जापानमा एक वर्ष : बैंकको किस्ता र साहुको ऋण

परदेशमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको देखेपछि मेरो मनमा लागेका, परदेश आएपछि मैले भोगेका, देखेका र अनुभव गरेका केही तीतामीठा सन्दर्भहरू जस्ताको त्यस्तै यस आलेखमार्फत प्रस्तुत गर्न मन लागेर पाठकहरूमाझ यो सामग्री पस्केको छु । हेर्दाहेर्दै स्वदेश छाडेर विदेशी बनेको पनि करिब एक वर्ष पुरा हुन लागेछ । यो एक वर्षको अवधिमा मैले परदेशमा केही कुरा सिक्ने, देख्ने र भोग्ने अवसर पाएँ । परदेश के रहेछ ? घरदेश र परदेशमा के फरक रहेछ ? परदेशमा नेपालीको अवस्था कस्तो छ ? नेपाली-नेपालीबीचको व्यवहार कस्तो हुँदो रहेछ ? के-कस्ता काम गर्नुपर्ने रहेछ ? काम पाउन र कमाउन कत्तिको सजिलो, असजिलो रहेछ ? भन्ने बारेमा मैले प्रत्यक्ष देखे-भोगेका अनुभव र थाहा पाएका केही कुरा यस आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरेको छु । हामी धेरैलाई थाहा भएकै कुरा हो, परदेश आफ्नो देशभन्दा बाहिरको देश हो । नेपालको सन्दर्भमा भन्नु पर्दा हाम्रो देशको सिमाना भन्दाबाहिर जानु परदेशिनु हो । मानिसहरू विभिन्न कारणले परदेशिने गर्दछन । रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि मान्छे विदेशिन्छ । घरदेश र परदेशबीच धेरै कुराहरूमा भिन्नता छ । अहिलेलाई यसरी बुझौं जहाँ हाम्रो जन्म हुन्छ, हाम्रो पहिचान हुन्छ, समाज र संस्कृति हुन्छ । भाषा, परिवार र घर हुन्छ त्यो हाम्रो घरदेश हो । जहाँ हाम्रो लागी सबै चिज नयाँ हुन्छ । हामीले जानेको केही पनि हुँदैन । हाम्रो कोही पनि हुँदैन । हाम्रो बस्ने खाने वातावरण फरक हुन्छ । भाषा, संस्कृति र अपनत्वको कमी हुन्छ । संघर्ष र अवसर दुवै हुन्छन, त्यो परदेश हो । धेरैको मनमा लाग्न सक्छ, घर छोडेर विदेशिएका नेपालीहरूको परदेशमा व्यवहार कस्तो हुन्छ होला ? उनीहरूबीचको सम्बन्ध कस्तो हुन्छ होला ? यो विषय व्यक्तिमा निर्भर हुने विषय हो । व्यक्तिले जन्मसिद्ध बोकेर ल्याएको र सामाजिक वातावरणले तयार गरेको आनीबानी उसले घरदेश वा परदेश जहाँ भएपनि अभिव्यक्त गर्दछ । कसैको सहयोगी, दयालु र समन्वयतात्मक भावना हुन्छ । उनीहरुमा मानवीय पक्ष सवल हुन्छ । दुःख अनि आपत विपतमा परेकाहरूलाई सहयोग गर्नु उनीहरुको आदत हुन्छ । अर्काथरिमा मानवीय भावनामा सहयोगी भाव कम हुन्छ । ‘आफू भलो त जगत भलो’ भन्ने सोच राख्ने उनीहरूमा दया, मायाभन्दा आडम्वर, स्वार्थ र निर्दयीपना बढी हुन्छ । जसले कुनै प्रकारको मानवीय कार्यमा सहभागिता जनाउनुलाई फगत समयको बर्बाद सम्झन्छन । परदेश आएका धेरै नेपालीहरू विभिन्न समस्याले जेलिएका हुन्छन । काम नपाउनुमात्र हैन समय-समयमा दुःख बिरामी हुनु नेपालीहरूको समस्या हो । यति मात्र होइन, कहिलेकाहीँ त प्राणघातक रोगहरू पनि लाग्ने गर्दछ । यस्तो रोग लाग्दासमेत पहिलो थरिका नेपालीहरू सहयोग गर्न अघि सरेका हुन्छन, अभियान सञ्चालन गरेर सहयोग गर्नु आफ्नो धर्म र कर्म दुवै सम्झन्छन । दोस्रो थरि मान्छेलाई यी सब चिज फगतजस्तो लाग्छ । मलाई यस्तो लाग्दैन कि परदेशमा सबैलाई राम्रो छ । यसको मतलब यो पनि होइन कि परदेशमा सबैलाई नराम्रो छ । यो सबै आफ्नो भाग्य, मिहिनेत र परिश्रमको कुरा हो । मैले यहाँ राम्रो कमाएर राम्रो प्रगति गरेका मान्छेहरू पनि देखेँ । अर्को, यहाँ बिचल्लीमा परेका खान बस्न समेत समस्या भएका र कलेजको शुल्क जुटाउन समेत धौ–धौ भएका मान्छेहरु पनि देखेँ । यस्तो समस्या मैले पनि भोगेँ । परदेश आएको एक वर्ष पुग्नै लाग्दा यस अवधिमा मैले करिब ६ महिना मात्रै काम गर्ने मौका पाएँ । ६ महिना कमाएको पैसाले विदेशमा ६ महिना पनि खान पुग्दैन । नेपालबाट आउँदा लागेको ऋणको त के कुरा गर्नु र ? एक दिन मात्रै काम नगरेर खाली बस्ने हो भने कति गाह्रो छ कति । त्यो विदेशमा आएर काम नपाएर बसेकालाई मात्रै थाहा हुँदो रहेछ । परदेशमा एक्लै रहने अनि हर परिस्थितिमा खुशी हुँदै संघर्ष र परिश्रम गर्नुपर्ने हुन्छ । हामीले घरदेशबाट हेर्दा सामाजिक सञ्जालमा देखिने मनोरम र सुन्दर दृश्यहरु हाम्रा लागि बनेका हैनन् कि जस्तो लाग्छ । ‘हाफ फआई’ गर्दै ढल्कदै हिँडेका, चिल्लो कारको अगाडी पछाडी बसेर, चिल्ला सडकमा गगनचुम्बी महललाई दायाँ–बायाँ पारेर खिचेका फोटाहरु घरदेशबाट हेरे जस्तो छैन परदेश । आफुभित्र अलिकति हिम्मत नभएपछि निकै गाह्रो हुनसक्छ परदेश । कोही नभएपनि आफ्नो लागि भएपनि बाँच्नु पर्छ भन्ने सकारात्मक सोंचको विकास गर्न सक्ने जस्तोसुकै खराब परिस्थिति सँग पनि मुकाविला गर्न सकिन्छ । आफुप्रतिको विश्वास टुट्न नदिनु मुख्य कुरा हो । मनोवल सधैँ उच्च राख्ने काम गर्नुपर्छ, कहिल्यै पनि हिम्मत हार्नु हुँदैन । परदेश आइसकेपछि समय परिस्थिति अनुसार जे जस्ता समय र परिस्थिति आएपनि म सहन सक्छु र जमेर सामना गर्ने औकात छ भन्ने उच्चस्तरको आत्मविश्वास हुनु पर्दछ । परदेश आएपछि यति चाहिँ सोच्नैपर्छ कि घरमा रहेका ती बुढा आमाबुवाको आर्शीवाद लिएर निधारमा टिका लगाई दिँदा दिएको आशीषवचन । बुवा आमाले आशिरवचनका साथ बोलेको शब्दहरु हाम्रो मानसपटलमा सधैँ ताजा रहनु पर्दछ । ती बुढा आमाबुवाको खुसीका लागी भएपनि केही गर्नेपर्छ । परदेशी जीवन यस्तै हो । श्रम गर्दा पसिना बग्छ नै । आफन्तजन र प्रीयजनहरुको यादले आँसु बग्छ । चाडपर्वको समयमा त अझ बढी घरदेशको यादले मुटु पोल्छ, अनि छाती चिरिएको भान हुन्छ । तर, पनि हामीले कहिल्यै हिम्मत भने हार्नु हुँदैन । आफुले आफैसित प्रतिस्पर्धा गर्नुपर्छ न कि अरु सँग । अरुको कमाइ कति छ ? अरुको घर परिवार कस्तो छ ? अरुको तलब कति छ ? यस्ता कुरामा कहिल्यै ध्यान दिनु हुँदैन । मेरो कसैसँग प्रतिस्पर्धा छ भने त्यो म आफै हो भनेर सोचाइ राख्नुपर्छ । आफुलाई अरुको तुलना गर्दा मान्छे कहिल्यै सुखी र खुसी हुँदैन । आफुलाई कमजोर बनाउने काम कहिल्यै गर्नु हुँदैन । आत्महत्या गर्ने सोंच कहिल्यै राख्नु हुँदैन । हामी करोडौ शुक्रकिटहरुलाई जितेर आएका हौं । आमाको गर्भमा रहँदादेखि नै प्रतिस्पर्धा र संघर्ष गर्दै आएका हामी संघर्षदेखि किन डराउनु ? हामीले कहिल्यै पनि हार मान्नु हुँदैन । हामीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बस्नु पर्छ । परिस्थिति अनुकुल भए ठिकै छ प्रतिकुल भए अनुकुल बनाउने प्रयासमा लाग्नु पर्दछ । परदेश आएपछि धेरै कुरामा तनाब हुन सक्छ । कहिले एक्लै भइएला, एक्लै भए भनेर निराश होइन, भोलीको आशमा