काठमाडौं । गत पुस ९ गते सुरेश देवकोटाले सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिए । माघ १ गतेदेखि देवकोटाको राजीनामा स्वीकृत हुने गरी बैंकले पुस १८ गते सीईओका लागि आवेदन आह्वान गर्यो । तर पाँच महिना बितिसक्दा पनि बैंकले नयाँ सीईओ नियुक्त गर्न सकेको छैन । पहिलोपटकको प्रयासमा सीईओ नपाएपछि बैंकले गत चैत १६ गते पुनः सीईओका लागि आवेदन आह्वान गरेको छ ।
‘सीईओका लागि आवेदन दिने समय अस्ति सकिएको छ । अहिलेसम्म केही निर्णय आएको छैन । सञ्चालक समितिले निर्णय गर्ने हो । अब एक-दुई दिनभित्र बैंकले सीईओ पाउला,’ बैंक स्रोतले भन्यो ।
सिन्धु विकास बैंकले पाँच महिनासम्म सीईओ नियुक्त गर्न नसक्दा आगामी दिनमा रिक्त हुन लागेका बैंकहरूले भने अहिलेदेखि नै सीईओ चयनबारे छलफल सुरु गरेका छन् । यस वर्ष मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने मिति नजिकिएसँगै सम्बन्धित बैंकका सञ्चालकहरूले आगामी सीईओ कसलाई ल्याउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका छन् । केही दिनअघि नाम उल्लेख नगरिएको (बेनामे) राष्ट्रियस्तरको विकास बैंकमा सीईओ माग गरिएकोले पनि यसलाई पुष्टि गर्छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युन पोखरेलको कार्यकाल जेठ १ गते सकिँदैछ । वि.सं. २०७९ वैशाख २० गते बसेको बैठकले उनलाई जेठ १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
साढे तीन दशक लामो बैंकिङ क्षेत्रको अनुभव संगालेका पोखरेल मुक्तिनाथ विकास बैंकका दोस्रो सीईओ हुन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् । करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरूको जिम्मेवारी वहन गरेका उनले साबिक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) मा सहायक महाप्रबन्धकको भूमिकासमेत निर्वाह गरे । सन् २०१६ मा मुक्तिनाथमा प्रवेश गरेका पोखरेल सन् २०१८ मा पहिलो पटक सीईओ नियुक्त भएका थिए ।
उनको दोस्रो कार्यकाल सकिने मिति नजिकिएपछि बैंक सञ्चालक समितिले सीईओ छनोट समिति गठन गरिसकेको छ । सीईओ छनोट सिफारिस समितिमा सञ्चालक नारायणकुमार श्रेष्ठ, सरोजा श्रेष्ठ र उमेशकुमार आचार्य रहेका छन् । बैंकिङ क्षेत्रका अनुभवी पोखरेलले वित्तीय क्षेत्रमा आफ्नो दीर्घ अनुभव र दूरदर्शी नेतृत्वमार्फत बैंकलाई उच्च उचाइमा पु¥याएका छन् । पोखरेलसँग कर्जा, निक्षेप, रेमिट्यान्स, ट्रेजरी तथा विभिन्न व्यवसायिक र सञ्चालन क्षेत्रहरूमा दक्षता छ ।
लुम्बिनी विकास बैंकका सीईओ नरेशसिंह बोहराको कार्यकाल साउनमा सकिँदैछ । वि.सं. २०७९ असार ३० गते बसेको सञ्चालक समिति बैठकले साउन २ गतेदेखि लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । बोहरासँग बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढी अनुभव छ । उनले आफ्नो बैंकिङ करियर साबिक नेपाल बंगलादेश बैंक (हाल नबिल बैंक) बाट सन् १९९७ मा अधिकृत पदबाट सुरु गरेका थिए । त्यसपछि उनले सन् २००५ देखि २००८ सम्म माछापुच्छ्रे बैंकमा सहायक प्रबन्धक, सन् २००८ देखि २००९ सम्म युनाइटेड फाइनान्स (हाल नबिल बैंक) मा नायब महाप्रबन्धक तथा २००९-२०११ मा महाप्रबन्धकका रूपमा कार्य गरे ।
त्यसैगरी, उनले साबिक नारायणी नेशनल फाइनान्सको सीईओका रूपमा समेत काम गरे । उनले २०११ देखि २०१६ सम्म नारायणीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी साबिक देव विकास बैंकमा २०१६-२०१८ सम्म नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहे । व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका बोहराले विभिन्न वित्तीय संस्थामा काम गर्दै आफ्नो पेशागत दक्षता स्थापित गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको कार्यकाल आगामी भदौ १९ गतेसम्म रहेको छ । वि.सं. २०७९ भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । सांग्रिलामा आउनुअघि श्रेष्ठ तत्कालीन एस डेभलपमेन्ट बैंकका सीईओ थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका श्रेष्ठले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेका हुन् । उनले सन् २००० मा हिमालयन बैंकबाट जुनियर अफिसरका रूपमा आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धकका रूपमा प्रवेश गरेका श्रेष्ठले पछि प्रबन्धक तहसम्मको जिम्मेवारी सम्हाले । त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा वरिष्ठ प्रबन्धकका रूपमा काम गरे । श्रेष्ठले सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकमा सहायक महाप्रबन्धक तथा निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै पछि प्रमुख कार्यकारी अधिकृतको पदसम्म पुगेका थिए ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेलको कार्यकाल २०८३ माघ १ गतेसम्म कायम रहनेछ । वि.सं. २०७९ पुस २९ गते बसेको सञ्चालक समिति बैठकले उनलाई सो पदमा नियुक्त गरेको थियो । व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेलसँग करिब तीन दशक लामो बैंकिङ अनुभव छ । स्थापनाकालदेखि नै बैंकको नेतृत्व सम्हाल्दै आएका पौडेल सूचना प्रविधिमैत्री बैंकिङ, कुशल व्यवस्थापन र युवा नेतृत्व विकासमा जोड दिने नेतृत्वका रूपमा परिचित छन् ।