विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री दुलालले बताए । स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ ।
प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच साझेदारीको सम्झौता
काठमाडौं । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणमा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर रकाठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताबाट दुवै पक्षबीच एकापसमा रहेको ज्ञान र अनुभवका साथै विज्ञताको आदान–प्रदान र शैक्षिक कार्यक्रम विस्तारमा सहयोग पुग्ने बताए । उपकुलपति थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत चिकित्सा शिक्षामा हातेमालो गर्दै विश्वविद्यालयले स्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न
पोखरा । इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२३ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएका थिए । कलेजले सोमबार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १७ जना र बिएससि (अर्नस) कम्प्युटिब तह पुरा गर्ने १०५ जना विद्यार्थी गरी जम्मा १२२ जना विद्यार्थी दीक्षित भएका थिए । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए । यी छात्रवृत्ति विद्याथीहरूको उल्लेखनीय उपलब्धिहरू र भविष्यको सफलताको लागि अपार सम्भावनाको प्रमाण हो। समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले भने– ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।’ यसलाइ निरन्तर दिदैँ भने, ‘ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ ।’ आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।