लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्न साझेदारी
काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सको वितरण सञ्जाल सुदृढ बनाउन नबिल बैंकसँग च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ । काठमाडौंमा आयोजित समारोहमा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो । सहयोग सम्झौता अनुसार देशभरका लामिनार टाइल्सका डिलरहरूले अब बैंकमार्फत सहज रूपमा चालु पूँजी प्राप्त गर्न सक्नेछन् । यसले इनभेन्टरी व्यवस्थापन प्रभावकारी बनाउने र व्यवसाय सञ्चालन थप सुदृढ गर्ने कम्पनीको अपेक्षा छ । नबिल बैंकले डिलरहरूको सुविधाका लागि ०.५ प्रतिशत ऋण प्रशासकीय शुल्क, एलसी तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर तथा पिओएस मेसिन शुल्कमा ५० प्रतिशत छुटका साथै निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, मुख्य कर्मचारीका लागि अधिकतम पाँच लाख रुपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड तथा नबिल केयरअन्तर्गत क्रिटिकल इलनेस बीमा सुविधा पनि प्रदान गरिनेछ । दुवै संस्थाले यो सहकार्यले डिलरहरूको तरलता बढाउने, आर्थिक बोझ घटाउने र नेपालको टाइल उद्योगलाई दिगो रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।
नबिल बैंक र ग्रोथ अड्भाइजर्सबीच साझेदारी, ८४ करोड अनुदान दिने
काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश - ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ । नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । 'यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ', उनले भने, 'परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।' एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 'यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ', उनले भने । साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ । एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मंसिर १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ ।