१४ व्यक्ति तथा संस्थाले पाए आईसीटी अवार्ड, सातै प्रदेशका उत्कृष्ट स्टार्टअप सम्मानित

काठमाडौं । आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ सम्पन्न भएको छ । दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रियापश्चात शुक्रबार राजधानीमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै समापन भएको हो । अवार्डको सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ती बोल्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् । ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाश शरण महत, कर्णाली प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसी, सांसदहरू चन्द्र भण्डारी, मनिष झा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागका उच्च अधिकारी, विभिन्न कम्पनीका संस्थापक तथा सीईओ लगायत स्वदेश तथा विदेशबाट आईसीटी क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो । लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सहभागी सबैलाई स्वागत गर्दै प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी गर्दै आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् ।  अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ । ‘अन्य उद्योगधन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धासँग गर्न गार्‍हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ,’ मन्त्री शर्माले भनिन्, ‘आईसीटी क्षेत्रको विकासका लागि सामान्य सुधारले मात्रै पुग्दैन, डिपार्चर नै चाहिन्छ । यसका लागि कानुनी र संरचनागत सुधार गर्न मन्त्रालयले काम गरिरहेको छ ।’ यस्तै अर्थमन्त्री प्रकाश शरण महतले नेपालको अर्थतन्त्र ड्राइभ गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएको बताए । डिजिटल युगमा प्रविधिले अवसर र चुनौती दुवै थपेको अवगत गराउँदै उनले सूचना प्रविधिलाई प्रडक्टिभिटी बढाउन, लागत कम गर्न र उद्यम शीलता विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । यस वर्ष आइसिटी अवार्ड २०२३ अन्तर्गत व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धर प्राप्त गरेका छन् भने आन्टरप्रेनर आइसिटी अवार्ड अवार्ड २०२३ अनुप शेरचनले जितेका छन् । त्यसैगरी पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् । यस्तै संस्थागततर्फ डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ । यस वर्ष स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेक, प्रडक्ट आइसिटी अवार्ड २०२३ क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ । यसैगरी यस वर्षको हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ मनिमित्रले प्राप्त गरेको छ । साथै आईसीटी अवार्डको अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड २०२३ भुटानको स्टार्टअप समूह मिडियाटेकले पाउन सफल भएको छ । यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो । यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् । यस्तै अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो । आइसिटी अवार्ड २०२३ मा विभिन्न १३ विधामा ७०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ३ महिनासम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए । यी हुन् आइसिटी अवार्ड २०२३ का विजेताहरू  स्टार्टअप आइसिटी अवार्ड:  यार्सा टेक प्रालि प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): अध्ययन स्कुल, काठमाडौं डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी आन्टरप्रेनर आइसिटी अवार्ड:   अनुप शेरचन नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: भुटानको समूह मिडियाटेक सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) :  ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस

