गृहमन्त्रीलाई ध्रुब थापाको खुलापत्र
जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो खुलापत्र प्रेसित गरेको छु । अहिले यहाँहरू सरकारमा हुनुहुन्छ । तपाईँ कानुनको विद्यार्थी, यहाँलाई विधितै होला, कानुनी राज भएको हरेक देशमा सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै देशमा अमन चयन बहाल गर्नु हुन जान्छ । तर, सरकार बनेको यतिका दिन बितिसक्दा पनि हामी नागरिकले यस्तो महसुस गर्न सकेका छैनौँ । किनकि आजका दिनसम्म न त त्यो आन्दोलनमा सहादत प्राप्त गर्नेहरूले न्याय पाउन सकेका छन् न त घाइतेहरूले, न त हामी जस्ता निर्दोष घरपरिवार, जसले आन्दोलनको नाउँमा आफ्नो श्री सम्पत्ति मात्र नभएर मानवीय क्षति समेत गुमाउनुपरेको छ । गृहमन्त्रीज्यू, म र मेरो परिवार न त हामी कुनै सक्रिय राजनीतिमा संलग्न छौं न त कुनै त्यस्तो अवैध व्यापार गरेर धन कमाएका थियौँ । जेनजी उमेर (१७ वर्ष को हुँदा) देखि नै अथक मेहनत र परिश्रम गर्दै आयआर्जनमा इमान्दारिताका साथ सरकारलाई कर बुझाएर व्यवसाय गर्दै आएको थिएँ । तर, दुर्भाग्य यो आन्दोलनमा पोखरा स्थित मेरो आवास तथा व्यवसायमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरि सम्पूर्ण रूपमा क्षति पु¥याइएको छ । साथै, मेरो घरमा काम गर्ने एकजना निर्दोष महिलालाई समेत जानाजान घरभित्रै थुनेर जिउँदै जलाएर हत्या गरिएको छ । देशमा बढ्दो भ्रष्टाचार र कुशासनबाट हामी पनि वाक्क दिक्क भएका थियौँ । त्यसैले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनप्रति हाम्रो पनि ऐक्यबद्धता थियो । तर, यो आन्दोलनले यो खालको विध्वंश तथा मानवीय क्षति ल्याउला भनेर कसैले कल्पना पनि गरेका थिएनौँ । जे नहुनु थियो, त्यो भइसक्यो । अब यो अवस्थामा राज्यको भूमिका महत्वपूर्ण हुन जान्छ । यस्तो विध्वंश मच्चाउन कसले योजना बनायो, को–को परिचालित थिए र ती अपराधीहरू कानुनी दायरामा कहिले आउँछन् भन्ने प्रश्न हामी पीडित पक्षबाट यहाँ समक्ष राख्न चाहन्छौं । आन्दोलन आयोजक जेनजीले आन्दोलनको आयोजना हामीले गरेपनि आगजनी तोडफोड जस्ता विध्वंश कार्यहरू हामीले गरेका होइनौ भनिसकेका छन् । यो कुरा सरकारमा बस्ने तपाईँहरूले पनि स्वीकार गर्नुभएको छ । यो कुरा हामी पनि जान्छौं । यसका लागि यथेष्ट सबूत प्रमाणहरू हामीसँग छन् पनि । जेन् जी समूहले यो विध्वंश,आतङ्क तथा हत्या गरेका होइनन् भन्ने कुराको लगभग निश्चित भइसकेको छ । यति कुराको जानकारी हुँदाहुँदै पनि ती घुसपैठ गरी देशमा आतंक मच्चाउनेहरूलाई सरकारले किन संरक्षण दिन खोजेको हो ? राष्ट्रिय तथा हाम्रो निजी सम्पत्तिहरू खरानी बनाउने, प्रहरीहरूलाई जिउँदै कुटीकुटी मार्ने हत्याराहरू समाजमा खुलमखुला हिँडिरहेको देख्दा हामी अहिले पनि आतङ्कित भइरहेका छौं । त्यसैले यस्ता मान्छेहरूहरूलाई तत्काल कानुनी दायरा भित्र ल्याउनु वर्तमान सरकारको दायित्व होइन र ? धेरै दिनदेखि हामी आफूसँग भएका सबुत प्रमाणहरू सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन धाइरहेका छौँ । तर, माथिबाट आदेश आएको छैन भन्दै उजुरी दर्ता गर्न मानिएको छैन । कानुनी राज्यको उपहास यहाँ भन्दा बढी अरु के हुनसक्छ र ! मान्छेलाई घरभित्र जिउँदै जलाएर मार्ने नरपिचा्सहरूलाई समाजमा खुलमखुल्ला नै छोडिदिने हो गृहमन्त्रीज्यू ? अहिले फेरि गृहमन्त्रीज्यू स्वयंले यो आन्दोलन सम्बन्धमा जाँचबुझ आयोग गठन भएको र कारबाही प्रक्रिया पनि सोही आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै भदौ २३ र २४ गतेका घटनाका दोषीहरूलाई कारबाही गर्न रोक लगाउनुभएको भने जानकारीमा आएको छ । त्यो जाँचबुझ आयोगका सदस्यहरू पीडितहरूको घरघरमा आएर छानबिन गर्ने हुन् वा माथिबाटै छानबिन हुने हो ? नेपालमा जाँचबुझ आयोग गठन गर्नुको अर्थ, तत्काल जनताको आवेगलाई शान्त पार्न ति मागहरुलाई सम्बोधन गरेजस्तो गर्ने तर तिनीहरूलाई केही कारबाही नगरी उन्मुक्ति दिनु भन्ने मनसाय नै हो, भन्ने बुझिन्छ किनकि नेपालमा विगतमा जे जति जाँचबुझ आयोग गठन भएको थिए ति आयोगहरूले गरेका सिफारिसका आधारमा आजसम्म कुनै कारबाही गरिएको रेकर्ड छैन् । अनि गृहमन्त्रीज्यूलाई जानकारी नभएर हो कि के हो, कुनै पनि घटनामा प्रमाण पुगेका अपराधीहरूलाई कारबाही गर्न किन जाँचबुझ आयोग चाहिन्छ र ? तिनीहरूलाई कानुनी दायरामा ल्याउन हाल भइरहेको कानुन नै पर्याप्त छैन र ? छानबिन गर्न त जसको प्रमाण पुगेको छैन, जसलाई अनुसन्धान गरेर मात्र पत्ता लगाउनुपर्छ त्यस्ता घटनामा छानबिन आयोग गठन गर्नु स्वाभाविक हो। विगतदेखि नै नेपालमा आयोग गठनको बहाना बनाउने तर घटनामा संलग्न अपराधीलाई कारबाही नगर्ने प्रवृत्तिले यो देशमा दण्डहिनता मौलाउँदै गएको छ र यस्ता आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गर्दै जाने हो भने विधिको शासनलाई थप कमजोर बनाउँदै लैजानेछ । अब सरकारले पनि पहिलेका सरकारले जस्तै गर्ने हो भने भोलिका दिनहरूमा अरु पनि कति निर्दोष नागरिकहरूले ज्यान गुमाउनुपर्ने हो र हामी जस्तै अन्य कति जनाले विध्वंशको सिकार हुनुपर्ने हो अहिले नै अनुमान लगाउन कठिन हुनेछ । अन्तमा, गृहमन्त्रीज्यूलाई सादर अनुरोध के छ भने, यहाँले आन्दोलनका क्रममा गोली बर्साएर ती अबोध भाइबहिनीहरूको ज्यान लिने, राष्ट्रिय सम्पदाहरू तथा हामी नागरिकका निजी सम्पत्तिहरू ध्वंस गर्ने, घरभित्र मान्छेहरूलाई जिउँदै जलाएर मार्ने आततायीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुहोस् अन्यथा भोलिका दिनमा हामी पीडित जनताहरू र हाम्रा शुभचिन्तकहरू आफ्नो सुरक्षाका लागि सडकमा आएर ति खुलमखुल्ला हिँडिरहेका अपराधीहरुलाई स्वयं कारबाही गर्न बाध्य हुनुपर्नेछ । यति मात्र होइन यदि यस्ता आतंककारीहरूलाई समयमै कानुनी दायरामा नल्याउने हो भने भोलिका दिनहरूमा पनि सानातिना आन्दोलनका नाममा समेत घर घरमा लुटपाट, आगलागी हत्या जस्ता जघन्य अपराधहरू हुने तथा त्यही मौका पारेर प्रतिशोध साध्ने जस्ता घटनाहरू बढ्दै जानेछन् । यहाँ कोही सुरक्षित हुने छैनन् । यसैले समय छँदा नै त्यस्ता अपराधीहरूलाई कारबाही गरियोस् र दण्डहिनताको अन्त्य गरियोस् साथै देशमा सरकार छ भन्ने आभास दिलाइयोस् । अब फेरि पनि जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ नहोस्। सबैलाई विजयादशमीको शुभकामना !!
