सिन्धु विकास बैंकको ७ लाख १५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई बिक्रीमा राखेको थियो । तर, कुनै पनि सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा योग्य इच्छुक जो कोही व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।  सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो ।  भाइटीकाका दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँच पास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटीकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।