शिक्षा विधेयकमा पछि हटे प्रचण्ड, विधेयकको ड्राफ्ट परिवर्तन बहाना मात्रै

काठमाडौं । साउन २५ गते सिंहदरबारमा गत आर्थिक वर्ष (आव)को वार्षिक समीक्षा तथा चालु आवको कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कर्मचारीले गोप्य रूपमा उल्ट्याएको पाइएको बताएका थिए । विधेयकमा कर्मचारीले बदमासी गरेकै कारण मन्त्रिपरिषदले निर्णय गरे पनि उक्त विधेयक संसदमा पेस गर्न नसकिएको बताएका थिए । निजी क्षेत्रका विद्यालय सञ्चालकहरूले अनिश्चितकाल विद्यालय बन्द गर्नेसम्मका आन्दोलन घोषणा गरेपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको थियो । तर, शिक्षा मन्त्रालय स्रोतले भने कर्मचारीले विधेयक उल्ट्याएको नभई विद्यालय सञ्चालकहरुको आन्दोलन मत्थर पार्ने उद्देश्यअनुसार प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति सार्वजनिक गरेको जानकारी दिएको छ । मन्त्रिपरिषदले विधेयक अगाडि बढाउने निर्णय गरेपछि निजी विद्यालयका लगानीकर्ता र शिक्षक, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले सरोकारवालासँग छलफलै नगरी विधेक ल्याएको भन्दै विरोध गरेका थिए । खासगरी पाँच वर्षभित्र निजी विद्यालयहरू निजी गुठीमा रुपान्तरण गर्ने प्रस्ताव विधेयकमा समेटिएपछि उनीहरु आन्दोलित बनेका थिए । उनीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई आफ्ना मागको विषयमा जानकारी गराउने र छलफल गर्ने काम समेत गरे । मन्त्री र सचिवहरुसँगको कार्यसम्पादन समीक्षा बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो पछि त्यो बिल्कुल उल्टो बनेर आयो भन्ने देखियो र हामीले सदनमा पठाइहाल्न खोजेको ऐनलाई पनि रोक्यौं ।’ उनले सो विधेयकलाई सुधार नगरी संसदमा पठाउन नसकिने बताएका थिए । प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको भोलिपल्ट साउन २६ गत नै निजी स्कूल सञ्चालकहरुले आन्दोलन स्थगितको घोषणा गरे । शिक्षामन्त्री अशोक राईको सचिवालय स्रोतकाअनुसार अहिलेको शिक्षा विधेयकमा उनकै समेत पूर्ण सहमति थिएन तर, लामो समयदेखि शिक्षा ऐन नै नबन्ने अवस्था सिर्जना भएकाले हाउसमा पुगेपछि छलफल हुन्छ भनेर उनले अगाडि बढाएका थिए । ‘अहिलेको विधेयकमा मन्त्रीज्यूको पनि पूर्ण समर्थन थिएन, तर कतिपय विषयमा संसदमा छलफल अगाडि बढ्छ भन्ने उहाँको विचार थियो’, स्रोतले भन्यो, ‘सबैका माग सुन्ने हो भने शिक्षा ऐन नै बन्न सक्दैन ।’ कर्मचारीले विधेयक उल्ट्याएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति निजी स्कूल सञ्चालकको मन बुझाउन र विधेयकको व्यवस्था उल्टाउनको लागि थियो त ? भन्ने प्रश्नमा शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘त्यस्तै हुन सक्छ ।’ अघिल्लो पटक शिक्षामन्त्री भइसकेका माओवादी नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको भनाइमा आफ्नो टिप्पणी नरहेको तर, ऐनमा निजी शिक्षाका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए । विकासन्युजसँग कुरा गर्दै नेता पौडेलले निजी शिक्षा क्षेत्रको मुद्दालाई सम्बोधन गरेर संसदमा लैजाँदा राम्रो हुने बताए । ‘कुनैपनि शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भएको छैन, ४/५ वटा फरक–फरक समयमा ड्राफ्ट भएका कपी सरोकारवालाहरुले बोकेर हिँड्नुभएको छ’, पौडेलले भने, ‘एक पटक ड्राफ्ट भएकोमा केही विषय अर्कोपटक कटाइएको छ, कतिपय हुनै नसक्ने र शिक्षा मन्त्रालयमा प्रसङ्गै नचलेका विषय पनि घुसेर आएका छन् ।’ उनले विधेयक निर्माणको प्रक्रियामा मन्त्रालय वा समितिबाट केही विषय घुसेको हुन सक्ने बताए । ‘आधिकारिक डकुमेन्ट पाइएको छैन, तर सरोकारवालाहरुले उठाएका कतिपय विषयहरुलाई सुनेर मिलेसम्मसम्बोधन गर्दा राम्रो हुन्छ’, पौडेलले भने । शिक्षा विधेयक अघि बढ्दा शैक्षिक क्षेत्रले आन्दोलन गर्ने घोषणा गरेका थिए भने विद्यार्थी संगठनले समेत चेतावनी दिएका थिए । आन्दोलन पेचिलो बन्ने परिस्थिति तयार हुँदै थियो । विद्यालय सञ्चालकहरु निजी सम्पत्ति नै नरहने अवस्था आएपछि निर्णायक आन्दोलनको तयारीमा जुटेका थिए । शिक्षा विधेयकमा गोप्य रुपमा गरिएको हेराफेरिलाई प्रधानमन्त्रीले चासो दिए पनि त्यसको विषयमा थप खोज्ने काम अगाडि नबढको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले बताएका छन् । ‘किन यस्तो भयो भन्ने विषय उहाँले राख्नुभएको हो ।’ उनले ड्राफ्ट पहिल्यै नै गएको हुँदा अहिलेको सचिवलाई समेत सो विषयमा थाहा नभएको हुन सक्ने बताए । ‘हाम्रो कन्सर्न अलि ज्यादा भयो किनभने हाम्र्रो प्रोपर्टी राइटसँगको कुरा थियो, इन्भेस्टमेन्ट जोडिएको थियो हाम्रो, प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भने, ‘लगानीको पनि प्रत्याभुत गर्ने भनेर सरकारले लिएको नीति अनुसार सहकारी र कम्पनीमा विद्यालय गए, विद्यालयले ऋण लिए, दायित्व बोके, राम्रो गरे, अहिले आएर सबै भइसकेपछि तिमी छोड गुठी बनाउ, कतै लैजान पाउँदैनौ भन्न सकिने अवस्था नै होइन ।’