उहिलेको दशैं र अहिलेको दशैं
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंको अवसरमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरूको अवलोकन गर्ने अवसर पाएको छु । न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, बालाजु, माछापोखरी, वाईपास, महाराजगञ्ज, लगनखेल, गठ्ठाघर, राधेराधे, सूर्यविनायकदेखि बनेपासम्मका बजार क्षेत्र घुम्दा देखिएको दशैं बजारको अवस्था, व्यापारी र उपभोक्ताको मनोविज्ञान, देशको अर्थतन्त्र र जनजीवनमा परेको प्रभावका आधारमा केही गहिरो निष्कर्ष निकाल्न सकिन्छ । छैन चमक दशैं नेपाली समाजको सबैभन्दा ठूलो पर्व भएकाले सामान्य दिनभन्दा बजारमा चहलपहल बढ्नु स्वाभाविक हो । तर, विगतका वर्षहरूमा असन र इन्द्रचोकमा खचाखच भिड हुन्थ्यो । न्यूरोडका कपडा पसलहरूमा ग्राहक पंक्तिबद्ध हुन्थे । बनेपा र सूर्यविनायकका किराना पसलहरूमा सामान उठाउने भीड हुन्थ्यो । त्यस्तो दृश्य यस पटक धेरै कम देखियो । व्यापारीहरूले गत वर्षको तुलनामा बिक्री करिब ६० प्रतिशतमा मात्र सीमित भएको बताइरहेका छन् । नियमित ग्राहकको समेत आवश्यकभन्दा बढी किनमेल नगर्ने प्रवृत्ति बढेको छ, जसले देशको क्रयशक्ति खस्किएको स्पष्ट संकेत गर्छ । त्रास र अविश्वास भदौ २४ गतेको आगजनी, तोडफोड र जेल तोडेर भागेका हजारौं कैदी, प्रहरीसँगै भएको भिडन्त र हतियार लुटपाटका घटनाले बजार क्षेत्र त्रसित बनेको छ । व्यापारीहरूसँग कुराकानी गर्दा उनीहरूको पहिलो चिन्ता सुरक्षा रहेको पाइन्छ । कतिपय व्यापारीहरूले आफ्नो पसलमा ठूलो लगानी गरेर पनि क्षणभरमै दङ्गा वा आगजनीले सबथोक गुम्ने डर व्यक्त गरेका छन् । उनीहरूलाई सरकारले संरक्षण गर्छ भन्ने विश्वास झनझन कमजोर हुँदै गएको छ । बजार अवलोकनको क्रममा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारप्रति अविश्वास हो । भदौ२३ र २४ गते भएका आन्दोलन र त्यस क्रममा आफ्ना कलिला बालबालिकाले ज्यान गुमाएका परिवारले न्याय पाउने वा नपाउने भन्ने प्रश्नमा व्यापारी र सर्वसाधारण नागरिकबीच निराशा गहिरो देखियो । सरकारले ढिलासुस्ती गर्ने, जिम्मेवारी नलिने, घटनामा संवेदनशील नदेखिने प्रवृत्तिले नागरिक मनोबलमा नकारात्मक असर पारेको छ । व्यवसाय त्याग्ने मनोवृत्ति छलफलका क्रममा भेटिएका करिब ६० प्रतिशत व्यापारीहरूले मौका मिल्ने हो भने वर्तमान व्यवसाय छोडेर अर्को विकल्प रोज्ने इच्छा राखेका छन । उनीहरूका लागि व्यापार अब सुरक्षित र टिकाउ रोजगारी देखिँदैन । लामो समयदेखि एउटै पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत जोखिम बढ्दै गएको छ, फाइदा घट्दै गएको छ, सरकारले सुनुवाइ गर्दैन भन्दै असन्तोष पोखेका छन । यसले देशको निजी क्ष्त्रमा निराशा र पलायन हुने प्रवृत्ति बढेको संकेत गर्छ । दशैं नजिकिँदै गर्दा उपत्यकाभित्र र बाहिर जाने सडकहरूमा यात्रुहरूको