अघि बढ्नु पर्छ । धेरैमा त डिप्रेशनको समस्या देखिने गर्छ । यस्तो बेला आफुमा आत्मविश्वास अधिक हुनु पर्दछ । सधैँ सकारात्मक सोंच राख्नु पर्छ । आफ्नो मन लाई नियन्त्रण गर्ने क्षमताको विकास गर्नुपर्छ । आत्मविश्वका साथ आफैसँग लड्नु पर्छ, भिड्नु पर्छ । परदेशमा हामी घरदेशमा सोचेको जस्तो सजिलो छैन । सपनाको गन्तव्य त कति टाढा छ कति । मेहनत गर्न मन लाग्दैन । मेहनत नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा नपुगेसम्म हाम्रो आत्मबल दह्रो हुँदैन र बनाउन सकिँदैन । त्यो गन्तव्यसम्म पुग्न निकै कठिन हुन्छ । आएको चार पाँच वर्षसम्म नेपालबाट आउँदा लागेको ऋण तिरी नसकेका हरु पनि थुप्रै भेटेको छु । पदरदेश आएपछि मान्छेलाई पैसाको मात्रै ऋण हुँदैन । यहाँ कतिपय गुनासोका पनि ऋण हुन्छन् । कसैको बैैगुनको ऋण हुन्छ । कतिपयको बचनको ऋण हुन्छ । सबैभन्दा ठूलो कुरा यहाँ आएपछि इज्जतको ऋण हुन्छ । सुनौलो भविष्य निर्माण गर्ने इच्छा हुन्छ । त्यसैले पीडा बिनाका मान्छे भेटाउन नै गाह्रो हुन्छ । पीडा कसलाई हुँदैन र ? सबैलाई छ फरक यत्ति हो कसैले रोएर देखाउम्छन त कसैले मनभित्रै गुम्साएर राख्छन् । त्यसैले आत्महत्या समस्याको समाधान कदापी होइन । बरु के भएको छ, आफ्नो परिवारसँग कुराकानी गर्नुपर्छ । सबै कुरा बुझ्न सक्ने मान्छेलाई आफ्ना समस्या सुनाउनु पर्छ । कसैले पनि गलत निर्णय लिनु हुँदैन । एकदिन सबै सोचेको जस्तो हुन्छ भनेर मनलाई चित्त बुझाउनु पर्छ । सान्त्वना दिनुपर्छ । विदेशमा बस्ने हामी पनि यहाँ गरिने संघर्ष र पश्रिमका कहानीहरुलाई वास्तवविक रुपमा देखाउनुपर्छ । जस्तो बि विदेश आउँदा साहु महाजनवाट लिएको ऋण, अनि हरेक महिना बैंकलाई तिर्नु पर्ने किस्ताले दिने पीडा, परदेशमा आएपछि होटल, रेष्टुराँ, अस्पताल, सुपरमार्केटमा खटेर गर्नु पर्ने काम । के कस्तो काम गर्दै हुनुहुन्छ त्यो पनि बताई दिनु पर्छ । कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरू पनि भनिदिनु पर्छ । विदेशमा बस्दा घरपरिवार, समाज रीतिरिवाज, चाडपर्व लगायत सामाजिक कारणले हुने पीडा पनि सुनाउनुपर्छ । कति समय खट्नु पर्छ त्यो पनि भनिदिनु पर्छ । सामाजिक सञ्जालमा देखिने तपाईंको मोजमस्तीको जीवनशैली तडकभडक भन्दा सामान्य जीवनशैली जीउन सक्नुपर्छ । (लेखक केसीको घर गंगादेव गाउँपालिका ६ रोल्पा हो, हाल उनी जापानमा छन् ।)

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना स्वास्थ्यचौकी । असुरैना हेल्थपोष्टमा पुग्नुभयो भने तपाइँले स्वास्थ्यचौकीसँगै देख्नुहुनेछ व्यवस्थित सुत्केरी कुरुवा घर । सुत्केरी हुन आउने महिलाका आफन्त बस्ने ठाउँ नहुँदा समस्या भएपछि २०७९ सालमा स्वास्थ्य स्वयंसेविकाहरुको अगुवाइमा यो कुरुवा घर बनेको हो । कुरुवा घर बनेपछि असुरैनामा गर्भजाँच गराउन र सुत्केरी हुन आउने महिलाको सङ्ख्या ह्वात्तै बढेको छ । कुरुवा घर बन्नुअघि यहाँ मासिक १० जना मात्रै महिला प्रसूति हुन्थे । अहिले मासिक ४२ जनासम्म महिलाले यही स्वास्थ्यचौकीमा शिशु जन्माएका छन् । गाउँमा घरमै सुत्केरी हुने र उपचारका लागि टाढाका स्वास्थ्य संस्था जाने चलन हटेको छ । कसरी बन्यो त सुत्केरी कुरुवा घर ? गाउँपालिकाका पदाधिकारीका अनुसार मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा आठ वर्षअघि २४ घण्टे प्रसूति सेवा सुरु भए पनि सुत्केरी हुने महिला आएनन् । कारण बुझ्न स्वास्थ्य स्वयंसेविकालाई घरदैलो गराइयो । सेवा लिन जानेले बस्ने ठाउँ नहुँदा सुत्केरी हुन जान समस्या हुने गुनासो गरे । स्वास्थ्य स्वयंसेविकाहरुले समस्या समाधान गर्न कुरुवा घर बनाउनुपर्ने प्रस्ताव बनाए । उनीहरु आधारभूत स्वास्थ्य परियोजना र सम्मरीमाई गाउँपालिमा गए । सम्मरीमाई गाउँपालिकाले रु आठ लाख र परियोजनाले रु पाँच लाख लगानी गरे । रु १३ लाख लगानीमा एक कोठा, एक भान्सा, शौचालय र स्नान कक्षसहितको चिटिक्कको कुरुवा घर तयार भयो । अहिले असुरैना हेल्थपोष्टमा असुरैनाका मात्र होइन, सम्मरीमाईका अन्य क्षेत्रबाट पनि सुत्केरी हुन आउँछन् । देखिनेगरी परिवर्तन गरेका यहाँका स्वास्थ्य स्वयंसेविकाहरु अहिले खुसी हुँदै घरघर पुगेर गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्योपचारमा खटिएका भेटिन्छन् । तर, उनीहरुका लागि कसैले थप सुविधा दिएको छैन ।  निःशुल्क र निःस्वार्थ सरकारका स्वास्थ्य अभियानमा खट्ने व्यक्ति हुन् महिला स्वास्थ्य स्वयंसेविका । उनीहरुको पारिश्रमिक छैन तर काम र भूमिकाको सीमा छैन । उनीहरुकै कारण धेरै शिशु मृत्युको मुखबाट बचेका छन् भने धेरै आमाले ज्यान जोगाएका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका–३ की रुक्सना खातुनको कुरा गरौँ । उनी गर्भवती थिइन् । चार महिना सुरु हुँदै थियो, उनी अचेत भइन् । घरमा कोही थिएन । स्वास्थ्य स्वयंसेविका रञ्जना चौधरीले थाहा पाइन् । उनले तत्काल एम्बुलेन्स खोजिन् र कम्हरिया हेल्थपोष्टमा पुर्याइन् । तत्काल स्वास्थ्य संस्था पुर्याएका कारण उपचारपछि रुक्सना ब्युँतिन् । त्यसपछि लगातार तीन महिना हरेक साता स्वास्थ्य परीक्षण गर्नुपर्ने भयो । रञ्जनाले हरेक हप्ता रुक्सनालाई स्वास्थ्यचौकी पुर्याउने र उपचारमा सघाउने काम गरिन् । माघ दोस्रो साता रुक्सनाले सुरक्षित तरिकाबाट स्वस्थ सन्तान जन्माइन् । रञ्जनाको काम अझै सकिएको छैन । उनी अहिले पनि हरेक हप्ता घरमा पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे बुझ्छिन् । सो अवस्था स्वास्थ्यचौकीमार्फत स्वास्थ्य कार्यालयमा पठाउँछिन् । रञ्जना १४ वर्षयता यहाँका दुई सय ८० घरपरिवारका महिला, बालबालिकालगायतको आधारभूत स्वास्थ्य र प्रजनन् स्वास्थ्यको सुरक्षा गरिरहेकी छन् । अहिले पनि उनी मातहत ३१ गर्भवती र १३ सुत्केरी महिला र बालबालिका छन् । कामको बोझ जति थपिए पनि उनलाई सुविधा थपिँदैन । महिला स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य सुधारका मेरुदण्ड हुन् । उनीहरु निरन्तर ग्रामीण भेग र दूरदराजका बस्तीमा मातृशिशु स्वास्थ्य र आधारभूत स्वास्थ्य सुधारमा खटेका छन् । आफूले काम गरेको समुदाय र देशको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरेका छन् । चिकित्सकको पहुँच नहुने ठाउँमा बालस्वास्थ्य, मातृस्वास्थ्य, प्राथमिक उपचार, राष्ट्रिय खोप अभियानहरु सञ्चालन गर्दै आएका छन् । स्वास्थ्य स्वयंसेविकाले गाउँका घरघरमा पुगेर प्राथमिक उपचारसँगै सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण, पोषण र बालस्वास्थ्य सेवा दिन्छन् । खोप अभियानदेखि आधारभूत स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्छन् । गर्भवतीलाई गर्भजाँच र सुत्करी हुन आफैँले स्वास्थ्य संस्था लैजान्छन् । महिला स्वास्थ्य स्वयंसेविकाकै कारण देश आधारभूत स्वास्थ्य सुधार गर्न र मातृशिशु मृत्यु घटाउन सफल भएको छ । सुरक्षित सुत्केरी सेवाको पहुँचलाई बढाउन, ठूलाठूला महामारीजन्य रोगविरुद्धको अभियान सफल पार्न सकेको छ । अभियान सफल भएकामा उनीहरुलाई प्रोत्साहन भने गरिएको छैन । स्वास्थ्य अभियानमा निःस्वार्थ र निःशुल्क सहयोग गर्न भन्दै तत्कालीन गाविसमा २०४५ र नगरपालिकामा २०५२ सालबाट सरकारले स्वास्थ्य स्वयंसेविकाहरु राख्ने नियम बनाएको हो । अहिलेसम्म देशभरमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन् । देशका हरेक स्थानीय तहका हरेक वडामा एक जना स्वास्थ्य स्वयंसेविका छन् । उनीहरुले गर्भवती र सुत्केरीसहितको ‘स्वास्थ्य आमा समूह’ गठन गर्छन् । समूहलाई मातृशिशु र आधारभूत स्वास्थ्यबारे पनि सिकाउँछन् । वास्तवमा समाजमा बोल्न नसक्नेको आवाज, हिंड्न नसक्नेको खुट्टा र सुन्न नसक्नेको इशारा हुन् स्वास्थ्य स्वयंसेविका । यद्यपि, महिला स्वास्थ्य स्वयंसेविकाका मामिलामा ‘काम गर ज्याला चाहिँ दिन्नौँ भन्ने राज्यको नीति’ छ । यही कारण झण्डै ३६ वर्षअघिदेखि स्वास्थ्य अभियानमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्ने आत्मबल भने गिरेको छ । सरकारले स्वास्थ्यमा करोडौँ लगानी गरेको छ । हरेक वर्ष आधारभूत र महामारीजन्य रोगविरुद्ध स्वास्थ्य अभियान थपिँदै गएका छन् । स्वास्थ्य अभियान थपिँदै जाँदा स्वास्थ्य स्वयंसेविकाको कामको बोझ पनि थपिँदै गएको छ । पछिल्लो समय किशोरकिशोरी स्वास्थ्य, वृद्धवृद्धा, मृत्यु दर्ता, बसाइँसराइ र जन्मदर्ताको जिम्मा पनि उनीहरुलाई दिइएको छ । तर, ग्रामीण क्षेत्रका दूरदराजसम्म पुगेर स्वास्थ्य अभियान सम्पन्न गर्ने स्वास्थ्य स्वयंसेविकाका लागि भने सरकार सहयोगी छैन । जीवनभर निःशुल्क काम गर्दा जीविकोपार्जनमा समस्या छ । स्वास्थ्य स्वयंसेविकाहरु दिनरात नभनी काममा खट्छन् । जीवनको उर्भर समय स्वास्थ्य अभियानमा बिताउँछन् । तर राज्यले उनीहरुका लागि केही गरेको छैन । महँगीले सीमा नाघेका बेला अभियानमा खट्दा चिया नास्ता खाने रकमसमेत उनीहरुले पाउँदैनन् । देश विकासशील मुलुकमा रुपान्तरण हुँदैछ । स्वास्थ्यका संरचना गाउँगाउँमा पुगेका छन् । स्वास्थ्य स्वयंसेविकाको भूमिका अझै घटेको छैन, बरु बढ्दै छ । सन् २०३० सम्म देशले दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा स्वास्थ्यका धेरै नतिजा स्वास्थ्य स्वयंसेविकाको भूमिकामा जोडिएको छ । हाल एक लाख महिला आमा बन्दा एक सय ५१ जनाले ज्यान गुमाउँछन् । सन् २०३० सम्म यो सङ्ख्या घटाएर ७० मा झार्नु छ । हाल शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ रहेकामा घटाएर १० बनाउनु छ । बालमृत्युदर प्रतिहजार जीवित जन्ममा २८ जना रहेकामा १२ बनाउनु छ । सस्थागत सुत्केरी ७९ बाट ९० प्रतिशतमा पु¥याउने लक्ष्य छ । कुपोषणको दर ३३ बाट १९, पूर्ण खोपको अवस्था ८० प्रतिशतबाट ९५ प्रतिशतमा पु¥याउने भनिएको छ । यी सबै लक्ष्य हासिल गर्न थालिएका हरेक काममा स्वास्थ्य स्वयंसेविकाहरु खटेका छन् । यतिधेरै जिम्मेवारी पाएका स्वास्थ्य स्वयंसेविकाहरुले सङ्घीय सरकारले पोशाकबापत रु १० हजार र यातायातबापत रु १२ हजार दिन्छ । खोप अभियानका दिन रु चार सय यातायात खर्च पाउँछन् । विकटका स्वयंसेविकालाई यो खर्च आउनजान पनि पुग्दैन । सेवाबाट निस्कँदा रु २० हजार प्रोत्साहन भत्ता भनेर दिने गरेको छ । तर बिरामी वा अशक्त नै भए पनि ६० वर्ष पहिला निस्कने स्वास्थ्य स्वयंसेविकाले यो सुविधा पाउँदैनन् । कम्तीमा २० वर्ष सेवा गरेका स्वयंसेविकालाई पनि प्रोत्साहन भत्ता दिनुपर्ने माग उठ्दै आएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न कतिपय स्थानीय तहले साइकल, झोलालगायत वितरण गरेका छन् । सेवा छोड्ने बेलामा केही प्रोत्साहन रकम दिने गरेका छन् । प्रदेश सरकारहरुको भूमिका भने त्यसमा देखिँदैन । स्वयंसेवाका नाममा निःशुल्क र निःस्वार्थ स्वास्थ्य अभियानमा खटेका स्वास्थ्य स्वयंसेविकालाई सरकारबाट थप सुविधा र निवृत्तिभरण सुविधा आवश्यक छ । स्वयंसेविकाको कामको मूल्याङ्कन र तीन तहकै सरकारबाट प्रोत्साहन जरुरी देखिन्छ । रासस

समृद्धिका लागि विज्ञान प्रविधि

विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो¥याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, औद्योगीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ । सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा नेपाललाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ । विज्ञान प्रविधि नेपालको उज्ज्वल भविष्यको आधारस्तम्भ हो । राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवर्द्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । तथापि, नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमार्फत वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तनलाई दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा विज्ञान र प्रविधिसम्बन्धी नीति पहिलो पटक २०४४ सालमा ल्याइएको थियो । त्यसपछि समयानुसार यसमा संशोधन हुँदै आएको छ । पछिल्लो विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६ ले वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि हस्तान्तरण, तथा नवप्रवर्तनलाई प्राथमिकता दिएको छ । यस नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिँदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । कृतिम बौद्धिकता (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इञ्जिनियरिङको अधिकतम उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई समृद्ध नेपालको निर्माणका लागि प्रमुख आधारका रूपमा लिइएको छ । सोह्रौँ पञ्चवर्षीय योजनामा योजनाले वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गरी दिगो आर्थिक विकास गर्ने लक्ष्य राखेको छ । यस योजनामा विज्ञान प्रविधिसम्बन्धी मुख्य रणनीति र लक्ष्यहरूमा सूचना प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन, कृषि तथा खाद्य सुरक्षामा विज्ञान प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रमा प्रविधिको विस्तार, पूर्वाधार तथा ऊर्जा प्रविधिको प्रयोग, वातावरण तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयहरुलाई समावेश गरिएको छ । नास्टको भूमिका नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू-सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भइसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ । नास्टले यसै वर्ष विज्ञान प्रविधि सूचना प्रणाली केन्द्रको स्थापना गरी विज्ञान प्रविधिको सम्पूर्ण सूचनालाई भण्डारण गरी उपयोगमा जोड दिइएको छ । वार्षिक कार्यक्रमका लागि तय गरेका विभिन्न अनुसन्धान तथा विज्ञान प्रविधिका प्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसको लागि विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरुलाई क्रियाशिल बनाइएको छ । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्रको स्थापनाको कामलाई पूर्णता दिई जनशक्तिको व्यवस्था गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । संरचना एवं पूर्वाधार विकासतर्फ बितेको आर्थिक वर्षमा बायोमेडिकल रिसर्च ल्याबको निर्माण कार्य सम्पन्न भएको छ भने हाल ‘सेकेण्डरी स्टयान्डर्ड डोसिमेट्री ल्याबरेटोरी’को निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ । विदेशी वैज्ञानिक संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई अघि बढाउने काम भएको छ । सन् १९९० देखि इटालीको वैज्ञानिक संस्थासँग मिलेर लोबुचेस्थित पिरामिड ल्याबको प्रयोग गर्दै उच्च धरातलीय अनुसन्धान कार्य गर्दै आएकामा सन् २०१५ देखि सो कार्य अवरुद्ध भएकाले त्यसलाई सूचारु गर्ने व्यवस्था मिलाइएको छ । सन् २०१९ मा जापानको वैज्ञानिक संस्था क्युटेकसँगको सहकार्यमा नास्टले नेपालकै प्रथम न्यानो स्याटलाइट (नेपाल स्याट १) अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यस्तै सन् २०२४ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था ‘आएएसआरओ’सँग दोस्रो न्यानो स्याटलाइट (मुनाल) चाँडै प्रक्षेपण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्था ‘सिएसआइआर’सँग विज्ञान तथा औद्योगिक अनुसन्धानका बृहत् विषयमा सहयोग र सहकार्य निम्ति समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस संस्थासँगको संयुक्त कार्यक्रम तथा प्रविधि हस्तान्तरणबाट नेपाललाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ । यस वर्ष जापानको वैज्ञानिक संस्था ‘सिएसआइएस’सँग ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम (जिएनएसएस) प्रणालीलाई नेपालमा प्राकृतिक प्रकोप, आपत्कालीन समस्या पहिचान, यातायात प्रणाली, भूमि व्यवस्थापनजस्ता क्षेत्रहरुमा उपयोग गर्ने गरी समझौता गर्ने काम अघि बढेको छ । यसैगरी स्थानीय संस्थाहरुसँग सहकार्य गर्ने काम अघि बढिरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग प्रकृति संरक्षण विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ भने उद्योग वाणिज्य महासङ्घसँग सहयोग र सहकार्यको लागि छलफल सुरु भएको छ । विज्ञान तथा प्रविधिको