पर्यटकलाई तस्बीर लिन समस्या परेपछि सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए । नगरप्रमुख प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरूवात गरेका हुन् । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पुर्याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो । नगरप्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस् भनेर सवारी प्रवेशमा रोक लगाएको बताए । सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो । पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताए । नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन । यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो । स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलम समेत सवारी प्रवेश रोक लगाउन सकिने उनको भनाइ छ । रासस

होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु, कस्ता होटल कुन वर्गमा ?

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो । कार्यालयले पहिलो चरणमा दमौलीमा सञ्चालित पाँच होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसेको कार्यालय प्रमुख शिवजी बरालले जानकारी दिए । उनका अनुसार होटल पञ्चम र सासा इनमा उत्तम तथा टीका तास घर, मुनलाइट रेष्टुरेन्ट एण्ड विन्स क्याफे र हरि मिष्ठान्न भण्डारमा सन्तोषजनक लोगोसहितका स्टिकर टाँसिएको हो । प्रमुख बरालले भने, “अनुगमन र मूल्याङ्कनलाई आधार मानेर स्टिकर टाँसिएको हो, अन्य होटलमा समेत विस्तारै स्टिकर टाँसिने छ ।” उनका अनुसार होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलगायतलाई मूल्याङ्कनको आधार बनाइनेछ । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ । अति उत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।

अनलाइन फुड फेस्टिभल शुरु, अब १ रुपैयाँमा घरमै आइपुग्छ खाना !

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव माघ १ देखि १० गतेसम्म संचालन हुनेछ । फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेन छन् । यस अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एपमा मात्र संचालन गरिएको छ । फुडमाण्डूको एपमा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, १ रुपैयाँमा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले २५ सय रुपैयाँ भन्दा माथिको अर्डरमा १८० एमएलको भोड्का(रुस्लान) पनि निःशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।