३ सय विद्युतीय बसका खरिद गर्न सरकारले साझालाई दियो ३ अर्ब

काठमाडौं । विद्युतीय बस खरिद गर्न सरकारले साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको छ । विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको भौगोलिक अवस्था तथा देशको अर्थतन्त्रलाई ध्यानमा राखि असोजको अन्त्यसम्म विद्युतिय बस खरिद गरि संचालन गर्ने बताए । उनले भने ‘सरकारले केहि गरेन भन्दा नि अब गर्दै जाने छ त्यसैले आम जनताहरु विश्वस्त भई ढुक्क हुँदा हुन्छ, अब सरकारले विद्युतियसँगै आगामी दिनमा रेल पनि भित्राउने तयारीमा रहेको छ ।’ पछिल्लो समय देशको स्थिति र आर्थिक उन्नतिका लागि सरकारी निकाय दिनप्रति खटिरहेसँगै आगामी विकासका लागि सकारात्मक ढंगले अगाडी बढ्न पर्ने मन्त्री महासेठले भने । सरकारको ९९ प्रतिशत शेयर रहेको साझा यातायात सहकारी संस्था मार्फत आम जनतालाई सेवासुविधा प्रदान गर्नका लागि सरकारले छनोट गरेको बताउँदै साझा यातायातले नि स्वार्थ ढंगले काम गर्नेछ साझाको सेवाप्रति सरकारी निकायले विश्वस्त रहेको मन्त्री महासेठले बताए । उक्त कार्यक्रममा बोल्दै साझा यातायात सहकारी संस्थाका अध्यक्ष कन्कमणी दिक्षितले परदर्शी हिसाबले नेपालमा फाइदा हुने दिगो खालको विद्युतिय बसको विस्तार गर्ने जसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नुका साथै वातावरण एवंम सर्वसाधारणलाई सहज हुने जानकारी दिए । असोजको अन्त्य तथा कार्तिकको शुरुवातमा ल्याउने भनेको विद्युतिय बस ठाँउ अनुसार फरक रह्ने छ, जसमा असक्त, जेष्ठनागरिक, बालबालिका तथा महिला पुरुषका लागि फरक एवंम सहज वस ल्याउने  मन्त्रालयले जनाएकाे छ ।

पञ्चकन्याको उत्पादन ‘‘डेकिङ्ग सिट’’ बजारमा

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग”सिट नेपाली बजारमा बिक्री वितरण थालेको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायति रहेको उनको भनाई छ । तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटर प्रुफ समेत रहेको यसको प्रमुख विशेषता रहेको कम्पनीको भनाई छ । कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्ने भएकोले भवनलाई भार कम पर्ने कम्पनीको दावी छ । साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध रहेको कम्पनीको भनाई छ ।

२५ घरबास सञ्चालकले पाए खाद्य स्वच्छतासम्बन्धी तालिम

खलङ्गा । जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालिममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनीहरुको मन लोभ्याउनका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन् । यसरी, जुम्ला पर्यटनको लागि आकर्षणको क्षेत्र भएकाले यहाँको प्राकृतिक वातावरणसँगै उनीहरूको बसाइँ लम्ब्याउन खाना, खाजा र बसोबासको व्यवस्थाबारे ध्यान दिन तालिम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमित भुषण सुमनले जानकारी दिए । जय होमस्टेका सञ्चालक मागे रावतले पर्यटक खानादेखि बाससम्म आकर्षण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । रासस