवश्यकताका आधारमा शैक्षिक प्रणाली निर्धारण गर्नुपर्ने तर, नेपालका विश्वविद्यालयमा त्यो अवस्था नरहेको उनको भनाइ छ । ‘कुनै विद्यार्थीले म चार वर्षको कोर्ष चार वर्षमा सक्दिन म आठ वर्ष लगाएर पढ्छु भन्यो भने खै त पढ्ने ठाउँ ?’, कोइराला प्रश्न गर्छन्, ‘यो विषयमा कसैले पनि चिन्तन गरेन, विद्यार्थीले म हप्तामा म एक दिन मात्रै आएर पढ्छु भन्यो भने दिने कि नदिने ?, म तपाईंको कक्षामा आउन सक्दिन, म मेरो ढंगले वा अनलाइन पढ्छु भन्यो भने त्यसको जाँच लिने की नलिने भन्ने विषयमा हामीले सोच्नुपर्छ ।’ विद्यार्थी सँधै कलेज आएर लेक्चर सुन्नुपर्छ भन्ने मान्यता भन्दा पनि शैक्षिक प्रणाली लचिलो भएमा विद्यार्थीलाई विश्वविद्यालयमा जोडिएर अध्ययन गर्न सजिलो हुने उनको भनाइ छ । त्यस्तै, शिक्षाविद् डा. विष्णु कार्कीले केही वर्ष अगााडि मात्रै तीनवर्षे कार्यक्रमलाई चारवर्षे बनाइएकोमा फेरि तीनवर्षे बनाउने विषयमा छलफल गर्दा जिम्मेवार व्यक्तिहरुले गम्भीर सोच्नुपर्ने बताएका छन् । उनले तीनवर्षे बनाउन मिल्ने विषयलाई तीनवर्षे बनाउन सकिने तर, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेर्नुपर्ने बताएका छन् । ‘जुन विषयलाई चार वर्षे माग गरेको छैन त्यसलाई चाारवर्षे नबनाउँ, जस्तो एमबिबिएस चारवर्षे कोर्ष हो, त्यसलाई चलाउन सकिँदैन’, शिक्षाविद् कार्कीले भने, त्यसैले जिम्मेवार ठाउँमा बस्नेहरुले किन यसो गर्दैछौं भन्ने भन्नुपर्यो ।’ साथै समयको विषयमा छलफल गर्दा अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुने भएकाले सो विषयलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिबलाल भुसालले प्राज्ञिक परिषद्को बैठकमा स्नातक तहको अध्ययन अवधि तीन वर्ष बनाउने विषयमा छलफल उठेको बताएका छन् । साथै अध्ययनलाई सहज बनाउनको लागि चौथो वर्षको अवधि इन्टर्नसिपको रुपमा अगाडि बढाउन सकिने निर्णय भएको उनले बताए । ‘चार वर्षलाई तीन वर्षमा झार्ने होइन बरु तीन वर्ष पढाएर चौथो वर्ष इन्टर्नसिपतर्फ जाने हो की भन्ने भएको छ’, उनले भने, ‘अब पाठ्यक्रम बनाउँदा चौथो वर्षलाई हल्का बनाउने ढंगले काम अगाडि बढ्छ ।’ उनले चौथो सेमेस्टरमा फिल्डवर्क, थेसिस र इन्टर्नसिपका कार्यक्रमलाई समावेश गरिने बताए । साथै उनले समय कमि हुँदा पनि विगतमा मानविकी संकायमा विद्यार्थी संख्या नबढेको बताए । पछिल्लो केही वर्ष यता विश्वविद्यालय अथवा उच्च शिक्षा तहमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्यामा निरन्तर कमि भइरहेको छ । अधिकांश विद्यार्थीहरु अध्ययनकै क्रम छाडेर अन्य पेशा व्यवसायमा लाग्ने तथा विदेश जाने क्रम बढ्न लागेको छ । जसले गर्दा कतिपय विभाग र कलेजहरु बन्द हुने अवस्थामा समेत पुगेका छन् । सरकारले उच्च शिक्षामा वर्षेनी ठूलो मात्रामा लगानी गर्दै आएको छ । तर, वर्षेनी नेपाल छाडेर अध्ययनको नाममा विदेशीने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको तथ्यांकले देखाउँछ । पछिल्लो आर्थिक वर्षमा मात्रै एक लाख १० हजार दुई सय सत्र जना विद्यार्थीले विदेश अध्ययनको लागि भनेर एनओसी लिएका थिए । विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेन्डरमा विद्यार्थी भर्ना देखि परीक्षा र नतिजा प्रकाशन नगर्दा पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनको लागि विदेश रोज्न लागेको देखिन्छ । तर, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा डिनहरु भने आफूहरुले सिर्जना गरेको समस्यालाई सही ढंगले समाधान गर्नेभन्दा पनि स्नातक तहको समयावधिको छलफलमा केन्द्रित हुन खोजेको देखिन्छ ।

