बैंकहरुले सीएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन) गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व बापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको १ प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मार्गदर्शनमा संशोधन गर्दै भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।’ यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।

२ महिनामा मोबाइल बैंकिङमा साढे ४ खर्ब रुपैयाँको कारोबार

काठमाडौं । २ महिनाको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ४ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा मोबाइल बैंकिङ अन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको भदौसम्ममा क्युआर कोड भुक्तानी अन्तर्गत ४ करोड १० लाख वटा कारोबार मार्फत १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ कारोबार भएका छन् । २ महिनाको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबार मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । 

शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा, चालु खाताको अवस्था के छ ?

काठमाडौं । चालु खाता १ खर्ब ३० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ ।  अघिल्लो वर्षको भदौमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।  यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।