कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।  बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा-नोक्सान बाँडफाँट विवरणलगायत सबै अनुसूचीहरू पारित गरेको छ । त्यसैगरी, आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति गठनसमेत गरिएको छ । संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। कार्यक्रममा सेयरधनीहरूले विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सीईओ थकालीले बैंक निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र प्रतिस्पर्धी बनाउँदै सेयरधनीलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता, विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गरिने

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहकार्य संस्था (जीआईजेड) बीच नेपालका लागि दिगो विद्युतीय यातायात विकास (सेटफरनेपाल) परियोजनाअन्तर्गत सम्झौतामा हस्ताक्षर भएको छ ।  यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (ईएमबीएस) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ । सेटफरनेपाल परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्च्यिूट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो।  यो परियोजना अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्र (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३ हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ ।  आर्थिक सिमाबद्धतालाई ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।  यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ । विगत २४ वर्षदेखिे कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  जीआईजी जर्मनीको एक सरकारी विकास सहयोग संस्था हो। यसको मुख्य उद्देश्य विभिन्न देशहरूमा सतत विकास, सुशासन, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सुधारमा सहयोग पुर्‍याउनु हो । जीआईजीका सबै कार्यक्रमहरू जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन्छन् र यसले नेपालका विकास साझेदारहरूसँग मिलेर दीगो र आत्मनिर्भर विकासलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।  

लाइसेन्स लिएर मात्रै क्यासिनो लगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले क्यासिनो लगायतका संस्थाहरूलाई लाइसेन्स लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको हो ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको लाइसेन्स प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ । क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद-४ मा व्यवस्था गरिएको छ ।  त्यसैले ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले लाइसेन्स लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न तथा गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।  विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।