महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण प्रणाली भूमिगत हुने, गुमेको सौन्दर्य फर्काइदै

काठमाडौँ । अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । विद्युतका पोलको कारण शहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो । संसारका कुनै पनि विकसित देशका शहरमा खुलारुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । विद्युतीय दुर्घटनाको जोखिम बढेकाले विद्युतीय तार भूमिगत गर्न लागिएको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ गत फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो । सोही छनोटका आधारमा प्राधिकरणले केही दिन पहिले सो कम्पनीसँग सम्झौता गरेको हो । प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतको तारलाई भूमिगत गर्ने तयारी गरेको छ । प्राधिकरणले निर्माण व्यवसायीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार केही दिन पहिले निर्माण व्यवसायीसँग सम्झौता गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करीब तीन अर्ब ५७ करोड ५१ लाख (कर बाहेक) ठेक्का सम्झौता भएको हो । यस्तै कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब तीन अर्ब १२ करोड १५ लाख (कर बाहेक) सम्झौता गरिएको छ । मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज)का आयोजना प्रमुख अधिकारीले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता भएको जानकारी दिँदै सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम शुरु गर्ने लक्ष्य तय गरेको जानकारी दिनुभयो । कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोङ्गबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ । दोस्रो चरणमा काठमाडौँका अन्य क्षेत्र तथा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण रहेको छ । सडकखन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ । रासस

“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार

काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ ।  फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ । इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् । कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् । जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए । त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ । साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् । साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।

‘खल्ती डिजिटल वालेट’ले शुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्ने छन् । डिजिटल प्रणालीमा आधारित यस टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै उक्त कार्यक्रमका दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमहरुको टिकट अब खल्तीको उक्त सिस्टममा उपलब्ध हुने जनाइएको छ । अनलाईन टिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।’ साथै, उक्त कार्यक्रमका दर्शकहरुले पनि अन्लाईन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । टिकट किनिसकेपछि प्रयोगकर्ताले हरेक टिकटको लागि एउटा क्यु–आर कोड प्राप्त गर्नेछन् जुन ‘पिडिएफ’ को फम्र्याटमा डाउनलोड गर्न पनि सकिन्छ ।