पिपल्स क्याम्पस : जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म
काठमाडौं । ‘कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो । अहिले त्यसमा आमूल परिवर्तन भएको छ’, समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्, ‘स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेप्नुपरेको छ । अहिले स्रोत साधन उपलब्ध भएको छ, अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिएका छौँ ।’ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ । विसं २०३८ मा युवक माध्यमिक विद्यालयको जस्ताको छानाबाट सुरु भएको सो क्याम्पस हाल अत्याधुनिक र सुविधासम्पन्न दुई भवनबाट सञ्चालित छ । क्याम्पसले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२, स्नातक तहमा बीए, बिबीए, बिबीएस र स्नातकोत्तर तहमा एमबीएस कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बताए । ‘मुनाफारहित यस क्याम्पसले निरन्तररूपमा गुणस्तरीय शिक्षा दिँदै आएको छ । यस छविलाई कायम राख्नेमा हामी विश्वस्त छौँ’, प्रमुख कुँवरले भने । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा एक हजार तीन सय १० विद्यार्थी र ९९ शिक्षक कर्मचारी छन् । स्थापना दिवसका अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नेपालका विश्वविद्यालय र क्याम्पसहरूले गुणस्तरीय उच्च शिक्षा दिन सक्छन् भन्ने आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिँदै पिपल्स क्याम्पस एक सफल र उदाहरणीय शैक्षिक संस्था बनेको बताए। सङ्घीय सांसद गणेश पराजुलीले आफूले सानो छँदा भर्ना गर्ने क्षमता नहुँदा लुकेर पिपल्स क्याम्पसमा पढ्न गएको स्मरण गर्दै आजका युवा र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनै समस्या भोग्नु नपरोस् भनेर आफूहरूले नीति र कानुन निर्माण काम गरिरहेको बताए । क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिकरूपमा छलफल गरेर समाधान खोज्ने गरिएको जनाए । क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति रञ्जित भण्डारीले सो क्याम्पसले आम विद्यार्थीका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षा दिँदै आएको बताए । रासस
आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता
काठमाडौं । आइएमई पे र एजुकेशन पार्कबीच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । पुस ६ गतेबाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।
नेपालका प्राध्यापकहरूमा विश्वविद्यालय चलाउन सक्ने खुबी देखिएन कि विश्वास गरिएन ?
यो देशमा सरकारी विद्यालयहरूको अवस्था नाजुक छ, माध्यमिक विद्यालय, प्राविधिक तथा भोकेशनल शिक्षा पढाउने गुणस्तरीय संस्थाहरूको आवश्यकता छ । नयाँ विश्वविद्यालयको आवश्यकता छैन । तर, किन दिनदिनै नयाँ नयाँ विश्वविद्यालय स्थापनाको तयारी गर्दैछ सरकार ? बेरोजगार उत्पादन गर्ने विश्वविद्यायलको संख्या बढाउने हैन, देशलाई चाहिने प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन गरी विदेशी जनशक्तिमा विस्थापित गर्नुपर्ने आवश्यकता छ । विश्वविद्यालयको सिनेट संरचना र पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया र नीजहरूको योग्यतामा संशोधन गर्नु आवश्यक छ । विश्वका जुनसुकै देशबाट नेपालका विश्वविद्यालयको लागि उपकुलपतिमा निवदेन दिन पाउने व्यवस्था गर्ने भन्ने सुनियो । के नेपालमा बसेका प्राध्यापकहरूमा विश्वविद्यालय चलाउन सक्ने खुबी देखेनौं वा उनीहरूमाथि विश्वास भएन ? के यी प्राध्यापकहरू तिम्रा भक्तिगान गाउने, ताली ठोक्ने, आन्दोलनमा ब्यानर बोक्ने काममा मात्रै फिट हुन् ? जुन देशले आफ्नो देशको जनशक्तिलाई निर्यात गर्ने मालको रूपमा लिन्छ लाजै नमानी वैदेशिक रोजगारीको सम्भावनाको ढोका खोल्नेजस्ता नारा उकेल्छ, त्यो देशको छिट्टै विघटन हुँदैछ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । राज्यसंयन्त्रले योजनाबद्ध ढंगबाट संरचानाहरू बनाइ बनाइ देशका नागरिकलाई बाहिर जान प्रोत्साहन गर्नु भनेको गम्भीर अपराध हो । असली नेताहरू तयारी माल निर्यात गर्दछन्, प्रविधि र सेवा निर्यात गर्दछन् । खलनायकहरू नागरिक, कच्चापदार्थ, बिजुली, निर्यात गर्दछन् । जुन देशमा मोटर त के मोटरमा फिट गर्ने दश रुपैयाँको किलो उत्पादन गर्न सक्दैन उही देशमा खराबौंको मोटर आयात हुन्छ । जुन देशमा ५७ प्रतिशत जमिन बाँझो राखेर खरबौंको अनाज र फलफुल तरकारी आयात गरिन्छ । कृषिको कुनै योजना छैन, भूमि प्रयोगसम्बन्धी कुनै नीति छैन । विगत ३०/४० वर्षमा धनी राष्ट्रहरूको सूचीमा पर्न सफल केही देशहरूको विकासको मोडेललाई हेर्दा हुन्छ देश त्यसै समृद्ध हुँदैन, सो को लागि सबै नागरिकले १२ देखि १८ घण्टा पसिना बगाउनु पर्दछ । देशमा सुशासन नामको कुनै चरो बाँकी छैन, उच्चस्तरीय नियुक्तिदेखि सामान्य नियुक्ति सबै नेताका पकेटबाट हुने गरेका छन् भने इमान्दर र सक्षम मान्छेले अवसर पाउने कुनै गुन्जायस छैन । प्रविधिको जमानामा घरबाटै हुने कामको लागि दिनभरि लाइन बस्नु पर्दछ । हरेक कामको लागि घुस नदिई, चिने जानेको मानिस नभई काम हुँदैन । अराजकता पराकाष्ठमा पुगेको छ । वित्तीय संस्था, बैंक, सहकारी, इन्स्योरेन्स जताततै वित्तीय अनुशासनमा ह्रास आएको छ । उपभोक्ताहरूबाट अत्याधिक सेवा शूल्क असुल्ने, सेवा सुविधा नदिने र कर्पोरेट मूनाफा बढाउने होडमा छन् । वित्तीय पहुँच नपुगेको कारण सत्रौं शताब्दीको मिटर ब्याजको आतंकले आम नागरिक पिसिएका छन् । आम जनताको हालत ओखलमा कुटेको गुन्द्रुकजस्तो भइसकेको छ । उपसंहारः देश हामीले नै बनाउने हो, नेतृत्व इमान्दर हुनुको विकल्प छैन । (पोखरा विश्व विद्यालयलयका उपप्राध्यापक तथा बीमा विज्ञ समेत रहेका डा. घिमिरेले सामाजिक सञ्चालमा व्यक्त गरेका विचार)