कसरी हेर्ने कक्षा १२ को नतिजा ? यस्ता छन् विकल्प

काठमाडौं । कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस, युएसएसडी र आइभिआरबाट हेर्न सकिने भएको छ । नेपाल टेलिकमले आज एक सूचना जारी गर्दै बोर्डको परीक्षाको नतिजा ती चारवटा माध्यमबाट हेर्न सकिने जनाएको हो । आइभिआरबाट नतिजा थाहा पाउन ल्यान्ड लाइन फोन र मोबाइलबाट १६०० डायल गरेर प्राप्त हुने निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसबाट नतिजा थाहा पाउन मोबाइलको एसएमएस बक्समा गएर NEB< space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्छ । त्यस्तै युएसएसडीबाट नतिजा थाहा पाउन *1600 # डायल गरी प्राप्त निर्देशनअनुसार गर्नुपर्छ भने वेबबाट नतिजा हेर्नको लागि नेपाल टेलिकमको https://neb.ntc.net.np बेबसाइटमा जानुपर्ने हुन्छ । जहाँबाट मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिन्छ ।

रिद्धि सिद्धि सिमेन्टले सम्पन्न गर्‍याे छात्रवृत्ति कार्यक्रम

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले मकवानपूर ‘स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेकाे छ । रिद्धि  सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको मकवानपूर ‘स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम शनिबार सम्पन्न गरेकाे हाे । यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद १० हजार १ रूपैयाँ प्रदान गरिएको थियो । साथै, यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर,शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्ध गराई दिने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै विद्यार्थी, अभिभावक, विद्यालयका प्रधान अध्यापक, शिक्षकको सहभागिता भएको थियो । यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई  ३५ सय , तेश्रो हुनेलाई  २५ सय साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय  एक वर्षसम्म उपलब्ध गराउनेछ । कम्पनीका अनुसार एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै क्ष्त्त परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ठ ११ स्मार्ट विद्यार्थीहरु चुनिनेछन् । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा भाद्र १ गते सुक्रबार कम्पनीको आधिकारिक वेवसाईट र फेसबुक पेजमा प्रकाशित गरिनेछ ।