रक्तदान किन आवश्यक र कतिपटक गर्न सकिन्छ ?

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ । रक्तदान किन आवश्यक छ ? वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मिर्गौला प्रत्यारोपण, ठूला एवं जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको सङ्ख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ । कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन । रक्तदान कतिपटक गर्न सकिन्छ ? मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौँपटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदानप्रति युवाको आकर्षण कसरी बढाउने ? नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौँमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर स्वयंसेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसङ्ख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए । प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ । त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय सङ्घसंस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदानको अभियान ‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै मैले पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजेको हुँ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै मेरो अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु मेरो अर्को उद्देश्य हो । बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ । प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । मैले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ । रासस (प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग गरेको कुराकानीमा आधारित)

‘१९ जिल्लालाई नमूना टेलिकमको घोषणा गरेका छौं’

मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्थाको रुपमा परिचित र वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विगतका विभिन्न समयमा आइपरेका बाधा अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीका सेवाहरुलाई अभिछिन्न रुपना गुगुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । विगत र वर्तमान २० वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड १८ लाख भन्दा बढी छ । मुलुकका अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित फिफ्थ सेवा सञ्चालनमा ल्याएपछि ग्राहक ३ लाख ३६ हजार पुगिसकेको छ र निकट भविष्यमा समेत ग्राहक आधारमा निरन्तर वृद्धि भइरहने अपेक्षा गरिएको छ । सेवाको गुणस्तर सुधार गर्न माननीय मन्त्री रेखा शर्माज्यूको प्रत्यक्ष निर्देशनमा हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको छ । त्यसैगरी जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ । कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा भीएसएटी प्रविधिमा आधारित सेवा, इन्टरनेट/डाटा सेवा तथा अन्य भ्यालु एडेड सर्भिसेस् (भीएएस) उपलब्ध गराउँदै आएको छ । त्यसैगरी हाल कम्पनीले बबरमहल, सुन्धारा, पोखरा तथा वीरगन्जमा फाइभजी उपकरणहरु जडान सम्पन्न गरी परीक्षण कार्य समेत सम्पन्न गरेको छ । बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्नका उपकरण आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिसकेको छ । आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण र विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीको प्रगति आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्ब ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा ७ अर्ब ९२ करोड भएको छ । चालु आ.व. को पौष मसान्त सम्म कम्पनीले करिब२० अर्ब ५३ करोड रूपैयाँ राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुरÞ्याएको योगदान हेर्ने हो भने आ.व. २०७९/८० मा कर तथा गैरकर गरी कम्पनीले २८ अर्ब ४६ करोड रकम योगदान गरेको छ भने यस आ.