चाप बढ्थ्यो । तर, यस वर्ष देखिएको अवस्था विगतभन्दा अझ अस्तव्यस्त छ । सडक छेउमा अव्यवस्थित पार्किङ, सवारी चालकहरूले मनलाग्दी रूपमा गाडी दौडाउने र ट्राफिक प्रहरीको निर्देशनलाई बेवास्ता गर्ने प्रवृति बढेको देखियो । टिकट बिक्रीमा समेत ठगी गर्ने प्रवृत्ति खुलेआम बढेको छ । कतिपय यातायात व्यवसायीले एउटै सिटको टिकट दुई–तीन जनालाई बेच्ने गरेको पीडा यात्रुहरूले सुनाएका छन् । सम्बन्धित निकायमा उजुरी गर्दा सुनुवाइ नै नहुने अवस्था नागरिकले भोगिरहेका छन् । भ्रमणका क्रममा कतिपय दृश्यहरूलाई नागरिकले व्यङ्ग्यात्मक रूपमा रामराज्य को पुनः आगमन भन्न थालेका छन । यसको आशय सकारात्मक नभएर नकारात्मक छ– कारण, जताततै अराजकता, नियमको तोडमोड, सुरक्षा निकायको कमजोरी, सरकारको निष्क्रियता र मनपरी चलन मौलाउँदै गएको छ । यसरी व्यवस्थित शासन नहुनु र जनजीवन अस्तव्यस्त हुनु नागरिकमाझ व्यङ्ग्यको विषय बनेको छ । यस्तै परिस्थितिमा गृहमन्त्रालयबाट आएका केही अग्रगामी सूचनाले झन नागरिकलाई चिन्तित बनाएको छ । कारण, जब सामान्य कानून कार्यान्वयनमा कमजोरी देखिन्छ, अपराध नियन्त्रणमा कमजोरी हुन्छ, यातायात व्यवस्थापन बिग्रन्छ, बजार असुरक्षित हुन्छ, त्यतिबेला नयाँ सूचना वा घोषणा नागरिकको विश्वास बढाउने भन्दा पनि शंका र संशयको कारण बन्छ । व्यापारी र सर्वसाधारणबीच यस्तो धारणा देखिनु वर्तमान राजनीतिक नेतृत्वको चुनौती हो । दशैंको रमझम र नागरिक यथार्थ सामान्यतया दशैं खुशी, मेलमिलाप र आर्थिक गतिविधिको अवसर हो । तर, यसपटकको दशैं बजारमा खुशीभन्दा बढी डर, अविश्वास र निराशा छाएको छ । बजारमा उपभोक्ता पुगे पनि उनीहरूको खर्च न्यून छ । व्यापारी पसलमा बसे पनि उनीहरूले सुरक्षित महसुस गर्न सकेका छैनन । सडकमा सवारी चले पनि यात्रुहरू ठगिने त्रासमा छन । यसरी उत्सवभन्दा बढी चिन्ता र असुरक्षा हाबी भएको देखिन्छ दशैंमा । अर्थतन्त्रमा दीर्घकालीन असर बजारमा देखिएको मन्दी, व्यापारीहरूको असन्तोष र उपभोक्ताको कमजोर क्रयशक्तिले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ । दशैं जस्तो ठूलो पर्वमा पनि व्यापारिक कारोबार घट्नु भनेको देशको उत्पादन, आपूर्ति र रोजगारीसँगै कर संकलनमा समेत नकारात्मक असर पर्ने संकेत हो । यदि सरकारले समयमै विश्वास पुनःस्थापित गर्न सकेन भने यसले दीर्घकालीन लगानीको वातावरणलाई समेत प्रभावित पार्नेछ । दशैं बजार अवलोकनका क्रममा पाइएका अनुभवहरूले वर्तमान नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको प्रतिविम्ब प्रस्तुत गर्छन । बजारमा सामान्य चहलपहल भए पनि उत्साह हराएको छ । व्यापारीहरू त्रासमा छन । उपभोक्ता सीमित खर्चमा छन । नागरिकहरू न्यायप्रति निराश छन । देशको यातायातदेखि सुरक्षा व्यवस्थासम्म अव्यवस्था व्याप्त छ । यस्तो परिस्थितिमा दशैँले ल्याउने खुशीभन्दा बढी असुरक्षा, अविश्वास र असन्तोष बढेको देखिन्छ । नेपाल जस्तो मुलुकमा पर्वहरू केवल सांस्कृतिक मात्र नभई आर्थिक गतिविधिको मेरुदण्ड हुन । त्यसैले सरकार र सम्बन्धित निकायहरूले चाडवाड बजारलाई सुरक्षित, व्यवस्थित र विश्वासिलो बनाउन सक्ने हो भने मात्र व्यापारी, उपभोक्ता र नागरिकको मनमा उज्यालो फर्किन सक्छ । अन्यथा, यस वर्षको दशैँ सहित चाडवाड बजारले दिएको चेतावनी जस्तै, मन्दी, अविश्वास र अराजकताले भविष्यलाई अझ अँध्यारो बनाउने खतरा छ । (लेखक रत्नराज्य क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)
