आरएमडीसीद्धारा मोरङ्गमा तीन दिने शाखा व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६ जना शाखा प्रबन्धकहरुले भाग लिएका थिए। तालिमको उद्घाटन तालिमका संयोजक गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए । साथै, यस तालिमले ज्ञान अभिवृद्धी गरी शाखाप्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले बताए । उक्त तालिममा जीबन विकाश समाजका डेपुटी चिफ एक्स्क्युटिभ अफिसर संजयकुमार मण्डल, इन्टरनल अडिट डिपार्टमेन्ट हेड रोहित भण्डारी र ट्रेनिङ डिर्पाटमेन्ट हेड सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण, असुलीका विभिन्न उपाय तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपना बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो । साथै तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमनतथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा विकास लगायतकर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिता बारे विश्लेषणत्मक अन्तर्क्रिया भएको थियो ।
दाङ्गको जँग्रहवामा एनआईसी एशियाको थप शाखा
काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जँग्रहवाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । हाल बैंकले २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । सक्षम युकेएडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।
भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित, भारतीय ‘अण्डा’मा निगरानी
चितवन । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ । कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताउनुभयो । यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलले बताए । केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन आग्रह गरेको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको छ । देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई आग्रह गरिएको उनले बताए । प्रतिक्रेट ३६५ सम्म पुगेको अण्डाको फार्म मूल्य घटेर हाल २७० मा कारोवार भइरहेको पोखरेलले बताए । दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य ३६५ रहेको थियो । उनका अनुसार देशभरमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । जसमध्ये आधा चितवनमा उत्पादन हुँदै आएको छ । देशभरिका दुई हजार १०० खोरमा कुखुरा पालिँदै आएको छ । एक लाख ७० हजारभन्दा बढी मजदूर लेयर्स कुखुरापालनमा कार्यरत रहेका छन् । सङ्घका केन्द्रीय अध्यक्ष कँडेलका अनुसार नयाँ प्रविधिसँगै थपिएको लगानीका कारण कुखुराजन्य क्षेत्रमा एक अर्ब लगानी पुगेको छ । जसको आधा लगानी अण्डा पार्ने कुखुरामा रहेको छ । रासस