गुरुकुल शिक्षामा बढ्दो आकर्षण, धामले व्यहोर्छ सबै खर्च

झापा । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी) अध्ययन गर्दै आएका छन् । गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘पिताजी मेघालयको कोइलाखादमा काम गर्न जानुभएको छ’, गुरुकुलको कक्षा ४ मा पढिरहेका मिश्र भन्छन्, ‘माताजी हाजिरा गरेर कमाउनुहुन्छ । आफ्नो खेतबारी केही छैन । नेपालको अर्जुनधारा धाममा राम्रो संस्कृत पढाइ हुन्छ भन्ने सुनेर घर सल्लाहमै यहाँ आएको हुँ ।’ उनले आसामको रङ्गियाबाटै एसईई समकक्षताको औपचारिक शिक्षा पूरा गरिसकेर संस्कृत पढ्ने तीब्र चाहनाका कारण नेपाल आएको बताए । भविष्यमा बनारस वा वृन्दाबन गएर आचार्य तहको पढाइ पूरा गरेर धर्म, संस्कृति र समाजको सेवा गर्ने उनले आफ्नो लक्ष्य सुनाए । विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो । धरानको पिण्डेश्वरलगायतका केही नेपाली संस्कृत विद्यालयले मात्र संस्कृत पढ्न चाहनेको लहर धान्दैनथ्यो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराण लगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् । २०४० तिर आचार्य पुष्पलाल निरौलाले अर्जुनधारा धाममा गुरुकुलको स्थापना गरेका थिए । निरौलाले प्राचार्यका रुपमा आजीवन सेवा गरेका यस गुरुकुल संस्कृत पढ्न चाहनेका लागि झापाकै उत्कृष्ट गन्तव्यका रुपमा परिचित रहेको अर्जुनधारा जलेश्वर धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन् । सरकारले कक्षा ५ सम्म अनुमति दिएको यो गुरुकुलमा अध्ययनका लागि वर्षेनी सयौं इच्छुकहरु टाढादेखि आउने गर्छन् । तर, सीमित स्रोत र साधन भएकाले ४५ जनालाई मात्र पठनपाठन गराउन सकिएको जोशीले बताए । पढ्छौँ भन्दै आउने अरुलाई जिल्लाको अन्यत्र गुरुकुलमा सम्पर्क गराएर पठाउने गरिएको उनले जानकारी दिए । ‘केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको छ,’ उनी भन्छन्, ‘हामीसँग भएजति भवन, कक्षाकोठा र सुविधाले पढ्न इच्छुक सबै नयाँ विद्यार्थीलाई धान्न सक्दैन । जिल्लामा रहेका अरु गुरुकुलमा पठाउन बाध्य छौं ।’ झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट मात्र नभएर ताप्लेजुङ, जनकपुर र वीरगञ्जदेखि बटुकहरु अध्ययनका लागि अर्जुनधारा आएका छन् । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले विपन्न समुदायका अभिभावकहरुको रोजाइ गुरुकुल हुने गरेको छ । संस्कृत भाषा र हिन्दू धर्मप्रति बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल पुग्ने गरेको पाइएको छ । कक्षा ४ मा अध्ययन गरिरहेका १४ वर्षीय सक्रिश निरौलाको घर मोरङको बेलबारी हो । उनका बुवा वैदेशिक रोजगारीमा  गएका छन् । सानैदेखि धर्म, संस्कार र संस्कृत भाषाप्रति रुचि राखेको देखेर सक्रिशलाई आमाबुबाले नै अर्जुनधारा संस्कृत बेद विद्यापीठमा भर्ना गरिदिएका हुन् । उनी अहिले यस गुरुकुलका मेधावी बटुकमा गनिन्छन् । ‘सानैदेखि संस्कृत भाषाका मन्त्रहरु उच्चारण गर्न चाख लाग्थ्यो,’ बटुक सक्रिश निरौलाले भने । भविष्यमा आचार्य (संस्कृत भाषामा स्नातकोत्तर तह) उत्तीर्ण भएर गुरुकुलको प्राचार्य बन्ने उनको सपना छ । व्यासासनमा बसेर पुराण सुनाउने पनि उनको रहर छ । जगद्गुरुले पढेको गुरुकुल अर्जुनधारा संस्कृत वेद विद्यापीठ नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन गरेको गुरुकुल हो । उनले संस्कृतको प्रारम्भिक शिक्षा यही गुरुकुलमा बसेर लिएको धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन् । झापाको हडिया बुधवारेमा २०३३ सालमा जन्मिएका देवाचार्य आठ वर्षको उमेरमा अर्जुनधारा गुरुकुलमा अध्ययनका लागि आउनु भएको र तीन वर्षपछि वृन्दाबन गएको जोशीले जानकारी दिए । देवाचार्य हाल सुनसरीको प्राचीन हरिद्वारको रुपमा कहलिएको चतराधाममा स्थायी रुपमा बस्छन् । यस गुरुकुलबाट दीक्षित भएकाहरु थुप्रै संख्यामा विद्यावारिधि उपाधिप्राप्त र महत्त्वपूर्ण ओहोदामा पुगिसकेका छन् । यही गुरुकुलबाट दीक्षित आचार्य कुबेर निरौला हाल अर्जुनधारा जलेश्वर धामको व्यासाचार्य छन् । हालै बालाचतुर्दशी पर्वको विशेष अनुष्ठानमा भारतको हरिद्वारबाट आएको पतञ्जलि योगका प्रख्यात गुरु आचार्य बालकृष्णले समेत अर्जुनधारा गुरुकुलको अवलोकन गरेका थिए ।   