‘वित्तीय क्षेत्रको स्वनियमनमा संस्थागत नैतिक अभ्यास अपरिहार्य’
काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनमा बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई व्यवहारिकरुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरुको सहभागिता थियो ।
ह्याप्पी चिल्ड्रेन होमलाई आर्थिक सहयोग
काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिष्ट्रिक्ट ३२५ जे को रिजन १२, जोन ३ र ४ अन्तर्गत रहेका क्लबहरुले चामल, ग्याँस, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न र स्टेशनरी सामाग्रीहरु प्रदान गरेका हुन् । जोन चेयरपर्सन लायन रोशन कुमार श्रेष्ठले आगामी दिनहरुमा संस्थासंग मिलेर सांगितिक कार्यक्रम गरी ह्याप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताए । रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सनहरु लायन रोशन कुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा ४० हजार बराबरको सहयोग गरिएको हो । यो कार्यमा लायन्स क्लब अफ काठमाडौं अटो नेपाल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल, लायन्स क्लब काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ र जामाचो टोखा लियो क्लबको साथ थियो । आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्य अनुरुप ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताइन् ।
विश्वविद्यालयले किन लागू गर्न सक्दैन शैक्षिक क्यालेण्डर ?
काठमाडौं । पछिल्लो समय नेपालका विश्वविद्यालयहरुमाथि शैक्षिक क्यालेन्डर, व्यवस्थित र गुणस्तर लगायतका विषयमा निकै प्रश्न उठ्ने र टिकाटिप्पणी हुने गरेको छ । स्नातक तहमा अध्ययन गर्नुपर्ने लाखौं विद्यार्थी नेपालका विश्विद्यालय तथा कलेज छाडेर विदेशी विश्वविद्यालय तथा कलेजमा जाने गरेको पनि देखिन्छ । गत आर्थिक वर्षमा मात्रै एक लाख १० हजार दुई सय सत्र जना विद्यार्थीले विदेश अध्ययन गर्नको लगि नो अब्जेक्सन लेटर लिएका थिए । नेपालका विश्वविद्यालयहरुले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सक्षम भएको र विश्वविद्यालयहरुमाथि प्रश्न उठ्दै जानुमा सरकार र राजनीतिक नेतृत्व दोषी भएको विश्वविद्यालयका पदाधिकारीले आरोप लगाएका छन् । पोखरा विश्वविद्यालयका रजिस्टार डा. दीपकबहादुर भण्डारीले आफ्नो विश्वविद्यालयमा पनि विद्यार्थी संख्या घट्दै गएको भन्दै सुधारको लागि धेरै प्रयत्न गरिरहेको बताएका छन् । उनले विश्वविद्यालयको तहबाट मात्रै सुधारको प्रयत्न गरेर सम्भव नदेखिएको समेत गुनासो गरेका छन् । ‘हामीले एकेडेमिक क्यालेन्डर लागु गरेर समयमा परीक्षा गरेका छौं, अधिकांश पूर्णकालिन शिक्षकको व्यवस्था गरेका छौं, बजारको माग अनुसार कोर्सको अपडेट गरेका छौं’, उनले भने, विश्वविद्यालयले गर्न सक्ने जति गरेका छौं ।’ धेरै विद्यार्थीहरु मानविकी संकायमा घट्न पुगेको भन्दै उनले विश्वविद्यालयहरुका रजिस्टारको तहमा, विश्वविद्यालय अनुदान आयोग, योजना आयोग र विश्वविद्यालयमा सो विषयमा छलफल भएको बताएका छन् । डा. भण्डारीले अहिले पनि विभिन्न एजेन्डाको नाममा आफ्नो कार्यकक्षमा ताला लगाइएको भन्दै विश्वविद्यालयमा पदाधिकारीहरुले काम गर्ने वातावरण नभएको समेत बताए । ‘विश्वविद्यालयमा राजनीति बन्द गर्नुपर्छ, विद्यार्थी संगठन र कर्मचारी संगठनको नाममा गरिएका राजनीतिक गतिविधिका कारण भयमुक्त ढंगले काम गर्ने वातावरण बन्न सकेको छैन’, उनले भने । विश्विद्यालयहरुको भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको र नेपालका विश्विद्यालय र कलेजहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकार नै अग्रसर हुनुपर्ने उनको भनाइ छ । पूर्वाञ्चल विश्विद्यालयका प्रवक्ता निलमणि पोखरेलले पछिल्लो समयमा विश्वविद्यालयले कार्यक्रम र कलेज विस्तार गरेका कारण विद्यार्थी