आईएनजी स्किल एकेडेमीले गर्यो ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम
चितवन । आईएनजी स्किल एकेडेमीले ‘फ्युचरामा’ नामक प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । आईएनजी स्किल एकेडेमीले भरतपुर, चितवनमा अगस्ट २७ गतेदेखि २८ सम्म ‘फ्युचरामा’ नामक दुई दिने प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य भविष्यको प्रविधि प्रदर्शन गरेर आईटी अर्को पुस्तालाई प्रेरित गर्ने, सशक्तिकरण गर्ने र विकसित आईटी परिदृश्यमा अनुभवहरू, कार्यशालाहरू प्रदान गर्ने संस्थाले जनाएको छ । पयुचरामा आगन्तुकहरूले टेक्नोलोजी र नवीनताको रोमाञ्चक पयूजन अनुभव गर्न पाएका छन् । एआई र रोबोटिक्स, स्मार्ट हाउस, हिड्ने पियानो, ड्रोन र गो कार्ट जस्ता प्रदर्शनीहरूले यी क्षेत्रहरूमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरे । ३० औं शताब्दीको कार रेस लाइन फलोइङ रोबोट, एनिमेसन र भिएफएक्सलगायत प्रत्यक्ष प्रदर्शनहरू पनि प्रमुख आकर्षण थिए । फ्युचरामाले टेक्नोलोजी र दिगो व्यापार बीचको सम्बन्धको अन्वेषण गर्यो । यसले सहभागीहरूलाई स्थानीय रूपमा स्रोतका बिरुवाहरू साइटमा बाँड्न प्रोत्साहित गरेर हरियो र दिगो भविष्यको खेती गर्ने महत्त्वलाई हाइलाइट गर्यो । । यसबाहेक, एक विजयी व्यवसाय सिर्जना गर्ने मनमोहक कुराकानीले उद्यमशीलता र आईटीको संसारलाई एकसाथ ल्यायो, सहभागीहरूलाई उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको संस्थाले जनाएको छ । कार्यक्रममा उपस्थित रहेकी रमा श्रेष्ठले फ्युचरामामा उपस्थित हुँदा प्रविधिप्रतिको आफ्नो धारणा पूर्णरुपमा परिवर्तन भएको बताइन् । उनले भाग लिने अन्तरक्रियात्मक कार्यशालाहरूले आँखा खोलिदिए र उनलाई प्राविधिक उद्योगमा अवस्थित असंख्य सम्भावनाहरू महसुस गराए ।
इन्जिनियरिङको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम
काठमाडाैं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गर्दै आएको छ । बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धिबिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो । विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमूलक आन्दोलन गरेको बताए । उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्क वृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।
विदेशी सम्बन्धन लिएका कलेजमा फेलै हुँदैनन् विद्यार्थी, त्रिविमा भने ४१ प्रतिशत मात्रै उत्तीर्ण
काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् । सामान्यतया नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका निजी शिक्षण संस्थाहरुले मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि जस्ता विषयहरुबाहेक अन्य उपयोगितामुलक (एप्लाइड कोर्ष) र विषयगत कोर्षका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा ८७ वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । ती शिक्षण संस्थामा करीब २६ हजार विद्यार्थी स्नातक तह अध्ययन गर्छन । सम्बन्धित विश्वविद्यालयले लिने परीक्षामा सबै विद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक विश्वविद्याय अनुदान आयोगले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ । कसरी सम्भव छ शतप्रतिशत उत्तीर्ण ? काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा बिएससी, बीबीए, बीएचएम र एमबीए लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीकाअनुसार पढाइ बीचमा छाड्ने विद्यार्थी बाहेक कलेजमा पढ्ने सबै विद्यार्थीले आफ्नो तह उत्तीर्ण गर्ने गर्छन् । वस्तीका अनुसार विद्यार्थी पास वा फेल हुने नेपाली विश्वविद्यालयको जस्तो परीक्षा मोडल सन्डरल्यान्ड विश्वविद्यालयको छैन । ‘नेपालमा मात्रै पास र फेल भन्ने मोडालिटी हुन्छ, हामीकहाँ विद्यार्थी क्वालिफाइड भयो की भएन अथवा उसले अब के प्रोग्रेस गर्नुपर्ने थियो भन्ने हुन्छ अथवा सुधारात्मक सुझाव दिइन्छ’, उनले भने । विद्यार्थीलाई ३/४ तहमा परीक्षण गर्ने गरिएको र त्यस्तो परीक्षण पास वा फेल गराउनको लागि नभई उसलाई थप उत्कृष्ट बनाउनको लागि हुने गरेको वस्तीले बताए । ‘तीन–चार तहमा जाँच हुन्छ, पहिलो तहमा जाँच गर्दा उसले राम्रो गर्न सकेको देखिएन भने उसलाई आवश्यक सुझाव दिइन्छ र उसको सुधार तोकिएका विषय विज्ञले त्यसलाई हेर्छन्, त्यसपछि विश्वविद्यालयले भेरिफिकेसन गर्छ’, उनले भने । विद्यार्थीले पढ्ने विषयहरु अनुसन्धान र योजनामा आधारित हुने भएकाले अनुसन्धान तथा योजना कसरी सफल बनाउने भन्नेमा नै पढाइ र परीक्षा केन्द्रित हुने भएकाले विद्यार्थी फेल नहुने तर, तुलनात्मक रुपमा कम र बढी अब्बल भने हुने उनले बताए । त्यस्तै, काठमाडौं कमलपोखरी स्थित आइआइएमएस कलेजले मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिएस, बिएचएम र बीबीए लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका एकेडेमिक डाइरेक्टर बृहत बोस्वाका अनुसार बीचैमा पढाइ छाडेका बाहेक अरु सबै विद्यार्थी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुन्छन् । ‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी सेमेस्टरअनुसार हेर्दा ९० प्रतिशत भन्दा धेरै उत्तीर्ण हुँदै जान्छन्, अनि फाइनल सेमेस्टरमा पुगेपछि फेल हुने भन्ने नै हुँदैन’ बोस्वाले भने । नेपाली विश्वविद्यालयमा भने भर्ना भएका सबै विद्यार्थी एकै पटक परीक्षामा उत्तीर्ण भने हुँदैनन् । नेपालमा अहिले संघीय र प्रदेश सरकारको पहलमा खुलेका १६ वटा विश्वविद्यालय छन् भने अझै केही विश्वविद्यालय सञ्चालनको प्रक्रियामा छन् । आर्थिक सर्वेक्षण अनुसार २०७९ असार मसान्तसम्म नेपालका ११ वटा विश्वविद्यालयमा ६ लाख ८७ हजार विद्यार्थीले अध्ययन गर्थें । अन्य प्रारम्भिक रुपमा सञ्चालनमा आएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या जोड्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या झण्डै सात लाख पुगेको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको अध्ययन पश्चात त्रिभुवन विश्वविद्यालयको ४१ प्रतिशत, पोखरा विश्वविद्यालयमा ६९ प्रतिशत, सूदूरपश्चिम विश्वविद्यालयमा ८२ प्रतिशत, लुम्बिनी बुद्ध विश्वविद्यालयमा ५१.९८ प्रतिशत, मध्य पश्चिम विश्वविद्यालयमा ३९.४८ प्रतिशत र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।