जेनजी प्रदर्शनपछि पर्यटन विकासमा नयाँ आशाको सञ्चार
पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरू रहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा रहेको नेपालले ती मुलुकहरूसँगको व्यापारमा कुनै प्रतिस्पर्धा गर्न सक्दैन तर पर्यटकीय सम्भावनाका दृष्टिले भने ती मुलुकहरुबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आकर्षित गराउन सक्ने क्षमता रहेको छ । यहाँको भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता र ऐतिहासिक धरोहरहरुले पर्यटकहरूलाई भरपूर आनन्द दिन सक्छन् । ‘नेचर, कल्चर र एडभञ्चर’मा नेपाल विश्वमै समृद्ध रहेको छ । तथापि, सम्भावनाको २० प्रतिशत पनि हामीले उपयोग गर्न सकेका छैनौँ । नेपालमा २००७ सालदेखि नै पर्यटनको विकास सुरु भए पनि ७५ वर्षको अवधिमा जति लाभ लिन सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । यस बीचमा केही कामहरू नभएका भने होइनन् तर ती स्वस्फुर्त रुपमा भएका कार्यले राम्रो परिणाम दिन सकेका छैनन् । हामीले अहिलेसम्म पर्यटकीय पूर्वाधारमा जोड दिन सकेका छैनौँ भने कस्ता पर्यटक भित्र्याउने र उनीहरुको बसाइलाई कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ ध्यान पुग्न सकेको छैन । अहिले पनि हामी काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीकै वरपर आठ–दश दिन पर्यटकलाई सीमित गराइरहेका छौँ । यसले पर्यटनको लाभ तल्लो तहसम्म पुग्न सकेको छैन । वर्षमा ३५–४० लाख पर्यटकलाई विश्वस्तरको सेवा दिनसक्ने हाम्रा होटलहरू छन् तर हामी अझै पनि सानो आकारमा आएको पर्यटकमै रमाइरहेका छौँ । हामीसँग पर्यटकलाई राख्ने, भ्रमण गराउने क्षमता नभएको पनि होइन । आवधिक १६ औँ योजनाले जम्मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । राजधानीबाहेक भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । तीन तहका सरकारहरुबीच समन्वय र सहकार्य हुन सकिरहेको छैन । सङ्घीय सरकारकै कुरा गर्दा पनि एउटा सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गर्छ, त्यसलगत्तै बनेको अर्को सरकारले सन् २०२५ देखि २०३५ को दशकलाई पर्यटन दशक भन्छ । मन्त्री फेरिएपच्छिे कार्यक्रमहरु फेरिन्छन् । कुनै सरकारहरु पनि गम्भीरतापूर्वक काम गर्नेभन्दा तदर्थवादमै अल्मिलिएका छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनिने पर्यटन क्षेत्रबाट राज्यले लाभ लिन सकिरहेको छैन । वर्षमा छिमेकी मुलुक चीनका झण्डै १८–२० करोड मानिस विश्व भ्रमण गर्दछन् भने भारतका पनि आठ–दश करोड नागरिकले अन्य देशको भ्रमणमा जाने गर्दछन् । उनीहरुले