एक महिनादेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्दीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ’, उनले भने, ‘अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताए । ‘पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयको दैनिक कामकाज एक महिनादेखि ठप्प छ । रासस
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता हुने, अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जतिवटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए । यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताए । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छ भने पनि एनजी आएकाहरूले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् । नतिजा चित्त नबुझे पुनर्योग बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताए । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ । विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ । ४९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण, अङ्ग्रेजीमा बढी कमजोर राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ । यसवर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७, आंशितर्फक ६० हजार नौ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ एक हजार एक सय ६ जना गरी चार लाख ४८ हजार आठ सय ३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार एक सय ४० र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन् । ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँच जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ । यस वर्षको परीक्षामा ६ हजार नौ सय ७६ अर्थात् १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जिपिए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने चार हजार एक सय ७९ अर्थात् १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यस वर्ष दुई हजार सात सय ९७ अर्थात् ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जिपिए ल्याएका हुन् । यस वर्ष परीक्षा दिएका नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये ६ हजार नौ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३८ हजार नौ सय ९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए, ६९ हजार एक सय ७४ विद्यार्थीले २.८१ देखि ३.२० जिपिए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार चार सय ३८ विद्यार्थीले २.१ देखि २।४० जिपिए र ४७ जना विद्यार्थीले १.६१ देखि २ जिपिए ल्याएका छन् । ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । गत वर्ष एक लाख ८८ हजार चार सय १० जना अर्थात् ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुत्तीर्ण) ल्याएका थिए भने यस वर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गत वर्षभन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उनले जानकारी दिए । अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर बाेर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ । सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ । रासस
कक्षा १२ को नतिजा : ३ दशमलब ६१ देखि ४ जिपिए ल्याउने ६ हजार ९७६ जना
काठमाडौं । कक्षा १२ को नतिजामा ६ हजार ९७६ जना विद्यार्थीले ३ दशमलब ६१ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी मध्ये ६ हजार ९७६ जना विद्यार्थीले सो जिपिए ल्याएका हुन् । त्यस्तै, ३८ हजार ९९९ जना विद्यार्थीले ३ दशमलब २१ देखि ३ दशमलब ६०, ६९ हजार एकसय ७४ जना विद्यार्थीले २ दशमलब ८१ देखि ३ दशमलब २० र ६३ हजार ७७ जना विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जिपिए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार ११ हजार चार सय ३८ जना विद्यार्थीले २ दशमलब ०१ देखि २ दशमलब ४० र ४७ जना विद्यार्थीले १ दशमलब ६१ देखि २ जिपिए ल्याएका छन् । एक लाख ८२ हजार नौ सय २६ जना विद्यार्थी भने कम अंक प्राप्त गरेका कारण नन ग्रेडिङमा परेका छन् । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको नतिजामा सुधार आएको बोर्डले प्रकाशित गरेको नतिजाले देखाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा