सानिमा बैंकको ५ करोडको सेयर बिक्रीमा, कम्तिमा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्ने

काठमाडौं । सानिमा बैंकको ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकका अनुसार उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको ४ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  बैंकले गत जेठ १४ गते उक्त सेयर खरिद गर्नका लागि ३५ दिनको समय दिएको थिएन । तर, उक्त समयमा कोही पनि संस्थापक सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  खरिद गर्न इच्छुक लगानीकर्ताहरुलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ । सेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

राष्ट्र बैंकले ३.३० अर्ब लगानी गर्ने, खुद निष्क्रिय कर्जा ३ प्रतिशत हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार साधारण सभाले पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।