सौर्य एयरलाइन्सले तिर्यो १ करोड बक्यौता, दुई महिनाभित्र बाँकी ३ करोड तिर्ने
काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको ५० लाख बक्यौता तिरेको थियो । दुई महिनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको उनले उल्लेख गरे । सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । उसले आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । उक्त एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ । रासस
चर्को ब्याजदर तत्काल हटाउनु पर्ने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको माग
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनु पर्ने माग गरेको छ ।महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भने । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सातै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करीडोरको स्थापना गर्दै चीनसँग जोडिएका तातोपानीलगायत सबै नाका यथाशीघ्र सञ्चालनका लागि पहल गर्नुपर्ने माग गर्दछौँ ।” नेपाल भारत खुला सिमाना रहेका कारण दिनप्रतिदिन चोरीपैठारी बढ्दै गइरहेको हुँदा त्यसलाई रोक्न तत्काल सम्बन्धित निकायले पहल गर्नुपर्ने अध्यक्ष कटुवालको भनाइ छ ।
नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह
वार्सा । नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले सो खर्च बढाउनु आवश्यक रहेको बताएका हुन् । वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै महासचिव स्टोल्टनबर्गले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताए । युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको प्रतिस्थापन गर्ने भने होइन बरु अरु थप सहयोगको मात्रा बढाउनु पर्ने जनाए । उनले हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउदै कमी भएको खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनु पर्नेमा जोड दिए । पछिल्लो समय ती देशले नेटोको संरचना निर्माण, आधारभूत अन्य आवश्यकता पूरा गर्ने काममा लिएको अग्रसरताप्रति भने महासचिव स्टोल्टनबर्गले प्रसंशा गरे। रक्षा खर्चको कोष निर्माणका लागि पनि युरोपका देशले राम्रो अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुराउने बताए । उक्त सम्मेलनमा रक्षासम्बन्धी सत्रमा उनले सम्बोधन गरेका थिए। महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी रहेका थिए । रासस/सिन्ह्वा