गुरुकुल सञ्चालनको सम्पूर्ण खर्च अर्जुनधारा जलेश्वर धाम समितिले व्यहोर्दै आएको छ । धामका स्वर्गीय व्यासाचार्य पुष्पलाल निरौलाले ४० वर्षअघि गुरुकुल सुरु गर्दा मुठ्ठीदान नै सञ्चालनको मुख्य स्रोत थियो । बटुकहरुलाई लिएर प्राचार्य निरौला आफैँ धाम वरिपरिका गाउँमा मुठ्ठीदान सङ्कलन गर्न हिँड्थे । मुठ्ठीदानबाट चामल सङ्कलन हुन्थ्यो भने केही दाताहरुले नगद पनि सहयोग गर्थे । दयनीय अवस्थाबाट सुरु गरिएको यस गुरुकुलमा हाल सुविधाहरु मनग्ये थपिएका छन् । धाम समितिले वर्षेनी १५ लाखसम्म बजेट दिएका कारण गुरुकुल सञ्चालन सहज हुने गरेको गुरुकुलका प्राचार्य हेमन्त भण्डारी बताउँछन् । अहिले गुरुकुलका लागि तीन तलाको भब्य पक्की भवन धामले निर्माण गरिदिएको छ । पाँच जना शिक्षक कार्यरत छन् । संस्कृत, कर्मकाण्ड, रुद्री, चण्डी, बेदबाहेक नेपाली, अङ्ग्रेजी, गणितलगायतका विषयका पाठ्यपुस्तकहरु पनि पठनपाठन हुने गरेको छ । कम्प्युटर पढाउने योजना समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले धाम सञ्चालन समितिले गुरुकुललाई थप सुविधासम्पन्न भवनमा सार्ने र कम्प्युटर शिक्षासमेत प्रदान गर्ने योजना अघि सारेको छ । धाम समितिका कोषाध्यक्ष जोशीका अनुसार पुस्तकालय स्थापना अन्तिम चरणमा पुगेको छ । सोही पुस्तकालयमा एक दर्जन कम्प्युटर राखेर सिकाउने धामको तयारी छ । धामको गुरुयोजनामा गुरुकुललाई सुविधासम्पन्न बनाउने उल्लेख रहेको र दाताहरुको सहयोगमा उक्त लक्ष्य पूरा गरिने उनले बताए । परम्परागतरुपमा सञ्चालन भइरहेका गुरुकुलहरुलाई आधुनिक शिक्षाको स्वरुपमा ढाल्नुपर्ने र राज्यबाट सहयोग पुर्‍याइनुपर्ने आवाज उठ्न थालेको छ । तर, गुरुकुलका शिक्षकहरु भने आधुनिक शिक्षामा लैजाने नाममा गुरुकुलीय शिक्षा पद्धति मास्न नहुने बताउँछन् । सरकारले धार्मिक विद्यालयका रुपमा मान्यता प्रदान गर्दै गुरुकुलमा कक्षा ४ तहको औपचारिक अध्ययनको अनुमति प्रदान गर्दै आएको छ । यस गुरुकुलमा सरकारले एकमुष्ठ रु दुई लाख शैक्षिक अनुदान उपलब्ध गराउँदै आएको छ । यस्तो अनुदान झापाका संस्कृत, गुम्बा र मदरसा विद्यालयहरुले पनि पाउँदै आएका छन् । महर्षि फाउण्डेसनको भरथेग झापामा २२ वटा गुरुकुल सञ्चालनमा छन् । ती सबै मठमन्दिरमा सङ्कलन हुने दान दक्षिणामा निर्भर हुँदै आएका छन् । आफ्नै स्रोत र साधन भएका गुरुकुल नगण्य छन् । गुरुकुल विद्यालयका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन दर्बिलो दाता बनेको छ । देशभरबाट छानिएका गुरुकुलहरुले फाउण्डेसनबाट आर्थिक सहयोग पाउँदै आएका छन् । “हरेक गुरुकुलमा कम्तीमा दुई जना शिक्षक कार्यरत हुनुहुन्छ,” मेचीनगर–१५ ज्यामिगरगढीस्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल भन्छन्, “एउटा शिक्षकको सम्पूर्ण पारिश्रमिक फाउण्डेसनले व्यहोर्दै आएको छ ।” फाउण्डेसनले दैनिकरुपमा रुद्राभिषेक गराउँदै आएको छ । रुद्राभिषेक गराउन फाउण्डेसनले ध्यान गुरु नियुक्त गरेर मासिक पारिश्रमिक दिने गरेको अर्जुनधारा संस्कृत बेद विद्यापीठका ध्यान गुरु चिरञ्जीवी ढुङ्गानाले बताए । फाउण्डेसनकै सहयोगका कारण गुरुकुलका विद्यार्थीले नियमितरुपमा दैनिक २० मिनट भावातीत विधिको ध्यान र योग सिकिरहेको उनले जानकारी दिए । गुरुकुलमा विद्यार्थीले हरेक बिहान ४ः३० बजे उठ्ने र राति ९ बजे गीता पाठ अनिवार्यरुपमा गर्नुपर्दछ । सन्ध्या पूजामा ५ बजे पुगिसक्नु पर्दछ । रासस

दर्जन विश्वविद्यालयको भीडमा नेपाल विश्वविद्यालय नै किन ?