व. मा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्लांकेट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निःशुल्क भ्वाईस सेवा उपलब्ध गराईएको थियो । हरियाली प्रवर्द्धन अन्तर्गत माइतीघर तीनकुने सडकखण्डमा हरियाली संरक्षण तथा सौन्दर्यता अभिवृद्धि कार्य गरिँदै आएको छ । सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिनेछ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा फिफ्थ डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइनेछ । वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कुम चेयर उपलब्ध गराइनेछ । कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमाः कम्पनीका कर्मचारी ग्राहकको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन व्हिल कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ । सेवा शुरु भए पश्चात सेवा लिई हालसम्म निरन्तर सेवा प्रयोग गरिरहनुभएका ३०० पोष्टपेड र ३०० प्रिपेड ग्राहकलाई लोयालिटी प्याकेज उपलब्ध गराईएको छ । हाल सञ्चालनमा रहेको च्याटबोटलाई स्तरोन्नति गरी एआई प्रविधिको एलएलएम (लार्ज ल्यांग्वेज मोडल) मा आधारित च्याटबोट सञ्चालनमा ल्याउने तयारी कार्य अन्तिम चरणमा रहेको छ । गत वर्षको यानिभर्सरी अफर अन्तर्गतको फिफ्थ कम्बो प्याकेज (२० एमबीपीएस प्लस एक टेलिफोन प्लस एक एनटीटीभी प्याकेज) खरिद गर्नुभएका ग्राहकले साविककोभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको फिफ्थ प्याकेज रिन्यु गर्न सक्नुहुनेछ । नयाँ ग्राहक एवं अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पीड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्याइएको कम्बो प्याकेज खरिद गर्न सक्नुहुनेछ । नयाँ फिफ्थ सेवा खरिद गर्दा एक थान प्रिपेड सीम कार्ड निःशुल्क प्रदान गरिनेछ । नेपाल टेलिकमको एपीपी पहिलो पटक डाउनलोड गर्दा वान जीबी डाटा प्राप्त गर्न सकिनेछ । आगामी योजनाः हाल दूरसञ्चार बजारमा विभिन्न चुनौतीहरु छन् । यद्यपि हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रुपमा स्थायित्व कायम गर्न सकिन्छ । आगामी दिनमा यसैअनुसार कार्य अगाडि बढाइने छ । दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ । सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिष्कृत तथा गुणस्तरयुक्त बनाइने छ । एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ । आई एनओसीलाईलाई अझ बढी परिष्कृत बनाइने छ । कम्पनीको मोबाइल सेवा अन्तर्गत सञ्चालनमा रहेको म्यानेजड सर्भिस कार्यलाई व्यवस्थित गरिनेछ । मोबाइल सेवाको कार्पेट कभरेज गर्नका लागि फोरजी एलटीई लगायतका नयाँ आरएएन विस्तार परियोजना कार्यान्वयनमा जोड दिइने छ । अन्त्यमा, वर्तमान चुनौतीपूर्ण अवस्थामा संस्था प्रमुखको जिम्मवारी बहन गर्नु निकै कठिन कार्य भए तापनि सम्पूर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने छ । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि साथ र सद्भाव प्राप्त भइरहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु । ( नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडीले कम्पनीको २०औं वार्षिकोत्सव २०८० को अवसरमा राखेको मन्तब्यको सम्पादित अंश)

‘असन्तुलित भोजनले नै निम्त्याउँछ क्यान्सर, पुरुषमाभन्दा महिलामा बढी’

गुल्मी-तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफएनएसी तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत र पिप लगातार बहँदा तथा गाउँघरका मानिसले थरिथरिका भयानक कथा सुनाउँदा पनि केही नलागेका रोल्पा थवाङका तेमन बुढा स्वास्थ्य शिविरमा आएका थिए । न यस समस्याले दुःख दिएको छ, न खाना नै मागेको छ, किन पैसाको कुटुरो बोकी चिकित्सकलाई बुझाउने भनी प्रतिवाद गर्दै थिए । क्यान्सर सानो उमेरमा हुँदैन, स्तन क्यान्सर महिलालाई मात्र हुन्छ, गिर्खा देखिनेबित्तिकै क्यान्सर हो, म्यामोग्रामले दुख्छ, क्यान्सर भएपछि मरिन्छ, केमोले झन असर गर्छ, क्यान्सर सरुवा रोग हो भन्नेजस्ता भनाइ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै स्वास्थ्य शिविरहरुमा सुन्न पाइन्छ । अन्तराष्ट्रिय क्यान्सर नियन्त्रणका लागि युनियन (युआइसीसी)का अनुसार क्यान्सरबाट वर्षेनी ७० लाख मर्ने गरेका छन् भने एक करोड १० लाख नयाँ क्यान्सरका बिरामी देखा पर्दछन् । मुटु तथा नशा रोगपछि मानिसको ज्यान लिने दोस्रो भयानक रोग पनि हो । यो क्रम जारी रहे वर्षेनी एक करोड बढीको मृत्यु क्यान्सरबाट हुने अनुमान गरिएको छ । वर्तमान विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत कारक तत्व क्यान्सर हो र करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिको कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठन अनुसार विश्वमा