लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता हुने
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ । क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ । लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ ।
दरबार हाइस्कूलले शुरु गर्यो ‘रोवोटिक्स कोडिङ’ कक्षा
काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिए । उनका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीको गहिरो चाख देखिन्थ्यो । उनीहरू विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट पारेका थिए । यी कक्षाहरू कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गत सञ्चालन भएका हुन् । डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले ‘डिजिटल एन्ड वियोण्ड’सँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रममा लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी छन् । क्लबका विद्यार्थीले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् । कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गग शुक्रबार सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्रस्तरमा ‘डेङ्गी’ शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कामपाले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।
नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो
काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो । सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाडौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सय १० जना विद्यार्थीहरू अध्ययनरत छन् । फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि।एस।सी। आइटिको अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा÷व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासङ्घका अध्यक्ष रणजित कुमार पोदारले बताए । क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले बताए ।