काठमाडौं । संसदमा नेपाल विश्वविद्यालयको औचित्यको विषयमा प्रश्न उठेको छ । सांसदहरूले नेपालमा पर्याप्त विश्वविद्यालय स्थापना भइसकेको अवस्थामा फेरि नेपाल विश्वविद्यालय किन भनेर समितिमा प्रश्न गरेका हुन् । पूर्व शिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेलले भएका विश्वविद्यालयहरूमाथि उठेका प्रश्नहरूको जवाफ नेपाल विश्वविद्यालय निर्माणका पक्षधरहरूसँग गरे । उनले पछिल्लो समयमा विद्यार्थीहरूको आकर्षण काम पाइने शिक्षातर्फ देखिएको भन्दै नेपाल विश्वविद्यालयको प्रस्तावमा भने पुरानै प्रकारको विषय देखिएको तर्क गरे । ‘यो विश्वविद्यालयले अरू चलेका विश्वविद्यालयमाथि उठेका प्रश्नहरूको जवाफ दिएर अगाडि बढेमा मात्रै ठिक छ’, उनले भने, ‘अहिले भन्दा फरक प्रकृतिको काम गर्ने हो भने सहि छ ।’ उच्च शिक्षालाई विशिष्टिकृत गर्न जरुरी भएको समेत उनको भनाइ थियो । सांसद चन्द्रकान्त भण्डारीले विश्वविद्यालय खोल्ने कुरा राम्रो भएपनि सञ्चालन गर्नका लागि राम्रो टिम चाहिने भन्दै प्रस्तावहरुसँग प्रश्न गरेका छन् । नेपाल शिक्षा र स्वास्थ्यमा हब बन्न सक्ने हुँदाहुँदै पनि समस्या देखिएको भन्दै उनले प्रस्तावकहरुलाई लक्ष्य निर्धारण गर्न सुझाएका छन् । सांसद डा भण्डारीले नेपालको शिक्षा क्षेत्रमा रिफर्म गर्ने समय आएपनि धेरै विषयमा विश्वविद्यालयका प्रस्तावहरु स्पष्ट हुन जरुरी भएको बताए । अहिलेसम्मको अनुभवको आधारमा राम्रो नदेखिएको उनको भनाइ छ । समितिको बैठकमा बोल्दै सांसद विद्या भट्टराईले इमोसनबाट विश्वविद्यालय स्थापना गर्न खोजिएको हो की भिन्न भ्यालु छ भनेर प्रश्न गर्दै विश्वविद्यालय सम्बन्धी देखिएको प्रस्तावमा आधारहरु पर्याप्तता नभएको बताइन । अहिलेका विश्वविद्यालयहरुमा नेपोटिजमको समस्या देखिएको भन्दै उनले नेपाल विश्वविद्यालय मेरिटोक्रेसीमा जाने आधारको समेत माग गरिन । ‘इमोसनबाट विश्वविद्यालय निर्माण गर्ने की भ्यालु के हो ?, तपाईंहरुको प्रस्तावमा पर्याप्तता छैन’, फेरि अर्को सन्दर्भमा उनले भनिन्, ‘नेपोटिजमबाट मेरिटोक्रेसीमा जाने आधार के छ ?’ अर्की सांसद सुमना श्रेष्ठले शिक्षा मन्त्रीले भइरहेका विश्वविद्यालयहरुको अवस्था सुधार गर्नतर्फ भन्दापनि नयाँ विश्वविद्यालय स्थापना गर्नतर्फ शिक्षा मन्त्री खटिएको विषयमा बैठकमा प्रश्न गरिन । उनले नयाँ विश्वविद्यालय स्थापना गर्ने विषयमा मन्त्रीले गरेको समय खर्च विश्वविद्यालयमा दिएको भए समस्याको समाधान हुने समेत तर्क प्रस्तुत गरेकी थिइन । नेपाल विश्वविद्यालयको आर्थिक व्यवस्थापनको पाटो सरकार देखि दाता र शुल्कमा समेत आधारित रहने प्रकारको मिश्रित ढंगले हुने व्यवस्था प्रस्ताव गरिएकोमा सांसद श्रेष्ठले त्यसको स्पष्टताबारे प्रश्न गरेकी थिइन । ‘तपाईंहरुको फाइनान्सियल प्रोजेक्सन के हो ? बिजनेस प्लान के छ ? डिफिनेसन अफ सक्सेस के हो ?’ भन्दै सांसद श्रेष्ठले बैठकमा सहभागी विश्वविद्यालय निर्माण समितिका पदाधिकारीहरुलाई प्रश्न गरेकी थिइन् । सांसद दीपा शर्माले भएका विश्वविद्यालय सुधार गर्नेतर्फ सरकारको तर्फबाट कहिल्यै छलफल नगरेको भन्दै उस्तै प्रकारका थप विश्वविद्यालय नचाहिने धारणा व्यक्त गरिन् । बैठकमा बोल्ने अन्य सांसदहरुले पनि विश्वविद्यालयको फरक विशेषताको विषयमा चासो व्यक्त गरेका थिए । फरक हुने दाबी नेपाल विश्वविद्यालयको विषयमा संसदको समितिमा प्रस्तुती राख्ने र सांसदहरुको प्रश्नको जवाफ दिँदै निर्माण समितिका पदाधिकारीहरुले विश्वविद्यालय अन्य विश्वविद्यालय भन्दा फरक हुने बताए । बैठकमा प्रस्तुती राख्दै डा. सुर्यराज आचार्यले नेपाल विश्वविद्यालय गुणस्तरको सम्बन्धमा सम्झौताहिन ढंगले सञ्चालन हुने, शासकीय स्वायत्तता हुने, आवासीय प्रकृतिको हुने, अन्य कलेजहरुलाई सम्बन्धन प्रदान नगर्ने, पठनपाठन र सञ्चालनमा अन्तर्राष्ट्रिय सहकार्यको अभ्यास गर्ने, लिबरल आर्टस र साइन्समा आधारित हुने, शिक्षाको उत्कृष्ट केन्द्रको रुपमा ब्राण्डिङ गर्ने लगायतका विशेषता विश्वविद्यालयको हुने बताएका थिए । नेपाल विश्वविद्यालय निर्माण समितिका अध्यक्ष डा. अर्जुन कार्कीले नेपालको भू-राजनीतिमा मुलुक शिक्षा क्षेत्रमा नयाँ ढंगले अगाडि बढ्न आवश्यक रहेको बताए । उनले सरकारले २०३० सम्म उच्च शिक्षामा २५ प्रतिशत नागरिकको पहुँच पुर्याउने विषयमा सरकारले लिएको लक्ष्य पुरा गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्ने बताएका थिए । त्यस्तै, डा. विपिन अधिकारीले अहिलेका विश्वविद्यालय सुधार गर्न करिब असम्भव प्राय देखिएकोले नयाँ अवधारणासहितको नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक देखिएको तर्क प्रस्तुत गरेका थिए । ‘सुधारको कुरा गर्यो भने विश्वविद्यालयमा ताला लाग्छ, युनिभर्सिटीमा भएका मान्छे र सडकमा भएका मान्छे बीचमा फरकपन कम हुँदै गएको छ, भएका विश्वविद्यालय सुधार गर्न सम्भव छैन’ डा. अधिकारीको भनाइ थियो । समितिमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले आवश्यकता भएर नै विश्वविद्यालय स्थापना गर्न लागिएको तर्क गरे । राष्ट्रिय सभाबाट पास भइसकेको नेपाल विश्वविद्यालय स्थापना गर्नका लागि बनेको विधेयकको समितिमा छलफल भएर पारित भइसकेपछि प्रतिनिधिसभामा निर्णायक रुपमा प्रस्तुत हुन्छ ।