प्रतिवर्ष ६० लाखभन्दा बढी, नेपालमा २५-३० हजार मानिस यस रोगबाट पीडित हुने गरेका छन्, जसमा आधाभन्दा बढी महिला नै पर्दछन् । नेपालमा प्रत्येक एक लाख जनसंख्यामा १०० देखि १२० जना नयाँ क्यान्सरका रोगीहरु प्रत्येक वर्ष थपिने र करिब ७५ हजार क्यान्सरका रोगी हर समयमा नेपालमा भएको अनुमान छ । एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर क्यान्सर बनाउन सक्ने कारणहरु विगतका दशकमा १२ सय गुणाले उत्पादन तथा प्रचारप्रसारमा वृद्धि भएको तथ्याङ्कले हामी स्वास्थ्यकर्मी मात्र हैन, स्वास्थ्यप्रति सचेत जनता र राष्ट्रलाई नै चिन्ताको विषय बनाएको छ । क्यान्सर के हो ? शरीरको अङ्गप्रत्यङ्गका कोषहरु वा कोषीकाहरु अनियन्त्रित र असामजस्य रुपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरुमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो । क्यान्सरले आफू नजिकका तन्तुहरुलाई असर पार्नुका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फ आदिबाट सर्न वा असर पार्न सक्दछ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । अर्बुदरोग उपचार गर्न सकिने एक दुःख हो जुन पुरुषमा प्रायःजसोको उपचार हुन्छ र महिलामा झन् शुरुमै पत्ता लगाउन सकिन्छ । किन क्यान्सर हुन्छ ? अर्बुदरोग हुने सम्भावना निश्चितरुपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लाष्टिक पर्दछन् । सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धुम्रपान, खैनी, बिडीको सेवन र मादक पदार्थको सेवन यसका मुख्य कारण हुन् । तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खानाले पनि क्यान्सरको जोखिम बढाउँछ भने विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तारले पनि क्यान्सर हुन मद्दत गर्दछ । एक्सरे, अल्ट्राभाइलेटजस्ता विकिरण पनि यसका कारण हुन सक्छन् । इबिभी, एचपिभी, एचएसभी–१, सिएमआई, भारिसेला जुस्टरजस्ता भाइरसको प्रवेश तथा भिटामिन ए, ई र सी, खनिज तत्व, फलाम, जस्ता, तामा र म्यागनिजजस्त पोषणको कमी, असुरक्षित यौन व्यवहार एवं हर्मोन र  स्ट्रोजेन र टिएसएचका कारण पनि क्यान्सर हुन सक्दछ । कतिपय व्यक्तिमा उमेर पाको हुँदै जाँदा र वंशानुगत आधारमा पनि यो रोग भएको पाइन्छ । आमाबाबु दुवै या एकमा क्यान्सर भएमा सन्तानमा हुनसक्छ जस्तै आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा र स्तनक्यान्सर हरेक व्यक्तिले आफ्नो आहार-विहारमा परिवर्तन गरेमा ४० प्रतिशत क्यान्सर रोक्न सकिन्छ । धुम्रपान वा सुर्तीसेवन फोक्सो र शरीरका अन्य भागमा क्यान्सर बनाउने मुख्य कारण हो । आधुनिक जीवनशैली, रेष्टुरेन्टको विकास तथा पाश्चात्य परम्पराको नक्कलले गर्दा विभिन्न किसिमका सेकुवा तथा मदिराको प्रयोगमा बढोत्तरी भएको छ । पोलेको मासुमा नाइट्रोसमाइन रसायन हुने भएकाले मद्यपानसँगै खाँदा मुख, खाद्य नलीको क्यान्सर हुन सक्छ । रक्सीको साथ चिनीया बदम खानेलाई कोलन (दिशा नली)  र कलेजोको क्यान्सर हुन सक्छ । त्यसैगरी गाडीको टायर बाल्दा उत्पन्न हुने धुवाँमा डाइअक्सिन हुने भएकाले क्यान्सर हुन सक्छ । पुरुषको लिङ्गमा जम्मा हुने सेतो पद्धार्थले क्यान्सर गराउन सक्ने भएकाले प्रत्येक पुरुष तथा महिलाले लिङ्ग र योनी सधैँ सफा राख्नुपर्दछ । सफा नराख्दा लिङ्ग र पाठेघरको क्यान्सर हुने जोखिम उच्च रहेको छ । लक्षणहरु के के हुन् त ? क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ । तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । तर क्यान्सरको प्रकृति र किसिममा भने भिन्नताहरु हुन्छन् । नेपालमा देखिएका क्यान्सरहरुमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्दछ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखा सम्बन्धी क्यान्सर बढी देखिएको छ ।  सरकारी आँकडा हेर्दा पुरुषमा फोक्सोको, महिलामा स्तनको र बालबालिकामा रगतको क्यान्सर प्रमुख पाइन्छ । सुरुका आठ लक्षणहरुमा बिना कारण वजन घट्न जाने, अपच वा खाना निल्न गाह्रो हुने, दिशा वा पिसावको बानीमा फरक पर्न जाने, असाधारण रक्तस्राव वा पिप आउने र उपचारबाट पनि पुरानो घाउ निको नहुने हुन्छ । त्यस्तै हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा, कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा र स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा पनि क्यान्सरको लक्षण मान्न सकिन्छ । यस रोगमा अङ्गअनुसार लक्षणहरु पनि फरक-फरक देखिने गर्दछ । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टीक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र अन्त्यमा मृत्यु हुन्छ । निदान कसरी गर्न सकिन्छ ? बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिशा, पिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्सरे अल्ट्रासोनोग्राम, सिटीस्क्यान, एमआरआई र इन्डोसकपिक जाँच गरेर क्यान्सरको निदान गर्न सकिन्छ । क्यान्सरको स्टेजअनुसार उपचार फरक पर्ने भएकाले क्यान्सरको स्टेजिङ गर्ने गरिन्छ । पहिलो र दोस्रो स्टेजको क्यान्सरलाई शुरुको अवस्था तथा तेस्रो र चौथो स्टेजलाई जटिल अवस्था मानिन्छ । पहिलो स्टेजमा रोग उत्पन्न भएकै ठाउँमा सानो रुपमा दोस्रो र तेस्रो स्टेजमा सोही ठाउँमै ठूलो र जटिल रुपमा रहेको तथा चौथो स्टेजमा रोग अन्य भागमा सरेको अवस्था वा मेटास्टासिस हो । उपचार के हुन सक्छ ? कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ । यदि शुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार शुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकामा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । सोलिड ट्यूमरको उपचारमा शल्यक्रिया विकीरण र केमोथेरापिको प्रयोग गरिन्छ भने रगतसम्बन्धी क्यान्सरमा मुख्यतया केमोथेरापी र केहीमा विकिरणको प्रयोग गरिन्छ । निदानमा धेरै समय लाग्ने उपचारको क्रममा बारम्बार अस्पताल आउनु पर्ने, विभिन्न परीक्षणहरु बारम्बार गराउनु पर्ने, विकिरण तथा केमोथेरापीका कुप्रभाव, पाश्र्वे प्रभावले बिरामी तथा आफन्तमा नकारात्मक सोँच ल्याउने भएकोले बिरामी स्वयं आफन्तहरु संलग्न चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुमा धैर्यताको आवश्यकता पर्दछ । क्यान्सरको उपचारमा कुन उपचार गर्दा बिरामीलाई अत्यधिक लाभ हुन्छ भनी निर्णय गर्न क्यान्सर सम्बन्धी विभिन्न विशेषज्ञहरुको आपसी सहकार्य अत्यन्त आवश्यक हुने भएकाले विशेषज्ञहरुको भेला ट्यूमर बोर्ड गठन छ । क्यान्सर लागेको भागलाई चिरफार गरी निकाल्ने विधि शल्यक्रिया, कोषनाशक औषधिहरुको प्रयोगद्वारा गरिने उपचार विधि  केमोथेरापी, विकिरणद्वारा क्यान्सर कोषहरु सेकी उपचार गर्ने विधि रेडियोथेरापी, कतिपय क्यान्सरको वृद्धि हुनुमा शरीरमा हर्मोनको उपस्थिति बढी हुनेमा उक्त हर्मोनको भाग हटाइदिएर वा हर्मोनको प्रयोगद्धारा उपचार गर्ने विधि हार्मोनथेरापी र क्यान्सररोग रोक्न सक्ने क्षमतालाई वृद्धि गर्ने विधि इम्युनोथेरापी क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । क्यान्सरबाट कसरी बच्ने ? हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाईलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ । तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । –चुरोट, बिडी, खैनी, पान, तम्बाखु र गुटखा जस्ता लागू पदार्थ तथा सूर्तीजन्य पर्दाथको सेवन नगर्ने । –सडेगलेका, बासी, ढुसीपरेका, बेसी रङ्गाइएका, बुट्टाबुट्टी भएका र अखाद्य रङ मिसाइएका खानेकुरा नखाने । –बेसी पोलेको मासु, डढेका खानेकुरा र  बढी तातो, चिसो, चिल्लो खाना नखाने, जाँडरक्सी सेवन नगर्ने वा थोरै मात्रा लिने, –प्रत्येक दिन शारीरिक ब्यायाम गर्ने । –स्वच्छ सफा, ताजा,  हरियो सागपात, पहेंलो फलफुल, गेडागुडी, रेसाजन्य तथा पौष्टीक पर्दाथ भएको शाकाहारी र सन्तुलित भोजन गर्ने (मासु खानै परे पनि सेतो मासु खाने) । –नक्कली र जथाभावी औषधीको प्रयोग नगर्ने, खाना खाइसकेपछि मुख सधैँ सफा राख्ने, वातावरणीय प्रदूषणबाट जोगिने । –धेरै जनासँग यौन सम्पर्क नराख्ने । –अनावश्यक मोटोपन घटाउने र नियमित शारीरिक व्यायम गर्ने, नून धेरै हालेको खाना कम खाने । अन्तमा, सन २०२२ देखि २०२४ सम्म फेब्रुअरी ४ को ‘नारा क्लोजिङ द ग्याप ईन केयर’ अर्थात क्यान्सरको उपचारमा हुने असमानताको अन्त गरौँ भन्दै मनाईदैछ । स्वास्थ्यप्रति चेतनशील रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता व्यक्तिगत एवं वातावरणीय सरसफाई, उचित खानपान तथा स्वस्थ जीवनयापन गर्नाले क्यान्सर रोगबाट जोगिन सकिन्छ । त्यसैगरी शुरुकै अवस्थामा रोग पत्ता लगाई उपचार गरेमा धेरैजसो क्यान्सर पूर्णतया निको पार्न सकिन्छ र दीर्घायु तथा मानवोचित, जीवनयापनमा सहयोग पुग्दछ । रासस (लेखक स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता हुन् ।)