संख्यामा वृद्धि भएको तर, विश्विद्यालयहरुमा तुलनात्मक रुपमा विद्यार्थी संख्या घट्न पुगेको बताए । उनले विश्वविद्यालय सञ्चालन गर्नको लागि सरकारको तर्फबाट अनुदान नपाउने हुँदा पनि विश्वविद्यालयले मेहिनेत गरिरहेको बताए । शैक्षिक गुणस्तर र विद्यार्थी आकर्षण वृद्धि गर्नको लागि विश्विद्यालयले पछिल्लो कानून विषयको आंगिक क्याम्पस विस्तार गरेको, बायो मेडिकल इन्जिनियरिङ र फेसन टेक्नोलोजी जस्ता विषयलाई पनि प्राथमिकता दिएर अगाडि बढाइरहेको उनले बताए । नेपालमा विद्यार्थी टिक्न नसक्नुमा मुख्य कारण राजनीति नै भएको उनको भनाइ छ । ‘राजनीतिक नेतृत्वले आफूलाई करेक्सन गर्नुपर्छ, विद्यार्थीले अध्ययन पुरा गरेपछि यहाँ अवसर पाउँदैन अनि विदेश जान्छ, क्षमतावान मान्छेले अवसर पाउन सकेको छैन’, उनले भने, ‘उदाहरणको रुपमा बिएसी नर्सिङ अध्ययन गरेको विद्यार्थीले निजी क्षेत्रमा १० हजारमा काम गर्नपरेको अवस्था छ, सरकार कहाँ छ भनेर खोज्न पर्ने अवस्था सिर्जना भएको छ ।’ अध्ययनमा अनुसन्धान र पिएचडी गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले नगद अनुदान सहित प्रोत्साहन गर्ने समेत गरेको उनको भनाइ छ । नेपालको पुरानो र ठूलो मध्येको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो र सबैभन्दा धेरै कमजोरी र टिकाटिप्पणी पनि सोही विश्वविद्यालयको विषयमा हुने गरेको देखिन्छ । कोभिड महामारी पछिको अवस्थामा विश्वविद्यालयलाई नयाँ ढंगले अगाडि बढाउने प्रयत्न भइरहेको विश्विद्यालयका रेक्टर डा. शिबलाल भुसाल बताउँछन् । भुसालका अनुसार विश्विद्यालयमा पछिल्लो एक वर्षमा विद्यार्थीको संख्यामा ७७ हजारले वृद्धि भएको छ । उनका अनुसार खासगरी पुराना शैक्षिक कार्यक्रममा विद्यार्थीको रुची घट्दै गएकोले पछिल्लो समयमा ती विषयबाट विद्यार्थीहरु नयाँ विषयमा सिफ्ट हुन लागेको र सोही अनुसार विश्वविद्यालयले आफूलाई रुपान्तरण गर्ने प्रयत्न गरिरहेको छ । तर, त्रिभुवन विश्वविद्यालय जस्तो ठूलो संस्था रातारात रुपान्तरण गर्न सहज नभएको उनको भनाइ छ । खोजेजस्तो सुधार नभएपनि त्रिभुवन विश्वविद्यालय विश्वको र्यांकिङमा आठ सयदेखि एक हजारको बीचमा रहँदै आएको उनले बताए । साथै उनले विश्व विद्यालयले केही नयाँ कार्यक्रम पनि अगाडि बढाउने प्रयत्न गरेको जानकारी दिए । ‘हामीले खोजेजस्तो नभएको होला, त्रिभुवन विश्वविद्यालय लगभग २/३ वर्ष यता वल्र्ड युनिभर्सिटी र्याङकिङमा आठ सयदेखि एक हजारको बीचमा छ, अहिले पनि त्यहीँ रहन्छ, केही कार्यक्रमहरु अगाडि बढेका छन्’, उनले भने । मानविकी र व्यवस्थापन संकाय भने ¥याङकिङमा पछाडि रहेको उनले बताए । इन्जिनियरिङ, विज्ञान, चिकित्सा विज्ञान लगायतका विषयहरु भने विश्व र्याङकिङको दुई सयदेखि छ सय सम्मको बीचमा रहेको उनको भनाइ छ । खासगरी विश्वविद्यालयले दुईथरी कार्यक्रम सञ्चालन गरेको बताउँदै रेक्टर भुसालले केही कार्यक्रम गाउँ–गाउँसम्म पुर्याउन पर्ने र जे–जस्ता शिक्षकहरु उपलब्ध छन् तीनले नै पढाउने अवस्था रहेको र विद्यार्थी पनि छनोट गर्न नसक्ने अवस्था रहेको बताउँछन् । उनले विश्विद्यालयले डिजिटलाईजेसन, अटोमेसन, अनलाईन कक्षा लगायतका विषयहरु शुरुवात गर्दै गएको समेत बताएका छन् । विश्वविद्यालयलाई थप व्यवस्थित गर्न नसक्नुमा राजनीतिक हस्तक्षेप पनि समस्याको रुपमा रहेको रेक्टर भुसालले औंल्याएका छन् । व्यवस्थित हुनुपर्छ भन्ने तर काम गर्न नदिने वातावरण भएको उनले बताए । ‘राजनीतिक हस्तक्षेप अलिक बढी भयो, परीक्षा छिटो गर, रिजल्ट छिटो गर भन्ने अनि काम गर्ने अफिसमा गएर ताला लगाइदिएपछि काम छिटो हुन्छ की ढिलो हुन्छ ?’, रेक्टर भुसालले भने’, अहिलेपनि हाम्रा कैयँन परीक्षा शाखाहरुमा तालबन्दी छ, काम त स्मुथली गर्न पाउनुपर्यो नी, परीक्षा छिटो गर भन्ने अनि जाँच चाहिँ पर सार भन्ने, पर पनि सार्न पर्ने छिटो पनि गर्दिन पर्ने ।’