अब बैंकहरू सातामा २ दिन बन्द हुने, कारोबार ४ बजेसम्म मात्रै
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था पनि अब दुई दिन बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक सरकारी निकाय भएकाले सरकारले गरेको निर्णयअनुसार उसले पनि शनिबार र आइतबार बिदा दिनेछ । राष्ट्र बैंक बिदा हुने दिन बैंक तथा वित्तीय संस्थाहरूले पनि सोहीअनुसार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार कार्यालय समय सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कायम हुनेछ । तर, कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजे हुनेछ । बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । यस्तै, कात्तिक १६ देखि माघ १५ सम्म बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजे रहनेछ । राष्ट्र बैंक बिदा भएमा पनि कुनै बैंकले कारोबार सञ्चालन गर्नुपर्ने भएमा त्यसका लागि राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
के अब बैंक र बीमा कम्पनीमा पनि दुई दिन बन्द हुन्छ ?
काठमाडौं । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कलेज, स्कुल तथा कलेजहरूमा आइतबार र शनिबार विदा दिने निर्णय गरेको हो । सरकारले योसँगै अबदेखि सकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारको यो निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्र र बीमा क्षेत्रमा पनि चासो बढेको छ । अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पनि दुई दिन बन्द हुन्छन् वा हुँदैनन् भन्ने चासो बढेको छ । यो जिज्ञासामा हामीले राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेललाई राखेका थियौं । उनले सरकारी कार्यालय भनेकोले स्वभावैतः राष्ट्र बैंक दुई दिन बन्द हुने बताए । ‘अब राष्ट्र बैंक दुई दिन बन्द हुने नै भयो । राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंक खोल्दा अनिवार्य खुल्नुपर्छ । तर, नेपाल राष्ट्र बैंक बन्द हुँदा ती संस्थालाई ऐच्छिक छ । तर, सबैको चासोको विषय र पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन भएकोले सीमित बैंकिङ सेवा दिनेगरी परिपत्र गर्छौं गर्छौं,’ उनले भने । उनका अनुसार के कसरी व्यवस्थापन गर्ने विषय भने मन्त्रिपरिषद् बैठकको निर्णय अर्थमन्त्रालयमार्फत् आएपछि जानकारी हुनेछ । कतिपय बैंकले सातै दिन र २४ सै घण्टा सेवा भनेकाले डिजिटल तथा सीमित शाखा सञ्चालन गरेर सेवा दिन सकिने उनको भनाइ छ । यस्तै, बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि अर्थमन्त्रालयबाट निर्देशनसहितको पत्र नआइसकेकोले अहिले भन्न सकिने अवस्था नभएको बताएको छ । प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले अर्थमन्त्रालयबाट पत्र नआइसकेकोले के गर्ने कसरी अगाडि बढ्ने भन्ने विषय अहिले निर्णय नभइसकेको बताइन् । यद्यपि, प्राधिकरण भने दुई दिन बन्द नै हुनेछ । प्राधिकरण बन्द भएपनि बीमा कम्पनीहरू पनि सीमित शाखाबाट सेवा दिने गरी सञ्चालन हुन सक्नेछन् ।
नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न
काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ । उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ । सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ । भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ । हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।