डडेलधुरामा माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा, संख्या १०० पुग्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
हेलो नेपालले ४ अर्ब ३१ करोड कर तिर्नुपर्ने, राजस्व कार्यालयले गर्यो पत्राचार
काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष ०६८/६९ मा कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दा प्राप्त लाभमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागले जनाएको छ । कम्पनीले सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न अटेर गरेको भन्दै विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय, बानेश्वरले पत्राचार गरेको छ । कम्पनीले आव ०६८/६९ मा ५ अर्ब ७१ करोड रुपैयाँको स्वामित्व बिक्री गरेको थियो । बिक्री गर्दा कम्पनीलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ भएको कार्यालयले जनाएको छ । आयकर ऐन, २०५८ अनुसार बिक्री गर्दा लाभको २५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्नुपर्नेमा अहिलेसम्म पनि नतिरेको कार्यालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
डाबर नेपालले ल्यायो ‘रियल मिक्स्ड फ्रुट मसला’, चटपटा र स्पाइसी मसलाको स्वाद पाइने
काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा ल्याएको हो । कम्पनीका अनुुसार यो रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको जुस हो । जसले मसला स्वादको मज्जा दिने कम्पनीले जनाएको छ । रियल मिक्स्ड फ्रुट मसला टेट्रा प्याकमा उपलब्ध छ । साथै, यसको बजार मूल्य १ लिटरको २०० रुपैयाँ र २०० मिलिको २५ रुपैयाँ कायम गरिएको छ ।