४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए । पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ । ५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।
१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का
काठमाडौं । केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो । मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।
नबिल बैंकलाई भिसा इन्टरनेशनलका तीन अवार्ड
काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीनवटा विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो । काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ । अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर्श बजगाईंले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए । भिसा इन्टरनेशनल कार्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ । नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।