सामुदायिक सरह निजी विद्यालयलाई सुविधा दिन निर्देशन
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सामुदायिक विद्यालय सरह सुविधा दिनुपर्ने व्यवस्था छ । उक्त उपनियमले तलब स्केल, दशैँ खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सामुदायिक विद्यालयको सरह हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्टयाइ सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रवन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका दुई जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएको हो । रासस
उच्च शिक्षाका लागि १६४ विदेशी विद्यार्थीले रोजे नेपाल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब ५ सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो । सो अवधिमा ३१ हजार १०४ नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए ।
ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण आयोजना गर्दै
काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल तथा आइबिडीपी स्कूल सहभागी हुने ग्लोबल रिच नेपालले जनाएको छ । एक दिन सञ्चालन हुने उक्त प्रतियोगिता ढुकु फुटसल हव बालुवाटारमा हुने जनाएको छ । यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने आयोजकको विश्वास छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइने छ । प्रतियोगिता विहान १० बजे देखि सञ्चालन हुनेछ । प्रतियोगिमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ग्लोबल रिच नेपालद्वारा आयोजित इन्टर स्कुल ए लेभल र आइ बि डी पी फुटसल टुनामेण्ट प्रतियोगिताको यो पाँचौँ संस्करण हो । ग्लोबल रिच नेपालले अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्तर्राष्ट्रिय शिक्षाका बारेमा विगत ३२ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा निम्न स्कूलहरुको सहभागिता रहने छ ।