९ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन, दैनिक ३ हजार टन सिमेन्ट उत्पादन

हेटौँडा । हेटौँडामा ९ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिङ्करलगायतका कच्चा पदार्थ खरीद गरी ओपिसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताए । ठूलो लगानीमा सञ्चालन भएको सो उद्योगमा उद्योगको उत्पादन बढाउनका लागि भीमफेदी गाउँपालिकाबाट चुनढुङ्गा उत्खनन शुरु गरेको बताइएको छ । हेटौँडामा हाल यो उद्योगलगायत तीन वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको छ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग र निजी क्षेत्रबाट सञ्चालित शिवम् सिमेन्ट उद्योगको उत्पादन बिक्री वितरणमा रहेका छन् । हेटौँडा सिमेन्टले दैनिक ७५० टन सिमेन्ट उत्पादन गरिरहेको छ भने शिवम् सिमेन्ट आफ्नो उत्पादनको बिक्री वितरणमा लागेको बताएको छ । हाल सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा बढेको छ । रासस

ग्यास उद्योगी र बिक्रेता आन्दोलनमा, बजारमा अभावः सरकार भन्छ-अत्यावश्यक वस्तुमा हड्ताल नगर

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले कमिशन बृद्धिको माग सहित बिक्री बन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको छ । उद्योगी र बिक्रेताले आन्दोलनको घोषणा गरेपछि सरकारले भने अत्यावश्यक बस्तुमा हड्ताल नगर्न भनेको छ । ग्यास उपभोक्ताहरुले ग्यास उद्योगीहरुले अन्दोलको घोषणा गरेपछि ग्यास अभाव हुने डरले उपभोक्ताहरुले घरमा जगेडा ग्यास लगेको कलंकीको ग्यास विक्रेता बताउँछन् । पोखरेली ग्यास सप्लार्यसका सञ्चालक बसन्तराज पोखरेले भने–ग्यास उपभोग गर्ने उपभोक्ताहरुले हलाको पछि लागेर नयाँ ग्यास किनीरहेका छन् । ग्यास सटेज हुने हल्लाले नयाँ नयाँ उपभोक्ताहरु पनि ग्यास किन आएको पोखरेले बताए । नेपाल एल पि ग्यास संघका अध्यक्ष गोकुल भण्डारीले भने– ‘हामीले उद्योगका लागि ५ प्रतिशत र विक्रेताहरुले ६ प्रतिशत कमिशन वृद्धिको माग गरेर अन्दोलनमा उत्रेको हो ।’ उद्योगहरुको सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी र बीमा खर्च लगाएतका कुरा उठाएर शुक्रवार देखी अन्दोलन हुने भण्डारीले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जनतालाई थप मारमा पारेर उद्योगीलाई राहत प्रदान नगरिने बताए । ग्यास उद्योगीहरुले पहिले देखी नै कमिशन बृद्धिको माग गरिरहेका छन् । ग्यास उद्योगीहरुले ग्यासमा मुनाफा छैन भनिरहेका छन् । तर, ग्यास उद्योगमा मुनाफा नभएको भए किन नयाँ ग्यास उद्योगका लागि आवेदन दिरहेका छन् त ? ग्यास उद्योग संघले माग पूरा नभए फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको थियो । बिक्रेता महासंघले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ । उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ । दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुने उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी महासंघ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ–कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।