बाजुरामा चार महिनामै स्याउ फल्न थाल्दा किसान भए हर्षित

काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिएको कट्टेलको भनाइ थियो । प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ । यसरी, कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महिनामै फलेपछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ थियो । रासस

टीकापुरका दुई युवा ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन गर्दै

काठमाडौं । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन शुरु गरेको हो । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आइरहेको टीकापुरमा बेर्ना उत्पादन शुरु भएपछि अझ केरा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको छ । आठ वर्ष पहिले केराखेती शुरु गरेका कृषकद्वयले गतवर्षदेखि टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन थालेका हुन् । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबिसी बायो टेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधिसम्बन्धी उनीहरुले तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेको कृषक धामीले बताए । “गुजरातको एबीसी कम्पनीमा गएर गत वर्ष तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेका हौँ”, धामीले भने, ‘‘ग्रिनहाउस (हरितगृह) निर्माण, ‘हाइटेक’ नर्सरी निर्माण, बोटको उपचार पद्दतिका बारेमा हामीले तालिम लिएपछि सजिलो भएको छ ।” ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ । नर्सरीबाट टिस्यु कल्चर प्रविधिमा जि नाइन र विलेयम जातका केराको बेर्ना, सुन कागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन् । “ल्याबबाट तन्तु प्रजनन् गरेर बिरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित तीन लाख केराका बेर्ना यस वर्ष बिक्री गरेका छौँ”, कृषक कोइरालाले भने, “अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नाहरुमा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ ।” कोइरालाले गत वर्ष ७० हजार बेर्ना बिक्री गरेको जानकारी दिए । कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरुले टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन थालेको कोइराला बताउँछन् । “टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहेँलो हुँदै जाने, गुभो कुहिने र बोट सुक्दै जाने जस्ता समस्या हुँदैनन्”, कोइराला भन्छन्, “रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।” नर्सरीले उत्पादन गरिरहेका विलयम र जि नाइन जातका केरा कम समय र कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउँछन् । “टिस्यु कल्चर विरुवाबाट कम समय र कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौँ”, साहले भने, “सकर विरुवाबाट पनि नहुने होइन, तर कृषकहरु पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन् ।” आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्र्तगतका कृषि एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले कृषकहरुका लागि चाहिने बीउ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि समेत कृषकहरु केराखेतीतर्फ आकर्षित हुँदै आएका छन । टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोषबाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनीयरहरुले बिरुवाहरु उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा रसायनहरुको प्रयोग गर्दै हुर्काउँदै सानासाना कोषहरुमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिन्छ । बिरुवाको कोषलाई हुर्काउन ल्याबमै छ महिनासम्म समय लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै तीन महिनासम्म बिरुवालाई हुर्काइन्छ । तीन महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो त्यही ठाउँमा ग्रिनहाउस निर्माण गरेर राखिन्छ । झण्डै तीन महिना ग्रिनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ कुलप्रसाद तिवारी भन्छन्, “टिस्युकल्चर बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ, अत्याधुनिक बायोटेक ल्याबभित्र रसायनहरूको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ ।” यसरी, नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने बताए । कृषि विज्ञ तिवारीका अनुसार नेपालमा टिस्यु कल्चर प्रविधिको ल्याब छैन । भारत लगायतका अन्य देशबाट टिस्यु कल्चर गरेर ल्याइएको बिरुवा केही महँगो पर्न जान्छ । नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके बिरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताएका छन् । हाल नेपालमा टिस्यु कल्चर प्रविधिका बिरुवाहरु विशेषगरी भारतबाट आउने गरेका छन् । कैलाली जिल्लामा ७३० हेक्टर जमिनमा केरा खेती गरिएको छ र वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुन्छ । रासस

चिट्ठासहित भारतीय पक्राउ

काठमाडौं । चिट्ठासहित एक भारतीय नागरिक शुक्रबार भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ । पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । रासस