चाहेको सबै कुरा हामीसँग छ । त्यसको दुई प्रतिशत मात्रै नेपालमा भित्र्याउन सक्ने हो भने पनि ५०–६० लाख पर्यटक त यी दुई मुलुकबाट मात्रै ल्याउन सकिन्छ । हवाई तथा सडक कनेक्टिभिटी राम्रो नहुँदा यो अवसरलाई उपयोग हुन सकेको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । समृद्धिको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो । यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउँछ, रोजगारी सिर्जना गर्छ र समृद्धि ल्याउँछ । एक जना पर्यटक नेपाल भित्रिनु भनेको कम्तिमा १० जनाले प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिन सक्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । आफ्नो संस्कृति, प्रकृति र आत्मीयता नै हाम्रो पर्यटनको मूल आधार हो भन्ने कुरालाई हामीले राम्ररी बुझ्न नसक्दा यसबाट लाभ लिन सकेका छैनौँ । देशमा व्यवस्था फेरि पनि अवस्था नफेरिनुको मुख्य कारण हामीले हाम्रै सम्पदा, क्षमता र अवसरलाई आत्मसाथ गर्न नसक्नु हो । यसले गर्दा पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि जनताको जीवनस्तरमा तात्विक सुधार आउन सकेको छैन । जेनजी प्रदर्शनपछि पर्यटन विकासको सम्भावना नेपालको इतिहासमा विभिन्न समयमा भएका प्रदर्शनहरूले शासन व्यवस्थामा मात्र होइन, सामाजिक चेतनामा पनि ठूलो प्रभाव पारेका छन् । नेपालमा लोकतन्त्र स्थापनापछि पनि भ्रष्टाचार, अनियमितता र जवाफदेहिताको अभाव गहिरो समस्या बनेको थियो । राजनीति, प्रशासन र सार्वजनिक निकायहरूमा बढ्दो भ्रष्टाचार र सत्ताको दुरुपयोगप्रति नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढेको थियो । यही पृष्ठभूमिमा गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्दै भ्रष्टाचार नियन्त्रणसम्बन्धी जनचेतना र राजनीतिमा युवाको प्रभावकारी सहभागितालाई दबाब सिर्जना गरेको छ । लोकतन्त्रलाई बचाउन र सुदृढ बनाउन भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने सन्देशसँगै युवापुस्ताले गरेको सक्रियता र बलिदानले पारदर्शी शासन र जवाफदेहिताको बाटो खुलाउन सक्दछ भन्ने उदाहरण विश्व समुदायलाई दिन सफल भएको छ । युवापुस्ताको नेतृत्वमा भएको यस प्रदर्शनले भ्रष्टाचारबिना लोकतन्त्र सम्भव छैन भन्ने चेतना फैलाएको छ । यद्यपि, यस प्रदर्शनका क्रममा ७४ जना युवाको अकालमै मृत्यु र अर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ती ध्वस्त भएका छन् । यति ठूलो जनधनको क्षति हुँदा पनि नेपाल भ्रमणमा रहेका पर्यटकहरु कसैलाई केही भएको छैन । भदौ १६ देखि २३ गतेसम्म दैनिक तीन हजारको सङ्ख्यामा विदेशी पर्यटन नेपाल भित्रिएका थिए । एक हप्ताको बीचमा करिब २५ हजार ६०० पर्यटकलाई २३ देखि २६ गतेसम्म हिँडडुलमा केही असहज भए पनि २६ गते नयाँ सरकार गठनपछि अवस्था सामान्यीकरण भएकाले निर्धक्कसँग भ्रमण गर्न कुनै समस्या भएको थिएन । नेपालमा सामान्यतयाः सेप्टेम्बरदेखि पर्यटक आगमनको सिजन सुरु हुन्छ । जेनजी प्रदर्शनपछि भारत, अमेरिका, क्यानडालगायत केही