गोल्ड मेडलिस्ट मानुषी, ‘मलाई आफ्नै नामले चिनिनु छ’
काठमाडौं । हरेक व्यक्तिको आफ्नै परिचय हुन्छ । उसलाई आफ्नै नामले चिनिन मन लाग्छ, न कि अरुको नामले । तर, बिडम्बना उनलाई उनीभन्दा पनि बा आमाको नामले बढी चिन्छन् । राम्रो काम गर्दा होस् या नराम्रो फलानाको छोरी भनेर नाम जोडिँदा आफ्नो परिचय हराएको भान हुन्छ उनलाई । यतिसम्मकी कुनै काम गर्दा वा कुनै क्षेत्रमा लाग्दा पनि बाले लगाइदिएको त हो नि भन्ने खालको कुरा सुन्नुपर्छ । यस्तो कुराले आफ्नो निर्णय र क्षमतामाथि नै प्रश्न उठ्ने गरेको उनी बताउँछिन् । भन्छिन् ,‘म हरेक कुरामा सक्षम छु, मेरो आफ्नै क्षमता पनि छ । तर, यहाँ मेरो न क्षमता हेरिन्छ न योग्यता’, विकासन्युजसँग उनले दुखेसो पोखिन् । यही कुरा आफूलाई चित्त नबुझेको गुनासो गर्छिन् मानुषीयामी भट्टराई । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसीला यमीकी छोरी हुन् मानुषी । उनी विद्यार्थीकालदेखि नेपाली राजनीतिमा सक्रिय छिन् । उनी गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट माओवादी केन्द्रकाे तर्फबाट उम्मेद्वार बनेकी थिइन् । तर, जित भने हात पार्न सकिनन् । अहिले समाजवादी पार्टीमा आबद्ध रहेर काम गरिरहेकी छन् । विकासन्युजसँगको कुराकानीमा मानुषीले नेपालमा आफ्नो स्वतन्त्र परिचय बनाउन गाह्रो भएकाे सुनाइन् । ‘मेरो बाबा ममि शक्तिशाली पोजिशनमा हुनुहुन्थ्यो, हुनुहुन्छ, उहाँको आफ्नै परिचय छ, मलाई उहाँहरूको छोरी भनेर चिनिँदा गर्व महसुस हुन्छ । तर, मेरो पनि आफ्नै क्षमता, चरित्र र चाहना छ,’ उनले भनिन् । उनी आफूलाई सामाजिक र राजनीतिक प्रोफाइल बनाउन गाह्रो भएको बताउँछिन् । ममाथि विश्वास नै गरिँदैन १० वर्षे जनयुद्ध लडेर नेपालमा गणतन्त्र ल्याउन बाबुराम र हिशिलायामीको ठूलो हात छ । राजनीतिमा मात्र होइन, बाबुराम भट्टराई एउटा सफल इन्जिनियर पनि हुन् । मानुषी सानी हुँदा बाआमालाई पढिरहेको देख्थिन्, उनलाई पनि बाआमासँगै पढ्न मन लाग्थ्यो । तर, उनले अरु बालबालिका जस्तै बाआमासँगै दिनचर्या बिताउन पाइनन् । त्यो बेलाको समय परिस्थिति त्यस्तै थियो । बाल्यकालमै कहिले नेपाल कहिले विदेश गर्दै मानुषीको समय बित्यो । उनले बढीजसो बाहिरै देशमा अध्ययन गरिन् । उनका घरमा किताबहरूको संकलन जबरजस्त हुन्थ्यो । विश्वव्यापीरूपमा सबै खालका दार्शनिक, सिद्धान्तहरूको किताब उनको घरमा हुन्थे । जसले गर्दा उनलाई सानैदेखि फराकिलो दृष्टिकोण निर्माण गर्न सक्ने अवसर थियो । यसले उनलाई विश्वलाई हेर्ने दिृष्टकोण बारे थाहा भयो । उनी नेपाल हुँदा कहिलेकाहीँ बाआमासँग गाउँ-गाउँ जाने मेसो मिल्थ्यो । उनलाई गाउँको परिवेश, त्यहाँको शिक्षा, स्वास्थ्य, खानेकुरा फरक देख्दा किन यस्तो हुन्छ भन्ने लाग्थ्यो । ‘मैले लिने हरेक निर्णयमा उहाँहरूकै नाम जोडिन्छ, बाबुराम जहाँ-जहाँ गयो, त्यहाँ आफ्नो छोरी गयो, उसको आफैं निर्णय गर्ने क्षमता छैन भन्ने प्रश्न आउँथ्यो,’ उनी भन्छिन्, ‘नेपाल समाजवादी पार्टीमा आबद्ध हुँदा अझ धेरै प्रश्न खेप्नु परेको छ, मेरो ठाउँमा अरुकोही हुँदा उसले यस्ता प्रश्नको सामना गर्नुपर्दैन । तर, मैले यस्ता चुनौती सामाना गर्नुपर्छ, म आफ्नै विवेकले निर्णय गर्न सक्ने हुँदाहुँदै पनि छोरी भएकै कारण बाउको पछाडि लाग्यो भनेर हेर्ने गरिन्छ ।’ टीयूको राजनीति विद्यार्थी होस् या कुनैपनि संघ संगठनमा पहिले महिलालाई कोषाध्यक्ष बनाउने मात्र चलन थियो । वि.सं. २०६५ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भयो । मानुषीले त्यो निर्वाचनमा सचिवको लागि उम्मेद्वारी दिइन् । त्यहाँपनि उनको बासँगै नाम जोडिएर आयो । त्यो निर्वाचन सम्झँदै उनले भनिन्, ‘म आफैँ सचिवमा उठ्छु भनेर पहिलो पटक छात्राको तर्फबाट उठ्दा पनि मलाई बाबुरामको छोरी भएकै कारण नै सचिवमा उठाउनुपर्ने भन्ने प्रश्न उठे, त्यसको बाबजुत पनि मैले सचिवमा जितेँ ।’ मानुषी आफूले कार्यकर्ताबाटै राजनीति सुरु गरेको भएपनि आफ्नो राजनीतिमा गरेको योगदानलाई कसैले नदेखेको गुनासो गर्छिन् । ‘म नेपालको राजनीतिमा सक्रियरूपमा लागेको २० वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा उठ्दा मेरो २० वर्षको कामलाई हेरिएन, बाकै कारण टिकट पायो भन्ने गरियो, उनी भन्छिन्, ‘कहिलेकाहीँ यस्ता कुराले दिक्क लाग्छ, ममाथि हेर्ने नजर परिवारबादको रूपमा मात्र छ ।’ मानुषीले नेपालभन्दा धेरै विदेशमा पढिन् । उनी सानैदेखि पढाइमा अब्बल थिइन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी गरेकी छन् । उनी आफ्नो पढाइको छनोट देशको समय र परिस्थितिसँग जोडिएको बताउँछिन् । मानुषी पढ्दै गर्दा नेपालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच युद्ध थियो । त्यतिबेला उनलाई इन्जिनियर, डाक्टर बन्न मन लागेन । उनी भन्छन्, ‘त्यो बेला देशमा युद्ध भइरहेको थियो, मलाई यो राजनीतिबारे अझै जान्न मन लाग्यो, मैले अरु विषय लिएर पढ्नुभन्दा राजनीतिकै बारेमा जान्न मन लाग्यो, त्यसैले राजनीतिशास्त्र नै छनोट गरेँ ।’ मानुषी अहिले ३६ वर्षकी भइन् । नेपालमा जनयुद्ध सुरु हुँदा १० वर्षको उमेरमै उनले प्रवासमा समय बिताउनु पर्यो । उनको कलिलो उमेर नेपालभन्दा बाहिर बित्यो । जनयुद्ध हुनुभन्दा अगाडि ७ वर्षको हुँदा उनकी आमा स्नातकोत्तर पढ्न बेलायत गएकी थिइन्, त्यतिबेला उनी पनि त्यहीँ गइन् । ‘जुन उमेरमा मेरो बाल्यकाल गुज्रियो, यसले आज पनि झकझक्याउँछ, समयले जहिले नेताको छोरी भनेर सम्झाइदिएको हुन्छ,’ उनी भन्छिन्, आफू हरेक कुरामा अब्बल हुँदा पनि बाआमाको पथ समाएको भन्ने आरोपहरू ममाथि लाग्छ ।’ मानुसी प्लसटुमा विज्ञान पढ्दा पनि टपर नै थिइन् । स्नातकोत्तरमा पनि उनी राजनीतिशास्त्रबाट गोल्ड मेडलिस्ट नै बनिन् । पदक पाउनका लागि होइन मिहिनेत विद्यार्थी राजनीतिमा गोल्ड मेडल पाउनेहरूको संख्या औंलामा गन्ने पनि हुँदैनन् । तर, त्रिभुवन विश्व विद्यालय राजनीतिसँगै पढाइमा पनि गोल्ड मेडल पाउनेमध्येकी एक विद्यार्थी हुन् मानुषी । उनले आजभन्दा १२ वर्ष पहिले ‘राजनीतिशास्त्र’ विषयमा उत्कृष्ट नम्बर ल्याउँदै गोल्ड मेडल प्राप्त गरेकी थिइन् । तर, त्यो मेडलले आफ्नो बायोग्राफीमा एउटा बुँदा थप्नुबाहेक अरु खासै काम नगरेको उनकाे अनुभव छ । यो पदक पाउँदा के लाभ पाइन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘केही लाभ हुन्छ भन्ने मलाई थाहा छैन, कहिँलेकाहीँ तपाईंहरुले गोल्ड मेडलिस्ट भनेर सम्झनुहुन्छ त्यही हो, अर्को एउटा तक्मा, सर्टीफिकेट पाएँ त्यही हो ।’ उनलाई आफू पढेको विद्यालय र पदक पाएको विषयबाटै सेवा गर्ने ईच्छा थियो तर, अवसर नै नपाएको सुनाउँछिन् । उनी थप्छिन्, ‘अब कति गुनासो मात्र गर्ने, यसैमा केही गरौँ भन्ने सोच थियो, ठ्याक्कै तीन वर्ष पहिले त्रिभुवन विश्व विद्यालयमै सेवा आयोग खुल्याे । तर, यत्रो वर्ष हुँदा समेत अहिलेसम्म टीयू सेवा आयोगले परीक्षा नै लिएको छैन ।’ त्यहीँको गोल्ड मेडलिस्ट, त्यहीँ काम गर्छु भन्दा पनि टीयूले पूर्णरुपले ढोका खोल्न नसकेको उनको गुनासो छ । उनीसँगै मेडल पाएका साथीहरु कहाँ के गर्छन् भन्ने पनि उनलाई त्यति थाहा छैन । तर, उनी आफ्नो हकमा यो मेडलले खासै प्रभाव नपारेको बताउँछिन् । तर, यो मेडलले उनलाई साथीभाईले हेर्ने नजर गर्ने व्यवहारमा भने फरक भयो । स्नातकोत्तरमा मात्र होइन मानुषी हरेक वर्ष आफ्नो कक्षामा टप हुन्थिन् । उनी भन्छिन्, ‘म जहिले कक्षा टप हुँदै आएकोले होला यो मेडल पाउँदा नि त्यति महत्व लागेन । तर, साथीभाईले गर्ने व्यवहारमा भने फरक भएको महसुस गरेँ ।’ मानुषी यो पदक पाउँछु भनेर मिहिनेत नगरेको बताउँछिन् । नेपालमा युवाको सम्मान भएन मानुषी नेपालमा सबैभन्दा ठूलाे समस्या भनेको युवाले काम नपाउनु रहेको बताउँछिन् । उनका अनुसार देशमा सम्मानजनक काम नहुँदा हजारौं युवाहरु विदेश गइरहेका छन् । ‘प्लस टुपछि विद्यार्थी पाउनै गाह्रो छ, हामी संकटमा छौं, यहाँ केही न केही गडबड भइरहेको छ, हामीले एउटा कालखण्ड संविधान बनाउनमा खर्च गर्याैं, यहाँ धेरै छलफलहरु भए, त्यहाँ हामीले आधारभूत आवश्यकता, शिक्षा स्वास्थ्य दक्षिण एशियाका कतिपय देशमा नभएको आवास फण्डामेन्टलको राम्रो सुविधा दिएको छ,’ उनी भन्छिन्, ‘त्यसलाई थेग्नको लागि केही प्लान त हुनुपर्याे नी ।’ मानुषी आफूले बनाउन चाहेको अबको नेपाल सबल आर्थिक अवस्था राम्रो शिक्षा प्रणाली भएको बताउँछिन् । ‘हामीलाई अभावै अभाव जीवन जिउन बाध्य पार्ने केही तत्व छन्, विभेद छ, म यसको अन्त्य भएको हेर्न चाहान्छु,’ उनी भन्छिन्, ‘यो अभियान आजको भोलि हुन भने गाह्रो छ ।’ भारत बेलायत लगायतका विभिन्न देशमा अध्ययन गरेकी मानुषी आफूलाई बाहिर बस्नै मन नलागेको बताउँछिन् । शासकीय प्रणालीको विकल्प मानुषी देशमा काम गर्ने युवा विदेश गएको र खाडीमा गएर श्रमिकको रूपमा काम गरेको दोष सरकालाई दिन्छिन् । ‘अहिले सबैभन्दा बढी काम वडा अध्यक्षले गर्छ । तर, बजेट सबैभन्दा बढी संघमा रहन्छ, अनि दोष फेरि संघीयतालाई दिइरहेका छौं, यसका लागि कानून बनाउनु पर्याे, गर्न सकिने धेरै काम छन् । तर, भइरहेको छैन,’ उनी भन्छिन्, ‘यसमा बाधक भनेको शासकीय प्रणाली हो ।’ उनी अहिलेकाे शासकीय प्रणालीको विकल्प प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनसक्ने बताउँछिन् । ‘व्यवस्थापिका पूर्ण समानुपातिक हुनुपर्याे, कार्यपालिका प्रत्यक्ष निर्वाचित हुनुपर्यो यति गर्न सकियो भने मात्र पनि धेरै परिवर्तन हुन्छ,’ उनले भनिन् । नेपाल नबन्नुको पछाडिको सबैभन्दा ठूलो कारण नै राजनीति भएको उनकाे भनाइ छ । महिला भएकै कारण भोग्नु परेको समस्या मानुषीलाई घरभित्र कहिल्यै महिला अथवा छोरी भएको महसुस भएन । तर, जब उनी नेपालमा आएर सार्वजनिकरूपमा देखिन थालिन् त्यसपछि उनलाई छोरी भएको महसुस हुन थाल्यो । उनी भन्छिन्, ‘मलाई परिवारभित्र कहिल्यै छोरी भएको अनुभव भएन, बुबाआमाले त्यस्तो व्यवहार नै गर्नुभएन, बिना विभेद हुर्किएँ । तर, राजनीतिमा आएर अलि पब्लिक फेस भयो, अनि म महिला हुँ, तिमी केटी हौ, तिमी नानी हो भन्ने खालको व्यवहार हुन थाल्यो ।’ उनलाई अहिलेपनि कुनै न कुनै रुपमा पितृसतात्मक सोच देखा परिरहेकाे अनुभव हुन्छ । उनकाे काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्दाको एउटा प्रसंग रोचक छ । चुनावी प्रचारमा जाँदा धेरैजसो ठाउँमा उनको कुरा सुन्ने भन्दा पनि कपाल हेर्ने मान्छे बढी हुन्थे । ती दिन स्मरण गर्दै उनी भन्छिन्, ‘नानी किन यति सानै उमेरमा कपाल फुल्यो भन्ने कुरा हुन्थ्यो, त्यसपछि त मैले कपाल नै कालो बनाएँ । ’ ‘प्रकृतिले जे दियो त्यही हो भन्ने कुरा थियो । तर, सबैले सोध्न थाले, कपालमै केन्द्रित हुन थालेपछि भएन, अब केही गर्नुपर्याे भन्ने लाग्यो’ उनले थपिन्, ‘कोही पुरुषको कपाल फुलेको छ, तालु खुइलेको छ भने चर्चाको विषय नै हुँदैन ।’
त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोह आज, साढे १२ हजार विद्यार्थी दीक्षित हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज सोमबार हुँदैछ । समारोह बिहान साढे ११ बजेबाट दशरथ रङ्गशालामा सुरु गरिने त्रिविले जनाएको छ । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गरिने भएको हो । ४९ औँ दीक्षान्त समारोह प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने भएका छन् । यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुने भएका छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् । यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । यसैबिच दीक्षान्त समारोहका लागि पार्किङ स्थल पनि तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वल्र्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो । टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वल्र्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।
शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका(७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले अरु क्षेत्रमा गरेको लगानी मासिने, आगलागी हुने र बाढी पहिरोले बगाउने तर शिक्षाको लगानी कसैले खोस्न नसकिने बताएका छन् । ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’ ‘०४६ सालपछि नुवाकोटमा विस्तारै विकास सुरुवात भएको हो । ककनीको बाटो काठमाडौं बिजुली लैजान बनाएको हो । ०४६ पछि पुल, सिँचाई, विजुली विस्तार भयो । हामी विकासप्रेमी हौं, पार्टी भनेर विभेद गर्दैनौं’ मन्त्री डा. महतले भने, विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’ ‘म अप्ठ्यारो समयमा अर्थमन्त्री भएको छु, बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं, उनले भने, समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’ काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न थाल्ने छ । लगानी भित्रिएर जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीयको आम्दानी बढ्ने उनको भनाइ छ ।