तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो । अढतीस दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी सङ्गठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले नियुक्ति खारेजीको माग राखेका छन्’, उनले भने, ‘विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो । विद्यार्थी सङ्गठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदासमेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए । ‘विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्छ’, उनले भने, ‘माग पूरा नभएसम्म ताल खुल्दैन ।’ एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए । ‘विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएका छन्’, उनले भने, ‘विश्वविद्यालयले गरेका अवैध नियुक्ति खारेज हुनुपर्छ ।’ विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डाले विशवविद्यालय धरासायी हुँदै गएको छ । विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट समाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्त बताउँछन् । ‘राजनीतिले हाम्रा संस्थालाई दुस्प्रभावित गर्दै आएको छ’, उनले भने, ‘विश्वविद्यालयमा प्राध्यापक कर्मचारीको राजनीतिक संलग्नताले पनि विवाद हुने गरेको छ । उच्च शिक्षाको पहुँचबाट लामो समय वञ्चित रहेको सुदूरपश्चिममा स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना गर्यो । विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भए पनि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र अन्य कर्मचारी नियुक्तिमा हुने राजनीतिक भागबन्डाले विश्वविद्यालयको साख खस्किँदै गएको छ । रासस
आईटीका विद्यार्थी भन्छन् : एप इन्स्टल गर्दा हत्तपत्त अलाउ नगर्नुस्, ह्याक हुन सक्छ
काठमाडौं । इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३ ’ नामक दूरदर्शी तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेकको छ । कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न उक्त कार्यक्रम आयोजना गरेको हो । कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको उक्त प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए । कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्ट जस्ता मनमोहक बुथहरू राखिएको थियो, जसले प्राविधिक विकासलाई देखाउँदछ । लाइभ डेमोमा ३० औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र यस्तै अन्य समावेश थिए । टेक्नोलोजीमा मात्र केन्द्रित नभएको उक्त कार्यक्रमले प्रविधि र दिगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको थियो । स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न प्रोत्साहन गरेको उक्त कार्यक्रमले सहभागीहरूलाई उद्यमशीलता र आईटीको क्षेत्रमा उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको छ । आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्ने गर्छन् । त्यो एपले एक्सेस मागेका (पहुँच बनाउन खोजेका) सबै कुरामा भकाभक अलाउ’ थिच्ने । त्यसैमध्येका एक हुन् आर्यन राई । कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि भने हतारहतार अलाउ थिच्नु गल्ती हुने बुझेका छन् । ‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ । जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’ आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिवद्धता प्रदर्शन गरेको छ ।
विश्वविद्यालयको पुस्तकालयमा अध्ययन गर्दा विद्यार्थीले वर्षको ११ सय तिर्नुपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क लिने भएपछि विद्यार्थी आक्रोशित भएका छन् । विद्यार्थीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका छन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको छ । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६०० रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ७०० रुपैयाँ, एक वर्ष सदस्यता बन्न १ हजार रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ । विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताए । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए । यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए । उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताए । उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए । यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । उनले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए । केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए ।