नारायणी डेभलपमेन्ट बैंकमा संस्थापक सेयरधनी नै लगानी गर्न अनिच्छुक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर संस्थापक सेयरधनी नै खरिद गर्न इच्छुक नरहेको देखिएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ७ गतेसम्म चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । तर, उक्त अवधिमा संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर बिक्री हुन सकेन । जसकारण संस्थापक समूहतर्फका सेयरधनी नै बैंकमा थप लगानी गर्न अनिच्छुक देखिएका हुन् । बैंकले अवितरित कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको छ । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि मंसिर २५ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्श नगर वीरगन्ज, हेटौंडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

पर्यटन क्षेत्रमा डिजिटल क्रान्ति : एनएमबि बैंकको स्मार्टफोन पीओएस सेवा सुरु

काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ । अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस मेसिनबिना नै आफ्नै एनएफसी( इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फत कार्ड पेमेन्ट स्वीकार गर्न सक्नेछन् ।  नयाँ ‘सफ्ट पी‌ओएस’ प्रविधिले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सदेखि पर्यटनसम्बन्धी अन्य सेवाहरूमा द्रुत, सुरक्षित र झन्झटमुक्त भुक्तानी प्रणाली उपलब्ध गराउने बैंकले जनाएको छ । पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रका होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत सरोकारवालाहरूको प्रमुख प्रतिनिधि संस्था हो । यस सहकार्यले पाटाका सदस्यहरूलाई प्रविधिमैत्री बनाउने, डिजिटल कारोबार बढाउने र ग्राहक–पर्यटकलाई अझ सहज अनुभव दिने लक्ष्य लिएको छ । यसले भुक्तानी प्रक्रिया छिटो र सुरक्षित बनाउने, पर्यटकलाई झन्झटबिनाको डिजिटल पेमेन्ट सुविधा दिने, सम्पूर्ण क्षेत्रमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने जनाइएको छ । एनएमबि बैंकका अनुसार सफ्ट पीओएस प्रविधिको विस्तारले देशभर डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँच र पर्यटन क्षेत्रको आधुनिकिकरणमा महत्त्वपूर्ण टेवा पुग्नेछ । हाल एनएमबि बैंकले २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

सिटिजन्स बैंकको ‘डीजीबैंक’ डिजिटल प्लेटफर्म सुरु, ५० वटा सेवा एउटै च्यानलमा

काठमाडौं । सिटिजन्स बैंकले  डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत र सहज बनाउन 'सिटिजन्स डीजीबैंक' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको  छ । बैंकका अनुसार यस प्लेटफर्मको मुख्य उद्देश्य छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी ग्राहकलाई वेब र मोबाइल मार्फत छिटो र सरल पहुँच उपलब्ध गराउनु हो । यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । पहिलो चरणमा, प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु उपलब्ध छन् । यसमा अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै डिम्याट, मोबाइल बैंकिङ र कार्ड सम्बन्धी सेवा समावेश छन् । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकलाई नवीनतम सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । भविष्यमा थप सेवाहरू समावेश गरी यस प्लेटफर्मलाई अझ सशक्त बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । यसअघि बैंकले नवयुवालाई लक्षित गर्दै 'सिटिजन्स जेनजी सेभिङ अकाउन्ट' पनि सञ्चालनमा ल्याएको थियो ।