महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १०० वटा गाडीको सर्भिसिङ्ग
ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट उक्त क्याम्प सम्पन्न गरेको हो । साथै, “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालित थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग १०० वटा जति गाडीहरुको सर्भिसिङ्ग गरिएको थियो । दक्ष प्राविधिकहरुद्वारा परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।
यार्सा सङ्कलनकर्ताबाट ९० लाख शुल्क उठ्यो, सङ्कलित रकम विकास निर्माणमा खर्च गरिने
रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ ले मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलन गर्न जाने संकलनकर्ताबाट ९० लाख रुपैयाँ शुल्क उठाएको छ । रकम सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि दुई हजार ५०० रुपैयाँका दरले प्रवेश शुल्क तोकिएको थियो । उक्त स्थानमा जाने सङ्कलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत ९० लाख रुपैयाँ प्रवेश शुल्क उठाएको हो । मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको छ । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका चार हजार सङ्कलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो । यो वर्ष सङ्कलनकर्ताबाट ९० लाख रुपैयाँ स्थानीय राजश्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिएका छन् । सूचना अधिकारी शाहीका अनुसार अघिल्लो वर्ष सुरक्षा व्यवस्थापनलगायत अन्य विषयमा कमजोरी हुँदा ६२ लाख रुपैयाँ रकम गाउँपालिकाले उठाएको थियो । जेठ १८ गतेबाट पनि यार्सा सङ्कलन गर्नका लागि सङ्कलनकर्तालाई पाटन क्षेत्र खुला गरिएको थियो । योभन्दा पछि जाने सङ्कलनकर्ताबाट समेत तोकिएको रकम उठाउने निर्णय भएकाले पाँच लाख रुपैयादेखि देखि १० लाख सम्म रकम उठ्न सक्ने भएकाले रकम एक करोडसम्म पुग्ने अनुमान रहेको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताएका छन्। उक्त प्रवेश शुल्कबापत उठेको ९० लाख रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरी २५ प्रतिशत व्यवस्थापन, ३५ प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको विकास निर्माणमा खर्च गरिने निर्णय समेत गाउँपालिकाले गरेको छ । रासस
एकदिनमै १५०० ले बढ्यो सुनको मूल्य
काठमाडौं । शुक्रबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार सात सयका कारोबार भएको प्रतितोला सुन शुक्रबार बढेर ६० हजार सात सय रुपैयाँ पुगेको हो । सरकारले आर्थिक विधेयक-२०७६ मार्फत भन्सार मूल्य बढाएको, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाका कारण त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी करेन्सीको दर बढेर एक सय १२ रुपैयाँ पुगेको छ । यसले पनि सुनको मूल्य बढाउन सघाएको उनले बताए । ‘साथै आगामी जुन १० देखि मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा थप पाँच प्रतिशत भन्सार महसुल बढ्ने निर्णय भएको छ । यसको असर अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको छ,’ उनले भने ‘५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अब ६१ हजारमा जाने सम्भावना बढेको छ ।’ सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार प्रतितोला सुनमा नौ सय ६२ रुपैयाँले भन्सार महसुल बढाएर पाँच हजार आठ सय ३२ रुपैयाँ पुर्याएको छ । यस अघि प्रतितोला सुनमा चार हजार नौ सय भन्सार महसुल लाग्दै आएको थियो । ‘प्रतिदश १० ग्राम सुनमा आठ सय रुपैयाँले भन्सार महसुल बढेको छ,’ उनले भने ‘हामीले १० ग्राम सुनमा एक हजार रुपैयाँ बढाउन र नेपालबाट भारतमा अवैधानिक तवरबाट जाने सुनको ब्यालमार्केट रोक्न भन्सार महसुल बढाउन सुझाव दिएको थियौ । ’ विदेशबाट नेपाल फर्कदा विना महसुल ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था छ भने त्यसपछिको ५० ग्राम ६ हजार दुई सय भन्सार महसुल तिर्नुपर्छ । अझ बढी सुन ल्याएमा अर्थात त्यसपछि ५० ग्राम सात हजार दुई सय भन्सार महसुल तिर्नु पर्ने नयाँ व्यवस्था सरकारले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुनको मूल्य १४ डलर डलरले बढेर शुक्रबार एक हजार दुई सय ९२ डलरमा कारोबार भएको छ । यो मूल्य बढेर एक हजार तीन सयसम्म पुग्ने अनुमान पूर्व अध्यक्ष शाक्यले बताए । नेपालमा वार्षिक साढे सात सय किलो सुन खपत हुने गरेको छ । २०५५ सालमा एक हजार पाँच सय किलो सुन खपत हुने गरेमा सरकारले नियन्त्रकारी नीति लिएपछि वार्षिक कारोबार ६ सय किलोसम्म झरेको शाक्यले बताए । हाल दैनिक नेपाली बजारमा ३० देखि ३५ किलो सुन खपत हुने गरेको छ । संसारका चर्चित सुन बजारमध्ये चीन र भारतमा सबैभन्दा बढी सुन खपत हुने गरेको छ । भारतमा वार्षिक १२ सय टन सुनको कारोबार हुन्छ । वैधानिक च्यानलमा चार सय भित्र्याउने व्यवस्था सरकारले मिलाएको छ ।