प्रयोग स्वस्थ र सुखी जीवन तथा राष्ट्रिय समृद्धिको प्राप्तिको लागि हुनुपर्दछ । यसको निमित्त राम्रो विज्ञान शिक्षा, अनुसन्धान, प्रविधि नवप्रवर्तन आधारभूत आवश्यकता हो । जनताको जीवनस्तर वृद्धि र देशको समृद्धिको निमित्त विज्ञान र प्रविधिको भूमिकालाई सशक्त बनाउने, वस्तुनिष्ठ र ठोस परिणाममुखी कार्यक्रम सञ्चालन गरी नाष्टको प्रतिष्ठामा वृद्धि गरी नाष्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने हुन्छ । भावी योजना निर्माण गर्दा सरकारको चालु आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम, विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकासका लक्ष्यलाई मार्गनिर्देशक मानिनेछ । योजना तयार गर्दा नास्टका विषयगत वैज्ञानिक उप-समितिहरु, नास्टबाट आयोजना गरिएका सम्मेलन, गोष्ठी, छलफलका प्रतिवेदन, अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँगको सहकार्य गर्ने समझदारी, विभिन्न मन्त्रालय एवं राष्ट्रिय संस्थाहरुसँग भएका समझदारी र सम्झौता, राष्ट्रिय योजना आयोगसँगको परामर्श, प्राज्ञसभाको सल्लाह सुुझावलाई आत्मसात गरिएको छ । योजनाको कार्यदिशा उत्पादन वृद्धि तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउने नवीन प्रविधिहरुको विकास, अनुसन्धानलाई औद्योगिक उत्पादनसँग जोड्ने, विज्ञान शिक्षण आधुनिकीकरण, विज्ञान, गणित, इञ्जिनियरिङ विधामा उच्च अध्ययन गरेका जनशक्तिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सहयोग गर्नु, भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र वा फिजियोलोजी विधामा उत्कृष्ट स्तरको अनुसन्धान हुने वातावरण तयार गर्नु नास्टको लक्ष्य रहेको छ । त्यस्तै विज्ञान प्रविधिको राष्ट्रिय सूचना प्रणाली विकास गर्न युवा वैज्ञानिकहरुलाई अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त अवसर प्रदान गर्नु, परम्परागत प्रविधिको प्रवद्र्धन, प्रादेशिक अनुसन्धान केन्द्रहरूको प्रभावकारी सञ्चालन, बाञ्छित भौतिक संरचनाको निर्माणतर्फ लक्षित रहेको छ । ती योजनाअन्तर्गतका कार्यक्रमलाई कृषि र खाद्य उत्पादन, स्वास्थ्य, विज्ञान शिक्षा, ऊर्जा, वन पैदावार, जलस्रोत, भौतिक पूर्वाधार, सूचना प्रविधि, औद्योगिक उत्पादन, वातावरण, जलवायु परिवर्तन एवं प्राकृतिक प्रकोपका क्षेत्रहरुमा सञ्चालन गर्ने धारणा रहेको छ । अन्तरिक्ष प्रविधि र उच्च धरातलीय अनुसन्धान तथा भूकम्प पूर्वसूचना प्रणालीको स्थापनालाई पनि महत्व दिइएको छ । उत्कृष्टस्तरको अनुसन्धानको लागि सबल र उत्कृष्ट प्रयोगशालाको निर्माण तथा उत्कृष्ट अन्तरराष्ट्रिय प्रयोगशाला एवं वैज्ञानिकहरुसँग सहकार्य गर्ने, प्रविधि नवप्रवर्तन प्रसार र स्थानान्तरणको लागि प्राविधिक भवनको निर्माण, प्रदेशहरुको विशेषताअनुरुप त्यहाँ स्थापित अनुसन्धान केन्द्रहरुको सुदृढीकरण र क्षमता विकास, वैज्ञानिकहरुको क्षमता विकास गर्ने योजना रहेको छ । यी सबै कार्यमा तीनै तहका सरकार, वैज्ञानिक समुदाय र आम नागरिकको सहयोग, सहकार्य र सद्भावको खाँचो पर्दछ । (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा दिलीप सुब्बासँग गरिएको कुराकानीको सम्पादित अंश) रासस