देशहरुले ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकहरुलाई नेपाल घुम्न जाँदा अवस्था बुझेर मात्र जान भनेका कारण ती देशका पर्यटकहरु केहीले होटल बुकिङ रद्द गरेको जानकारी गराएका छन् । पक्कै पनि यसले केही असर त पुर्याउँछ तर विगतमा पनि यस्ता विकराल अवस्थामा छोटो अवधिमै हामीले पर्यटनलाई पुर्नजीवन दिन सकेका छौँ । विभिन्न राजनीतिक प्रदर्शनदेखि गोरखा भूकम्प, कोरोना महामारीपछि पनि छोटो अवधिमै नेपालले लय लिन सकेको भन्दै विश्व समुदायले प्रशंसा गरेका थिए । यस पटकको जेनजी प्रदर्शनबाट तत्काल केही प्रभाव परे पनि यसले दिएको अवसरलाई उपयोग गरी पर्यटनलाई नयाँ ढङ्गबाट अगाडि लैजाने समय आएको छ । यतिबेला देशभित्र सबै सरोकारवाला निकायहरु र आम नागरिकहरुबीच सहकार्य र सद्भावको खाँचो रहेको छ भने विदेशमा रहेका नेपाली दूतावास, नियोग, काउन्सिलर र गैरआवासीय नेपाली सङ्घमा आबद्ध सबैले नेपाल सुरक्षित छ भन्ने सन्देश र पर्यटकीय सम्पदाहरुको महत्वका बारेमा जानकारी गराउन आवश्यक छ । नेपाली जनताको आत्मीयता, प्राकृतिक सुन्दरताको महिमा र विविध संस्कृतिको धरोहरलाई पर्यटनमार्फत प्रचारप्रसार गर्न सकिन्छ । पर्यटनको प्रवद्र्धनमा निजी क्षेत्रले सुरुदेखि स्वदेश र विदेशमा प्रचारात्मक अभियानलाई अभियानकै रुपमा अगाडि बढाउँदै आएका छन् । हरेक नागरिकले आफ्नो घर, गाउँ, संस्कृति र वातावरणलाई पर्यटकमैत्री बनाउन योगदान दिनुपर्छ । हाम्रो संस्कृति, कला र परम्पराको संरक्षण गर्दै अन्तरराष्ट्रियस्तरमा प्रचार गर्नुपर्छ । दिगो पर्यटनलाई प्राथमिकता दिँदा मात्र भावी पुस्ताले पनि यस क्षेत्रको लाभ पाउन सक्छन् । जेनजी प्रदर्शनपछि पर्यटनका नयाँ सम्भावना र प्रभावहरू देखिएका छन् । अब मुलुकमा राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य र युवा पुस्ताको नेतृत्वमा शासन सञ्चालन हुन्छ भन्ने विश्वास बढेको छ । पर्यटकहरूले सुरक्षित वातावरण खोज्ने भएकाले स्थिरता पर्यटन वृद्धिको प्रमुख आधार मान्न सकिन्छ । प्रदर्शनपछि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण भएमा नेपालको छवि अन्तरराष्ट्रिय जगत्मा उज्जवल हुन्छ । नयाँ पुस्ताले प्राविधिक र सिर्जनात्मक सोचमार्फत आधुनिक पर्यटन विकासमा योगदान पुर्याउन सक्छन् । प्राकृतिक सम्पदा, पर्व–परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्न सकिएमा सांस्कृतिक पर्यटनलाई मजबुत बनाउन सहयोग पुग्छ । यस प्रदर्शनपछि अन्तरराष्ट्रिय जगत्मा पक्कै पनि नेपालको छवि बढ्नुको साथै लगानीको सम्भावना पनि बढेर गएको छ । यसले नेपालको पहिचान स्वच्छ, पारदर्शी र नयाँ पुस्ताद्वारा नेतृत्व भएको देखिन्छ भने अन्तरराष्ट्रिय लगानी र पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ । पारदर्शिता, सुशासन, युवाको नवप्रवर्तन र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेमा नेपालले दिगो र विश्वस्तरीय पर्यटन गन्तव्य बन्ने सम्भावना उच्च हुन्छ । रासस (पर्यटन व्यवसायी शाहसँग गरिएको कुराकानीमा आधारित)