रामपुर नगरपालिकामा महिलाहरुद्वारा ‘डेरी फार्म’ सञ्चालन

काठमाडाैं । रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका हुन् । डेरी सञ्चालन गरी घरबाटै दूध सङ्कलन गरी बजारमा बिक्री गरिदै आएको छ । यहाँ सङ्कलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ । सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताइन् । दूध नबिक्ने समस्याले महिलालाई पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरु गरेको उनको भनाइ थियो । “सहकारीमा आबद्ध सदस्यको घरबाट दूध सङ्कलन गरेका छौँ, सहकारी बाहेकका कृषकले उत्पादन गरेका दूध खरिद गरेर बिक्री गर्ने योजना छ”, उनले भनिन् । स्थानीय बजारमा दूध कम खपत हुँदा बिक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए । अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरिद–बिक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताउँछिन् । “पहिला दूध बिकाउनै समस्या थियो बजार नजिक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ”, उनले भनिन् । उनको घरमा पाँच वटा उन्नत जातका भैँसी छन् । दैनिक २० लिटर दूध बिक्री गरी मासिक रु ८० हजारसम्म कमाई हुने गरेको ओस्तीले बताउँदै भनिन्। दूध बिक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ । त्यसैगरी, सोही ठाउँकै अनिता भण्डारीले पनि दूध बिक्रीबाट राम्रो कमाई गरेकी छिन् । दैनिक १५ लिटर दूध बिक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताइन्। महिलाहरुले उत्पादन गरेको दूध बिक्री गर्न सहज होस् भनेर दुई लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले जनाएको छ । सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । दूध बिक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । डेरीबाट दुई जना स्थानीयवासीलाई रोजगार मिलेको छ । दूध र पानीको मात्रा मापनका लागि सहकारीलाई ‘मिल्क एनालाइजर मेशिन’ प्राप्त भएको छ । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको सहयोगमा रु पाँच लाख ३० हजार मूल्यको मेशिन सहयोग मिलेको सहकारीले जनाएको छ । विसं २०६९ मा स्थापना भएको यस सहकारीमा ३५० जना शेयर सदस्य रहेका छन् । सहकारीले महिलाहरुलाई आर्थिक क्षेत्रमा बलियो बनाउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सहकारीको माध्यमबाट गाउँका महिलाहरुको आर्थिक स्तर उकासिँदै गएको पाइएको छ । सहकारीबाट ऋण झिकेर कृषि तथा पशुपालन क्षेत्रमा लगानी लगेर आम्दानी गर्न सफल भएका छन् । रासस

इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडर नेपालमा, किन्नेलाई थाइल्याण्ड भ्रमण

काठमाडौं । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडरको आधिकारिक बिक्रेता द हबी अटो ट्रेडिङ प्रालिले व्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त उपकरण सार्वजनिक गरेको हो । टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रिय स्तरको यो व्याकहो लोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगी रहेको कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले बताए । व्याकहो लोडरमा इस्कर्ट ई ४.३६८ टि सी आई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान गरिएको छ । जसको तौल ८४०० केजी रहेको छ । करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेशिनको लोडर डम्पिङ हाइट ३ मीटर र पे लोड १९८० केजी रहेकोे छ । यो मेशिनले ४.८ मिटर गहिराइसम्म खन्न सक्छ । न्यून इन्धन खपत गर्ने यस मेशिन सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायत पूर्वाधार निर्माणमा एक्सट्रीम व्याकहो लोडरले महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ । विगत २२ वर्षदेखि ट्रयाक्टर लगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रेडिङ नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेता समेत रहेको छ । साथै कम्पनीले २ वर्षदेखि चिनियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । एक्सट्रीम व्याकहो लोडर खरिदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा, नेपाल अधिराज्य भर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालयहरूबाट प्रदान गर्नेे कम्पनीका प्रवन्ध निर्देशक मानन्धरले जानकारी दिए । साथै बिक्रीको सुरुवातसँगै कम्पनीले प्रत्येक एक्सट्रीम व्याकहो लोडर खरिदमा एकजनालाई थाइल्याण्ड भ्रमणको स्कीम समेत सार्वजनिक गरेको छ ।

टिकुलीगढका तीन सय ४३ कृषकले पाए प्रदेश सरकारको प्रोत्साहन

काठमाडौं । तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएको प्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ । उक्त दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी गराएका हुन् । शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।