डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न

काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकार द्वय सौँन्दर्या पानापिल र शशि रमेशले बेजोड प्रस्तुती दिएका थिए । डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यमिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरूसँगै प्रस्तुत भएका थिए । कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए । उक्त साँस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् । सुशीला आर्ट्स एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् । त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफु निकै हर्षित भएको बताइन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशिल रहन प्रेरित समेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् । कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन । उनले स–साना बालबालिकाहरूको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै सुशीला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना  दिइन् । उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रिय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थित रहेको थियो । सोही अवसरमा  विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । निम्न माध्यमिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।  

कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, धेरै विद्यार्थी अध्ययन गर्न विदेश जाने

भरतपुर । नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आंङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा पुण्य रेग्मी विद्यार्थीलाई देशमै भविष्य देखाउन नसके विदेसिनेको सङ्ख्या बढेर जाने बताउछन् । उनले कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण कम भएको बारे गम्भीर बनेको जनाउँदै नीतिगत तहमा छलफल भइरहेको बताए । उनले भने, ‘विश्वविद्यालय सुधार गरेर विद्यार्थी र अभिभावकलाई आकर्षण गराउने खालको बनाउनुपर्छ, बन्द हड्ताल र समयमै पढाइ नसकिने परिपाटीको अन्त्य हुनुपर्छ ।’ विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक डा ईश्वरी लौडारीका अनुसार क्याम्पसमा आवश्यक सिटभन्दा पाँच सय ८४ विद्यार्थी कमी रहेका छन् । ‘विगतमा प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो । कुनै वर्ष पाँच हजारसम्मले प्रवेश परीक्षा दिएको तथ्याङ्क छ’, उनले भने, ‘अहिले विद्यार्थी नभएर कोटासमेत पूरा भएको छैन ।’ नेपालमा ‘बिएससी एजी’ पढाइ हुने क्याम्पस १६ छन् । त्यसमा नौ सरकारी र सातवटा निजी क्याम्पस छन् । त्यसमध्ये सबै क्याम्पसमा कोटा खाली छ । सातै निजी क्यामपसमा विद्यार्थीको सङ्ख्या शून्य छ । सरकारी क्याम्पसमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको उनले बताए । कृषि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १६ क्याम्पसमा नौ सय ३४ विद्यार्थीको कोटा छ । त्यसमध्ये सरकारी क्याम्पसमा पाँच सय ५४ र निजी क्याम्पसमा तीन सय ५० रहेको छ । तर हाल तीन सय ५० विद्यार्थीले मात्र अध्ययन गरिरहेका छन् । हाल पढिरहेका विद्यार्थी पनि सरकारी क्याम्पसकै हुन् । अझै सरकारी क्याम्पसमा पनि दुई सय ३४ विद्यार्थीको कोटा खाली रहेको उनले बताए । नवलपरासीको गैँडाकोटस्थित हिमछाया क्याम्पसमा स्नातक तहको कृषि र वन विषयको पठनपाठन हुन्छ । आठ वर्षअघि स्थापित यो क्याम्पसमा यस वर्ष कृषिमा विद्यार्थी नै भर्ना भएनन् । वन विषय अध्ययन गराउने ५० जनाको कोटा रहेकामा चार जनामात्रै भर्ना भए । अघिल्लो वर्ष भने २५ विद्यार्थी भर्ना भएका थिए । कलेजका निर्देशक छविलाल कँडेल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा ५० प्रतिशत पनि विद्यार्थी उत्तीर्ण नभएका कारण विद्यार्थी भर्ना हुन नसकेको बताउछन् । कठिन प्रश्नावली, कृषि प्राविधिकको क्षेत्रमा सरकारले लामो समयसम्म विज्ञापन नखुलाउनु र कक्षा १२ पास भएपछि विद्यार्थीलाई विदेश पठाउने गरेका कारण नेपालको शिक्षा प्रणाली धरासायी बन्दै गएको उनको भनाइ छ । चौवन्न जनाको कोटा रहेको दैलेखको दुल्लुमा स्नातक तहको पहिलो वर्षमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या शून्य छ । यो क्याम्पस सरकारी हो । कृषि वन विज्ञान विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत आवश्यक सिट सङ्ख्या पुग्न सकेको छैन । एक सय ७६ सिट सङ्ख्या रहेको क्याम्पसमा एक सय २७ जनाले मात्र पढिरहेका छन् । कास्कीको पुरन्चौरमा रहेको कृषि क्याम्पसमा कृषि पढ्ने विद्यार्थीको सिट सङ्ख्या ५४ थियो । त्यहाँ ४८ जनाले मात्र पढेका छन् । चौवन्न सिट सङ्ख्या रहेको महोत्तरीको बर्दिबासमा २२ जनामात्र विद्यार्थी छन् । चौवन्न सिट सङ्ख्या रहेका धनकुटा र कैलालीमा क्रमशः ३२ र ३१ विद्यार्थीले पढिरहेका छन् । उनान्चास सिट सङ्ख्या रहेको खजुरामा २९ र रोल्पामा २१ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि बीचमै छाड्ने विद्यार्थीको सङ्ख्या बढी नै रहेको छ । वीरेन्द्रनगर, ललितपुर, नवलपरासी, झापा, सुनसरी, बाँके र नवलपुरमा रहेका सातवटा क्याम्पसले कृषि पढाउनका लागि सम्बन्धन प्राप्त गरेका छन् । यी क्याम्पसको सिट सङ्ख्या तीन सय ५० थियो । तर अहिले विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । भर्ना भएकामध्ये पनि करिब २० प्रतिशतले बीचमै छाड्ने गरेको विश्वविद्यालयले जनाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने राजनीतिक बेथिति, विदेश मोहलगायतका कारणले पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको कृषि विज्ञहरूले बताएका छन् । नेपालमा अझै अध्ययन सँगसँगै रोजगारी गर्ने अवसर कम छ । त्यही कारण धेरै विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेको विश्वविद्यालयका निर्देशक डा क्रृषिराम कट्टेल बताउछन्। उनले विद्यार्थी भर्ना गर्न र टिकाउनका लागि पढ्दै कमाउँदै गर्ने वातावरण बनाउनुपर्ने बताए । विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा डा अर्जुन श्रेष्ठ देशैभरि स्नातक पढ्ने विद्यार्थीको चाप घट्दै गएको बताउछन् । ‘देशमा कक्षा १२ पढेपछि बाहिर जान थाले । सबै विश्वविद्यालयमा स्नातक तह पढ्ने विद्यार्थीको सङ्ख्या घट्दो छ’, उनले भने, ‘त्रिविले अधिकांश क्याम्पस समायोजन गर्दै छ ।’ यद्यपि कृषिमा विद्यार्थीको आकर्षण बढाउने खालका सुधारका योजना विश्वविद्यालयले बनाइरहेको उनले बताए । रासस

