‘पिग पार्क’ सञ्चालनमा आउँदै, पाँच करोड बजेट बिनियोजन, बङ्गुरको परनिर्भरता हट्ने विश्वास
काठमाडौँ । मुलुकलाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कास्कीमा स्थापना गरिएको ‘पिग पार्क’ आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । आज आयोजित साक्षात्कार कार्यक्रममा कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनालले उक्त पार्क सञ्चालनमा आएसँगै वार्षिक १२ हजार बङ्गुर उत्पादन हुने जानकारी दिए । मन्त्रालयले उक्त पार्क सञ्चालनका लागि पाँच करोड विनियोजन गरेको छ । उक्त पार्क दुईवर्ष अघिदेखि निर्माण शुरु गरिएको थियो । पार्क सञ्चालनका लागि प्रदेश सरकारलाई जिम्मा लगाइए पनि प्रदेश सरकारले पार्क सञ्चालन गर्न नसक्ने जनाउ दिएसँगै मन्त्रालयले निर्माणको कामलाई तीव्रता दिएको उनले बताए । नेपाल अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भइसकेको जिकिर गर्दै उनले आगामी तीन वर्षभित्र दूध, माछा र बङ्गुरको मासु परनिर्भरता हट्ने बताए । सरकारले आगामी पाँच वर्षभित्र कृषिजन्य उत्पादन दोब्बर बनाउने गरी योजना निर्माण गरेका जानकारी दिँदै उहाँले अबको केही समयभित्रै हरिया तरकारी र फलफूलमा नेपालको परनिर्भरता हट्ने बताए । मन्त्री खनालले सरकारले कृषकलाई उपलब्ध गराउने अनुदानलाई व्यवस्थित बनाउन कार्यदल निर्माण गरिएको जानकारी दिँदै भने, “अनुदानलाई व्यवस्थित बनाउनुपर्ने आश्वयकता छ, वास्तविक किसानसमक्ष अनुदान पु¥याउने विधिको खोजीमा छौँ । अनुदान वितरणको प्रक्रियालाई पुनरावलोकन गर्दै केही क्षेत्रमा अनुदान वृद्धि गर्ने सरकारको तयारी छ ।” सरकारले प्राङ्गारिक र आधुनिक कृषि प्रणालीलाई जोड दिएको जानकारी दिँदै मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङ्गारिक खेती प्रणाली अवलम्बन गरिने बताए । उदयपुरको बेलका नगरपालिकामा स्थानीय, प्रदेश र सङ्घको समन्वयमा सात हजार बिघा जमीनमा एकीकृत आधुनिक खेती गरिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले सो परियोजना नेपालको नमूना आधुनिक खेती प्रणाली हुने जिकिर गरे । कृषि मन्त्रालयले आधुनिक कृषि कार्यक्रमका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । बजेट र कर्मचारीको अभावमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जटिलता देखिएको बताउँदै उनले कृषिजन्य उत्पादनको ब्लक र पकेट क्षेत्र स्थानीय तहलाई हस्तान्तरण गरिने सरकारको तयारी रहेको जानकारी दिनुभयो । त्यस्तै कृषि जोन सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिइने उनले बताए । सुपरजोन कार्यक्रम सङ्घीय सरकारले नै सञ्चालन गर्ने उनको भनाइ छ । सरकारले अहिले कृषिजन्य उत्पानदन वृद्धि गर्न १४ सुपरजोन, ६९ जोन, सयौँका सङ्ख्यामा ब्लक र हजारौँको सङ्ख्यामा पकेट क्षेत्र सञ्चालन गर्दै आएको छ । रासस
नेपाल चेम्बर र इन्डो-लेटिन अमेरिकन चेम्बरबीच समझदारी
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इन्डो-लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चेम्बर भवन कान्तिपथमा सम्पन्न एक कार्यक्रमका बीच भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राज कुमार शर्माले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले लेटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक संघ–संस्थाहरुसंग बलियो सम्बन्ध भएको इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्ससंगको सम्बन्धबाट नेपाल चेम्बर अफ कमर्सको सम्बन्ध सिधै लेटिन अमेरिका सम्म पुग्ने बिश्वास व्यक्त गरे । इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार शर्माले उक्त समझदारी पत्रबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र सांस्कृतिक रुपमा समेत जोडिएर लेटिन अमेरिकी मुलुकमा नेपालको संस्कृतिको समेत प्रबद्र्धन हुने कुरा उल्लेख गरे । हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ६७ वटा बिभिन्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु कमलेश अग्रवाल, महेन्द्रमान श्रेष्ठ र नरेश श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।
अबदेखि पेट्रोलको भुक्तानी ‘आइएमई पे’ बाट, पेट्रोलियम डिलर एसोसिएसनसँग संझौता
काठमाडौँ । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध रही साविकको गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ । मंगलवार पोखरामा आयोजित विशेष कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे । कार्यक्रमपछि संक्षिप्त मन्तब्य दिँदै पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राही लाभान्वित हुने प्रतिक्रिया दिए । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको उनको प्रतिक्रिया छ । सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुने बताइएको छ ।