सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रवृत्ति बढाउने विश्वास लिएको छ ।
बुटवलमा कर्जा सुरक्षण गोष्ठी सम्पन्न, नयाँ सफ्टवेयरबारे अभिमुखिकरण
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते बुटवलस्थित एक होटलमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामीण लघुवित्त, जनउत्थान लघुवित्त लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन तथा सञ्चालन शाखा कार्यालय बुटवलका प्रमुख बसन्त के.सी.ले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरेकी थिइन् । गोष्ठीमा कोषले सञ्चालन गर्दै आएको कर्जा सुरक्षण कार्यक्रम तथा भावी योजनाबारे कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्यले जानकारी दिएका थिए । त्यस्तै, कोषले नयाँ रूपमा लागू गर्न लागेको कर्जा सुरक्षणसम्बन्धी सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु के.सी.ले प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको समाधान कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले गरेका थिए । कोषले बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद गर्दै कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा बजारको आवश्यकता अनुसार सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले यस आर्थिक वर्षभर देशभर यस्ता गोष्ठी सञ्चालन गर्ने जनाएको छ ।
अर्थमन्त्रीले आफ्नै जिल्लावासीलाई बनाए डेपुटी गभर्नर, को हुन् किरण ?
काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । सरकारले दुइटा डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने भए पनि आजको बैठकले एक जनालाई मात्रै नियुक्त गरेको हो । पण्डित विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् । गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटेर चार जनाको नाममा छलफल गरेका थिए । तर, अर्थमन्त्री वाग्लेले अहिले एउटामात्रै डेपुटी गभर्नरलाई नियुक्त गर्ने बताएपछि मन्त्रिपरिषदलाई सोही किसिमले ब्रिफिङ गरेको बताए । पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन् । उनी राष्ट्र बैंकको प्रवक्तासमेत बनेका थिए । २०६२ मा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डितले कुनै पनि पदमा राजनीतिक दलमा आवद्ध नरहेको देखिएपछि सरकारले उनलाई नै नियुक्त गरेको हो । उनी अर्थमन्त्री वाग्लेको निर्वाचन क्षेत्र तहुँका स्थानीय हुन् । उनी कार्यकारी निर्देशकको सातौ वरियतामा छन् ।