टीबीसी स्टार्टअप फेस्ट सम्पन्न, विजेताले पाए १ लाख रुपैयाँ

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो । टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए । सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हाँसिल गर्यो । रधिक थापाको नेतृत्वमा रहेको यो टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ बारे विचार प्रस्तुत गरेको थियो। विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । साथै, यस टिमका सदस्यहरुले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन् । त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरु भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए । उनीहरुले पुरस्कारस्वरुप ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो स्थान ‘बायो–इन्जाइम’ टिमले हाँसिल गरेको छ । यस टिमले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उनीहरुले वातावरणमैत्रि सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेका थिए । टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरुको लागि आफ्नो उद्यमशिल विचारहरु प्रस्तुत गर्ने र उनीहरुको स्टार्टअपहरुमा लगानी गर्ने उदेश्यले सुरु भएको हो। प्रतियोगिताको पहिलो दिन नेपालभरका बिभिन्न कलेजहरुका ५० जना विद्यार्थीहरुले आ–आफ्नो विचारहरु प्रस्तुत गरेका थिए । ती मध्ये उत्कृष्ट १० विचारहरुलाई अघिल्लो चरणको लागि छनौट गरिएको थियो । उत्कृष्ट १० विचारहरुमा सहभागी भएका ५० जना विद्यार्थीहरु मध्यबाट पाँच टिम बनाइएको थियो। त्यसपछि सो टिमका सदस्यहरुलाई शनिबार विशेषज्ञ तथा टीबीसीका प्रोफेसरहरुले ग्रुमिङ सेसन दिएका थिए। सो सेसनको माध्यमबाट विद्यार्थीहरुले थप ज्ञानहरु प्राप्त गरि आफ्नो विचारहरुलाई सुधार गर्ने र अझै राम्रो प्रस्तुत गर्ने अवसर पाएका थिए। कार्यक्रमको अन्तिम दिन विशिष्ट अतिथिहरु प्रा. टिम गोचर ओबीई र डा. पुकार मल्लले आफ्ना भनाईहरु राखेका थिए । त्यसपछि अनुभवि निर्णायकहरु स्नेह राजभण्डारी, आशुतोष दीक्षित, अमित अग्रवाल र ब्रिटिस कलेजका उप–प्राचार्य डा. प्याट्रिक म्याक्रडनको अगाडि टिमहरुले आफ्नो उद्यमशिल विचारहरु प्रस्तुत गरेका हुन् । सहभागी विद्यार्थीहरुले नवप्रवर्तन, प्रभाव र दिगो विकासका लक्ष्यहरुमा केन्द्रि रहँदै आफ्ना धारणाहरु राखेका थिए । उत्कृष्ट विचार प्रस्तुत गर्ने तीन टोलीलाई विजेता घोषित गरिएको हो । प्रतियोगिताको आयोजनाले विद्यार्थीहरुले आफ्नो विचारहरु प्रस्तुत गर्ने अवसर पाएको टीबीसीको विजनेश स्कुल विभागकी प्रमुख सुनिता बस्नेतले बताइन् । ‘ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशिल इकोसिस्टममा योगदान पुर्याउने लक्ष्य राखको र स्टार्टअप फेस्ट र यसै उदेश्यको हिस्सा हो,’ बस्नेतले भनिन्, ‘उद्यम, प्रभाव र एसडीजी सम्बन्धि पाठ्यक्रमहरु प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा हाम्रा लागि युवाहरुको विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ। त्यसैले हामी यो कार्यक्रम वार्षीक रुपमा आयोजना गर्ने लक्ष्य राखेका छौ । साथै, भविष्यमा अझै धेरै शैक्षिक संस्था तथा उद्योगीहरुसँग सहकार्य गर्न चाहान्छौं।’