युरोपियन युनियनले नेपाललाई ११ अर्ब अनुदान दिने

काठमाडौं । युरोपियन युनियनले नेपाललाई करिब ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयको अनुदान सम्बन्धी सम्झौतामा नेपाल सरकार र युरोपेली संघले शुक्रबार हस्ताक्षर गरेका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयूका राजदूत नोना डेप्रेजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो अर्थात ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको अर्थमन्त्रकालयले बताएको छ । त्यसैगरी, जलवायु परिवर्तनका लागि स्थानीय अनुकूलन पहलका लागि २२ मिलियन युरो अर्थात ३ अर्ब २५ करोड बराबरको अनुदान सम्झौता भएको हो । उक्त सम्झौता अनुसार सबैका लागि गुणस्तरीय शिक्षाले विद्यालय शिक्षा कार्यान्वयनमा सहयोग पु¥याउने अर्थसचिव अर्जुन पोखरेलले बताए । उनले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भुमिका खेल्न महत्वपूर्ण योगदानको आशा रहेको बताए । उनले सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा युरोपेली संघलाई धन्यवाद दिए । युरोपियनले नेपालको दिगो सुदृढीकरणका लागि जलवायु परिवर्तनको अनुकूलनमा सहयोग गर्न आवश्यक रहेको पोखरेलले बताए । नेपालले विकास र जलवायु कार्यलाई सन्तुलनमा राख्ने इमान्दार प्रयास गरिरहेको भन्दै संघले नेपालको प्रशंसा गरेको छ ।