धनगढी पुगेर डा.राणाले भनिन् – शिक्षामा लगानी अनुसारको प्रतिफल आएन
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा.आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन् । धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा डा.राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको यथार्थ प्रस्तुत गरेकी हुन् । उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले भनिन्, “एकातिर १२ कक्षा पास गरेपछिको अवस्था यस्तो छ भने अर्कातिर बालबालिकामा कक्षा छोड्ने गरेको अवस्थामा कमी ल्याउन सकिएको छैन । त्यसैले यी महत्त्वपूर्ण विषयमा अब गम्भीर भएर सोच्नुपर्ने र शिक्षा प्रणालीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने अवस्था छ ।” त्यसैगरी शिक्षा प्रणालीअन्तर्गत नै सरकारले अपाङ्गता भएका व्यक्तिलाई कसरी शिक्षाको मूल प्रवाहमा ल्याउन सकिन्छ र बालबालिकाका लागि आवश्यक बजेट के कसरी विनियोजन गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारले उचित कदम चाल्नुपर्ने बताइन् । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)द्वारा आयोजित एक अर्को कार्यक्रममा समावेशी शिक्षा प्रवद्र्धनका लागि शारीरिक तथा मानसिक अपाङ्गता भएका तथा तेश्रो लिङ्गी बालबालिकाका लागि विभेदरहित शिक्षण सिकाईका साथै शिक्षामा उनीहरुको पहुँच र अन्य आवश्यक क्रियाकलापका बारेमा छलफल भएको थियो । गुणस्तरीय समावेशी शिक्षा प्रदान गर्न प्रदेशभित्र सञ्चालित विशेष विद्यालय, एकीकृत विद्यालय र स्रोत कक्षामा कार्यरत शिक्षकहरूलाई आवश्यक तालिम दिन, बालबालिकालाई प्रविधीमैत्री शिक्षाको पहुँच सुनिश्चितता गर्नका लागि आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्न र बालबालिकाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने विषयमा पनि सो कार्यक्रममा छलफल भएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा बीई र बिआर्क पढ्न भदौ १९ गतेसम्म आवेदन गर्नुपर्ने
काठमाडौं । कक्षा ११/१२ पछि स्नातक तहमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा बीई र बी.आर्क कार्यक्रममा पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षाका लागि भदौको १९ गतेसम्म आवेदन गर्नुपर्ने भएको छ । भदौको २५ गतेदेखि कम्प्युटर विधिबाट इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा प्रवेश परीक्षा शुरु हुने संस्थानले सूचनामा उल्लेख गरेको छ । जनाएको छ । प्रवेश परीक्षामार्फत् छनौट हुने विद्यार्थीले संस्थान अन्तर्गतको ५ वटा आंगिक र १० वटा सम्बन्धन कलेजमा पढ्न पाउनेछन् । कक्षा ११/१२ मा भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिएर अध्ययन गरेको वा ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तहमा ४५ प्रतिशत वा एनइबी फाइनल ग्रेडमा प्रत्येक विषयमा सी ग्रेड प्राप्त गरेको विद्यार्थीले आवेदन गर्न पाउनेछन् ।
विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग
काठमाडौं । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक विधेयक अहिले आउन सकेन भने फेरि पनि पर धकेलिने खतरा रहेको जनाउँदै यसमा छुटेका विषयलाई समेटेर चाँडो पारित गराउनेतर्फ सबै जुट्नुपर्ने खाँचो औँल्याए । उनले विज्ञ सरोकारवालाको राय–सुझाव लिएर शिक्षासम्बन्धी ऐन, नियमावली र कार्यविधि एकैपटक बनाउँदा उपयुक्त हुने बताए । ‘संविधानविद, कानुनविद्सँग छलफल गरेर ऐनलाई टुङ्गोमा पुर्याउनेतर्फ प्राध्यापक बहस चौतारीले पैरवी गर्नुपर्छ’, उनले भने । शिक्षक भातृ सङ्गठन राख्ने कि नराख्ने भन्नेबारे राजनीतिक तहबाट स्पष्ट हुन जरुरी रहेको भन्दै शिक्षाविद् कोइरालाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने धारणा राखे । उनले व्यावसायिक शिक्षा नारामै सीमित रहेको भन्दै समयसापेक्ष प्रविधिमैत्री व्यावसायिक र वैज्ञानिक शिक्षाका लागि नीतिगत सुधार गर्न जरुरी भएको उल्लेख गरे । नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधारले महासङ्घसँग छलफल नगरी एकलौटी ढङ्गले शिक्षक ऐन अघि बढाइएको आरोप लगाउँदै अब बन्ने ऐनमा शिक्षाको आगामी रणनीतिक लक्ष्य र उद्देश्य स्पष्ट गरिनुपर्ने धारणा राखिन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मोक्तानले राम्रो तयारी र छलफलबिनै विधेयक आएको र कतिपय प्रावधान अव्यवहारिक रहेकाले विवादित बनेको भन्दै विधेयकमा परीक्षा मूल्याङ्कन प्रणालीको व्यवस्थालगायतका विषय समेटिनुपर्ने धारणा राखे । यसैबीच सङ्घको स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सङ्घका पूर्वअध्यक्ष प्रा डा कुलप्रसाद कोइरालाले सङ्घको विधान कार्यान्वयन र शैक्षिक उन्नयनका लागि यसको भूमिकालाई थप सक्रिय र जिम्मेवारी बनाउन नियमित अधिवेशन हुन जरुरी भएको बताए । उनले विश्वविद्यालयको शैक्षिकस्तर खस्कन नदिनेतर्फ पनि प्राध्यापकहरूले ध्यान दिन जरुरी भएको उल्लेख गरे । सङ्घका पूर्वअध्यक्ष प्राध्यापक गुणनिधि न्यौपानेले प्राध्यापकलाई लोभ र प्रलोभनमा पारेर नेतृत्व हत्याउने प्रवृत्ति हट्नुपर्ने धारणा राखे । प्राध्यापकद्वय अर्जुनप्रसाद पोखरेल र मुरलीधर दाहालले प्रजातान्त्रिक संस्थाभित्र विधि, विधानअनुरुप संस्था चल्नुपर्ने होइन भनी प्रश्न गर्दै सङ्घको अधिवेशन तत्काल गर्न माग गरे । रासस